पश्चिम अफ्रिकाबाट स्पेन छिर्ने आप्रवासीको लर्को, एकैदिन झण्डै १५ सयको उद्धार
Photo: João Rodrigues/ Unsplash
स्पेनको क्यानरी टापुमा शनिबार एकैदिन झण्डै १,५०० आप्रवासी आइपुगेका छन् । समुद्री उद्धार सेवालाई उद्धृत गर्दै समाचार एजेन्सी इएफईले आइतबार जनाएअनुसार यो संख्या सन् २०२० यताकै एकैदिनमा भित्रिएको सबैभन्दा उच्च हो ।
स्पेनी तटरक्षक बलले १४ वटा डुङ्गामा रहेका कुल १,४८८ जनाको उद्धार गरेको इएफईले उल्लेख गरेको छ । गत अक्टोबर महिनायता पश्चिम अफ्रिकी मुलुकहरूबाट स्पेनको यस द्वीपसमूहमा आप्रवासी भित्रिने क्रम तीव्र रूपमा बढिरहेको छ ।
यसअघि सन् २०२० को नोभेम्बर ७ मा क्यानरी टापु नजिकैको समुद्रबाट १,४६१ जनाको उद्धार गरिएको थियो, जुन एकैदिनको सबैभन्दा उच्च रेकर्ड थियो ।
सरकारी तथ्याङ्कअनुसार गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष समग्रमा आप्रवासी आगमनमा कमी आएको छ । जनवरीदेखि अक्टोबर ३१ सम्मको अवधिमा आप्रवासी आगमन गत वर्षको तुलनामा ५.५ प्रतिशतले घटेको देखिन्छ । तर, पछिल्लो महिनादेखि एक्कासी बढेको चापले क्यानरी टापुका विशेषगरी साना र कम जनघनत्व भएका क्षेत्रका स्वागत तथा आपत्कालीन सेवाहरूमा थप दबाब सिर्जना गरेको छ ।
अधिकारीहरूका अनुसार शनिबार उद्धार गरिएको एउटा डुङ्गामा मात्र १२ महिला र ३६ बालबालिकासहित २४० जना सवार थिए । उद्धार गरिएका ती आप्रवासीहरूलाई क्यानरी टापुमध्येको सबैभन्दा सानो टापु ‘एल हिएरो’ लगिएको छ । उद्धार गरिएकामध्ये अधिकांश सेनेगल, गाम्बिया र गिनी कोनाक्रीका नागरिक रहेका छन् ।
शनिबार आइपुगेका १४ डुङ्गामध्ये १२ वटा एल हिएरोमा, एउटा ग्रान क्यानरियामा र अर्को टेनेरिफमा पुगेका थिए । आप्रवासी आगमनमा भएको तीव्र वृद्धिका विषयमा छलफल गर्न स्पेनका क्षेत्रीय नीति मन्त्री एन्जल भिक्टर टोरेसले आइतबार एल हिएरोको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
पश्चिम अफ्रिकाबाट क्यानरी टापुसम्मको एटलान्टिक समुद्री मार्ग विश्वकै सबैभन्दा जोखिमपूर्ण आप्रवासन मार्गमध्ये एक मानिन्छ । तीव्र समुद्री छाल, कडा बहाव र लामो दूरीका बाबजुद प्रत्येक वर्ष हजारौँ आप्रवासीहरू खचाखच भरिएका डुङ्गामा जोखिम मोलेर स्पेन पुग्ने प्रयास गर्छन् । सामान्यतया शरद ऋतुमा समुद्री अवस्था केही शान्त र यात्राका लागि अनुकूल हुने भएकाले यस समयमा आप्रवासी आउने क्रम बढ्ने गर्दछ ।





