ममता मृत भेटिएको र शव फोहोर फाल्ने ठाउँमा लुकाउन खोजेको नरेश भट्टको बयान


प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार

भर्जिनिया— अमेरिकाको भर्जिनियास्थित मनासस पार्कमा नेपाली नर्स ममता काफ्ले भट्टको हत्या अभियोगमा मुद्दा खेपिरहेका नरेश भट्टले आफ्नी श्रीमतीलाई घरको सुत्ने कोठामा मृत अवस्थामा फेला पारेको र त्यसपछि शव लुकाउने प्रयास गरेको बताएका छन्। तर उनले ममताको हत्या आफूले नगरेको दाबी गरेका छन्।

बिहीबार अदालतमा आफ्नो बचाउ पक्षका वकिलको प्रश्नको जवाफ दिँदै नरेशले ममताले आत्महत्या गरेको जस्तो आफूलाई लागेको बताए। उनले मध्यरातमा मुख्य शयनकक्षको भुइँमा ममता मृत अवस्थामा भेटिएको र उनको शरीर तथा नजिकै भुइँमा बान्ता भएको देखेको बताए। बान्तामा औषधिका चक्की देखिएको र नजिकै कीटनाशक पदार्थ पनि रहेको उनको भनाइ थियो।

त्यसपछि शव लुकाउने निर्णय गरेको उनले बताएका छन्। शव कहाँ राख्ने भन्ने सोचेर बाहिरको फोहोर फाल्ने डस्टबिनमा हाल्ने प्रयास गरेको उनले अदालतमा बताए। ‘म कतै लुकाउँछु वा अरू कतै फाल्छु, ताकि कसैले थाहा नपाओस् भन्ने सोचें,’ उनले बयानका क्रममा भने।

नरेशको यो बयान ममता बेपत्ता भएपछि प्रहरी र सञ्चारमाध्यमलाई दिएका अघिल्ला भनाइभन्दा बिल्कुलै फरक छ। सन् २०२४ को जुलाईमा ममता बेपत्ता भएपछि उनले आफूलाई ममता कहाँ छिन् भन्ने थाहा नभएको र उनी न्युयोर्क वा टेक्सास गएको हुन सक्ने बताएका थिए।

ममताको शव अहिलेसम्म फेला परेको छैन। नरेशमाथि ममताको हत्या गरी शव टुक्र्याएको र लुकाएको अभियोग लागेको छ। उनले आफू निर्दोष रहेको दाबी गर्दै आएका छन्। अदालतमा नरेशको बयानका क्रममा केही विवरण सुनेपछि उपस्थित व्यक्तिहरू स्तब्ध भएका थिए। ममताकी आमा पनि एक समय अदालतबाट बाहिरिएकी थिइन्।

बुधबारदेखि बयान दिन थालेका नरेशले आफ्नो बाल्यकाल नेपालमा बितेको र अमेरिकामा आएपछि विभिन्न काम गर्दै अमेरिकी सेनामा भर्ती भएको बताए।

उनले सेनामा रहँदा मानसिक स्वास्थ्यसम्बन्धी समस्या अनुभव गरेको तर सुरुमा त्यसबारे आफूलाई जानकारी नभएको बताए। राति चिच्याउँदै ब्युँझिने, अत्यधिक पसिना आउने र मुटुको धड्कन बढ्ने गरेको उनको भनाइ थियो। उनले त्यसलाई सुरुमा नराम्रो सपना वा कुनै खराब शक्तिले सताएको अनुभवका रूपमा लिने गरेको बताए।

ममतासँगको सम्बन्धबारे सोध्दा नरेशले बेपत्ता हुनुअघिका महिनाहरूमा उनीहरूबीच सम्बन्ध बिग्रिएको स्वीकार गरे। दुवै एकअर्काप्रति राम्रो व्यवहार नगर्ने अवस्थामा पुगेको उनले बताए। तर उनले ममतामाथि कहिल्यै हातपात नगरेको जिकिर गरे।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि सोमबार अभियोजन पक्षले आफ्नो प्रमाण प्रस्तुत गर्ने काम सकेको थियो। अभियोजन पक्षका तर्फबाट प्रस्तुत फरेन्सिक प्रमाणअनुसार दम्पतीको मुख्य शयनकक्षको कार्पेटमा भेटिएको अधिकांश रगत ममताकै भएको सम्भावना अत्यन्तै बलियो रहेको एक फरेन्सिक विज्ञले अदालतमा बताएका थिए।

फरेन्सिक प्रमाण विश्लेषक आइरिस डेली ग्राफले शयनकक्षको कार्पेटमा रगतका केही दाग नदेखिनु र कार्पेटको तल्लो भागमा रगत भेटिनुले माथिल्लो भाग सफा गरिएको हुन सक्ने संकेत गर्ने बताइन्।

अनुसन्धानकर्ताले शयनकक्षको कार्पेटमा रगत भेटिएको र मुख्य बाथरुमसम्म रगत तानिएको जस्तो देखिने प्रमाण पनि फेला पारेका थिए। अनुसन्धानकर्ताका अनुसार घटनापछि शयनकक्षको ओछ्यानसमेत सारिएको थियो।

अदालतमा बयान दिने क्रममा दम्पतीका एक निकट साथीले ममता बेपत्ता भएको केही सातापछि नरेशले ममताका सबै गहना र आफ्नो विवाहको औँठी आफूलाई दिएको बताएकी थिइन्। नरेशले यसअघि नै ममतासँग सम्बन्धविच्छेद गर्ने सम्भावनाबारे आफूलाई बताएको पनि ती साथीको भनाइ थियो।

ममताका दाजु महेश काफ्लेले अदालतमा भावुक बयान दिँदै बहिनीले बेपत्ता हुनुभन्दा केही महिनाअघि आफ्नो आँखामा चोट लागेको जस्तो देखिने तस्बिर गोप्य रूपमा पठाएको बताए। महेशका अनुसार ममताले उक्त चोट नरेशले दिएको बताएकी थिइन्। पछि आवश्यक पर्न सक्ने भन्दै तस्बिर सुरक्षित राख्न आग्रह गरेकी र नरेशले थाहा नपाऊन् भनेर आफ्नो फोनबाट तस्बिर हटाउने बताएकी पनि महेशले अदालतमा सुनाए।

अभियोजन पक्षले यसअघि एउटा विद्युतीय आरामा भेटिएको रगत तथा डीएनए नमुना ममताकै भएको अत्यन्तै बलियो सम्भावना रहेको फरेन्सिक विज्ञको बयान पनि प्रस्तुत गरेको थियो। अभियोजन पक्षका अनुसार नरेशले ममताको हत्या भएको भनिएको समयभन्दा केही महिनाअघि उक्त आरा किनेका थिए। पछि उनले त्यो आरा एक ल्यान्डस्केपरलाई दिएका थिए, जसले प्रहरीलाई बुझाएका थिए। नरेशमाथि प्रथम श्रेणीको हत्या, मृत शरीरको अपमान तथा शव लुकाएको अभियोग लगाइएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com