अमेरिकामा समयअगावै फ्लुको प्रकोप तीव्र, तत्काल खोप लगाउन चिकित्सकको आग्रह
Photo: CDC/ Unsplash
अमेरिकामा मौसमी फ्लुको सिजन निकै छिटो सुरु हुनुका साथै यसको संक्रमण तीव्र रूपमा बढ्दै गएको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले शुक्रबार सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार गत साता अमेरिकाका सातवटा राज्यमा फ्लुको उच्च संक्रमण देखिएको छ । अघिल्लो साता जम्मा दुई राज्यमा मात्र यस्तो उच्च संक्रमण देखिएको थियो ।
सीडीसीका अनुसार गत साता अस्पताल तथा चिकित्सकको क्लिनिकमा आएका कुल बिरामीमध्ये ३ प्रतिशतभन्दा बढीमा फ्लुजस्तो लक्षण देखिएको छ । यसले अमेरिकामा फ्लुको सिजन पूर्ण रूपमा सुरु भइसकेको संकेत गर्दछ । हालसम्म लुजियाना राज्यमा यसको प्रभाव सबैभन्दा बढी देखिएको छ ।
न्यु अर्लिन्सस्थित एलएसयू हेल्थ साइन्सेज सेन्टरका संक्रामक रोग विशेषज्ञ डा. फ्रेड लोपेजले फ्लुको संक्रमण तीव्र गतिमा फैलिरहेको र आगामी एक-दुई महिनामा यो अझै बढ्ने निश्चितप्रायः रहेको बताए । यदि तपाईंले अहिलेसम्म खोप लगाउनुभएको छैन भने तुरुन्तै लगाउनुहोस्,उनले भने ।
सीडीसीको अद्यावधिक विवरणअनुसार वर्षको यो समयमा सामान्यतया देखिनेभन्दा यसपटक सुरुवाती चरणमै फ्लुको सक्रियता बढी देखिएको छ । यद्यपि, यसकै आधारमा यो सिजन विगतका वर्षहरूभन्दा खराब हुनेछ भन्न नसकिने सीडीसीले जनाएको छ ।
तर, जोन्स हप्किन्स विश्वविद्यालयकी डा. अन्ना डर्बिनले अक्टोबरको मध्यतिरै फ्लुका कारण अस्पताल भर्ना हुने दर १५ वर्षयताकै उच्च देखिनु राम्रो संकेत नभएको बताइन् । सीडीसीको अनुमानअनुसार यो सिजनमा हालसम्म कम्तीमा २६ लाख मानिस बिरामी परेका छन् भने ३६ हजार जना अस्पताल भर्ना भएका छन् । त्यसैगरी फ्लु संक्रमणका कारण २ हजार १ सय जनाको मृत्यु भइसकेको छ ।
संक्रमणको यो लहर अमेरिकाको दक्षिणी र पश्चिमी क्षेत्रबाट सुरु भएको हो । सीडीसीका अनुसार हाल उच्च संक्रमण देखिएका राज्यहरूमा क्यालिफोर्निया, लुइजियाना, ओरेगन, साउथ क्यारोलाइना, टेनेसी, टेक्सास र वासिङ्टन रहेका छन् ।
डा. लोपेजका अनुसार कम खोप दर, उच्च गरिबी र स्वास्थ्य सेवामा पहुँचको अभावका कारण लुइजियानामा हरेक वर्ष सुरुवाती चरणमै फ्लुको प्रकोप देखिने गरेको छ ।
यसै महिनाको अन्त्यतिर पर्ने ‘थ्याङ्क्सगिभिङ’ बिदामा मानिसहरूको यात्रा र जमघट बढ्ने भएकाले फ्लु तथा अन्य श्वासप्रश्वाससम्बन्धी भाइरसहरू अझ तीव्र गतिमा फैलिन सक्ने चिकित्सकहरूले चेतावनी दिएका छन् । फ्लोरिडा विश्वविद्यालयसँग आबद्ध संक्रामक रोग विशेषज्ञ डा. निकोल आयोभिनले आगामी बिदामा परिवार र साथीभाइसँग भेटघाट गर्ने तयारी भइरहेकाले खोप लगाउनु झनै महत्त्वपूर्ण भएको बताएकी छन् ।
विज्ञहरूका अनुसार हाल गम्भीर लक्षण देखिएका बिरामीले भने तत्काल खोप लगाउनु हुँदैन, किनकि यतिबेला शरीरको प्रतिरक्षा प्रणाली संक्रमणसँग लड्न व्यस्त हुन्छ । तर, यो शरद ऋतुमा एकपटक संक्रमण भइसकेका व्यक्तिले पनि खोप लगाउनुपर्ने डा. लोपेज बताउँछन् । एकै सिजनमा एकभन्दा बढी प्रजातिका भाइरस सक्रिय हुन सक्ने र खोपले तीन प्रकारका फ्लु भाइरसविरुद्ध सुरक्षा दिने भएकाले खोप लगाउनु आवश्यक रहेको उनको भनाइ छ ।
गत हिउँदमा डिसेम्बरको अन्त्यतिर फ्लुको संक्रमण उत्कर्षमा पुगेको थियो, जसलाई न्युयोर्क सहरका स्वास्थ्य अधिकारीहरूले २० वर्षयताकै सबैभन्दा तीव्र सिजन भनेका थिए । मार्चको अन्त्यतिर उक्त सिजन समाप्त हुँदासम्म अमेरिकामा कम्तीमा ३ करोड २० लाख बिरामी परेको, ३ लाख ८० हजार अस्पताल भर्ना भएको र २४ हजार जनाको मृत्यु भएको सीडीसीको अनुमान छ ।
यो शरद ऋतुमा हालसम्म देखिएका अधिकांश संक्रमणहरू ‘ए एच१एन१’ फ्लु भाइरसको परिवर्तित रूपका कारण भएका छन्, जसमा शरीरको प्रतिरक्षा प्रणालीलाई छल्न सक्ने क्षमता छ । यद्यपि, हाल उपलब्ध तथ्यांकले अहिलेको खोपले उक्त भाइरसलाई पहिचान गर्न र त्यसविरुद्ध काम गर्न सक्ने देखाएको जोन्स हप्किन्स विश्वविद्यालयका इम्युनोलोजी विज्ञ एन्ड्रयु पेकोजले बताए ।
यस वर्षको खोप कति प्रभावकारी छ भन्ने यकिन हुन अझै केही महिना लाग्ने भए पनि हालका लागि चिन्ता लिनुपर्ने अवस्था नरहेको स्वास्थ्य अधिकारीहरूले स्पष्ट पारेका छन् ।





