न्युयोर्कमा दोस्रो घरमा कर असुल गर्ने मेयर मम्दानीको योजनालाई अदालतको अनुमति
प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार
Photo: Wes Fischer/ Unsplash
न्युयोर्क शहरका मेयर जोहरान मम्दानीको प्रशासनलाई धनीहरूका महँगा दोस्रो घरमा नयाँ कर सङ्कलन गर्ने प्रक्रिया अघि बढाउन त्यहाँको पुनरावेदन अदालतले अनुमति दिएको छ। बुधबार भएको यो फैसलालाई मेयर मम्दानीको प्रगतिशील नीतिको ठूलो कानुनी विजयका रूपमा हेरिएको छ।
यसअघि सेप्टेम्बर महिनामा स्टेटन आइल्याण्डका एक न्यायाधीशले शहर प्रशासनले कर लागू गर्दा प्रक्रियागत त्रुटि गरेको भन्दै सङ्कलन कार्य रोक्न आदेश दिएका थिए। तर, शहर प्रशासनले सो निर्णयविरुद्ध पुनरावेदन गरेको थियो। ब्रोक्लीनस्थित पुनरावेदन अदालतका न्यायाधीशहरूको टोलीले तल्लो अदालतको आदेश उल्टाउँदै मेयरको पक्षमा फैसला सुनाएको हो।
यो कर प्रणालीबाट शहर प्रशासनले वार्षिक करिब ५० करोड अमेरिकी डलर राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ।
यो कर न्युयोर्क शहरबाहिर स्थायी बसोबास भएका तर शहरभित्र महँगा घर/अपार्टमेन्ट हुनेहरूमा लागू हुनेछ।
१ मिलियन डलर वा सोभन्दा बढी मूल्यका अपार्टमेन्ट र ५ मिलियन डलरभन्दा बढी मूल्यका निजी घरहरूमा यो कर थप रूपमा लगाइनेछ।
यदि सो घर भाडामा दिइएको छ वा घरधनीका नातेदार त्यहाँ स्थायी रूपमा बसोबास गर्छन् भने यो कर लागू हुने छैन।
कानुनी चुनौती दिएका घरधनीका तर्फबाट बहस गरिरहेका अधिवक्ता रेन्डी मास्ट्रोले यो फैसला निराशाजनक भएको बताएका छन्। यद्यपि, यो करका विरुद्ध अन्य कानुनी चुनौतीहरू अझै अदालतमा विचाराधीन नै छन्।
फैसलापछि खुसी व्यक्त गर्दै मेयर मम्दानीले भने, सुरुदेखि नै सम्भ्रान्त वर्गले आफ्नो सम्पत्तिको रक्षा गर्न र शहरका लागि थप योगदान दिनबाट जोगिन हरसम्भव कानुनी बाटो प्रयोग गर्दै आएका छन्।





