२८ कार्तिक २०८३, शनिबार| Saturday, November 14, 2026
अन्तर्राष्ट्रिय

आणविक भण्डारण र इरान तनावबिच अमेरिका, चीन र रुसका राष्ट्रपतिबिच त्रिपक्षीय वार्ताको तयारी

FILE - President Donald Trump shakes hands with China's President Xi Jinping during a meeting on the sidelines of the G-20 summit in Osaka, Japan, June 29, 2019. (AP Photo/Susan Walsh, File)

अमेरिका, चीन र रुसका शीर्ष नेताहरूबिच आगामी बिहीबार चीनको प्रविधि केन्द्र मानिने सहर शेन्जेनमा ऐतिहासिक भेटवार्ता हुने भएको छ । एसिया-प्रशान्त आर्थिक सहयोग शिखर सम्मेलनको अवसर पारेर विश्वका तीन ठूला आणविक शक्ति राष्ट्रका प्रमुखहरू एकै ठाउँमा जुट्न लागेका हुन् ।

ह्वाइट हाउसले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच त्रिपक्षीय वार्ता हुने योजनाको पुष्टि गरेको छ । तीन देशबिचको सम्बन्ध निकै जटिल मोडमा रहेका बेला यो अभूतपूर्व भेटवार्ता हुन लागेको हो ।

विश्लेषकहरूले तीन शक्तिशाली नेताहरूको संयुक्त वार्ता आफैंमा एक दुर्लभ र ऐतिहासिक क्षण भए पनि यसबाट कुनै ठूलो ठोस उपलब्धि हासिल हुने अपेक्षा भने न्यून रहेको बताएका छन् । उनीहरूका अनुसार यो भेटवार्ता ठोस परिणामभन्दा पनि प्रतीकात्मक रूपमा बढी महत्त्वपूर्ण हुनेछ ।

गत वर्षको छोटो व्यापार युद्धमा विराम लागेपछि ट्रम्पले सीसँगको सम्बन्धलाई न्यानो बनाउँदै लगेका छन् । अमेरिका र इरानबिचको युद्ध तथा दुई आर्थिक महाशक्तिबिचका अन्य तनावका बाबजुद ट्रम्प र सीबिच निकटता देखिएको हो । त्यस्तै, युक्रेनसँग रुसको झन्डै पाँच वर्ष लामो युद्ध जारी रहँदा र मस्कोले इरानसँग सैन्य, गुप्तचर तथा कूटनीतिक साझेदारी गहिरो बनाइरहँदा पनि ट्रम्पले पुटिनसँग सम्बन्ध सुधारको प्रयास जारी राखेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले यो भेटवार्ता इरानसँगको युद्ध र तीन देशबिच आणविक हतियार भण्डारणसम्बन्धी त्रिपक्षीय सम्झौता गर्ने आफ्नो लक्ष्यबारे छलफल गर्ने उपयुक्त अवसर हुनेमा जोड दिएका छन् । नाम नबताउने सर्तमा पत्रकारहरूलाई जानकारी दिँदै एक वरिष्ठ अमेरिकी अधिकारीले ट्रम्पले सी र पुटिनसँग इरान युद्धबारे छलफल गर्ने योजना बनाए पनि युक्रेनको विषयलाई भने पन्छाउने बताए ।

गत फेब्रुअरीमा अमेरिका र रुसबिचको अन्तिम आणविक हतियार नियन्त्रण सन्धिको म्याद सकिएपछि आधा शताब्दीभन्दा लामो समयमा पहिलो पटक विश्वका दुई ठूला आणविक भण्डारमाथिको सीमा हटेको छ । उक्त सन्धिको म्याद सकिएपछि रुसले द्विपक्षीय सम्झौतालाई थप एक वर्ष लम्ब्याउन गरेको आग्रहलाई ट्रम्पले अस्वीकार गरेका थिए । उनले चीनलाई समेत समेटेर ‘नयाँ, परिष्कृत र आधुनिक’ सम्झौता गर्नुपर्ने माग राख्दै आएका छन् ।

लेखक रमेश फुल्लेल

रमेश फुल्लेलले खसोखासका लागि समसामयिक विषयमा रिपोर्टिङ गर्छन्। नेपालका अनलाइन सञ्चारमाध्यममा रिपोर्टिङको अनुभव बटुलेका उनले राजनीति, अध्यागमन लगायतका विषयमा समाचार लेख्दै आएका छन्। साथै, उनले स्थानीय जनसरोकारका विषयमा समेत रिपोर्टिङ र विश्लेषण प्रस्तुत गर्दै आएका छन्।

यस लेखकका थप समाचार →