न्यूयोर्क शहरको पार्किङ स्थल प्रयोगमा विवाद: मेयर मामदानीद्वारा आइसविरुद्ध कानुनी कारबाहीको चेतावनी
प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार
Photo: ubeyonroad/ Unsplash
न्यूयोर्क शहरका मेयर जोहरान मामदानीले सोमबार सङ्घीय अध्यागमन एजेन्सी आइसविरुद्ध कानुनी कारबाही गर्ने चेतावनी दिएका छन्। सङ्घीय एजेन्टहरूले आफ्ना अपरेसनहरू सञ्चालन गर्न शहरको स्वामित्वमा रहेका पार्किङ स्थलहरू प्रयोग गरेको आरोप लगाउँदै उनले यस्तो चेतावनी दिएका हुन्।
ट्रम्प प्रशासनलाई पठाइएको दुई पृष्ठको पत्रमा मेयर मामदानीले गत जुलाईदेखि आइसका एजेन्टहरू क्वीन्स र ब्रोन्क्सस्थित नगरका पार्किङ स्थलहरूमा एकत्र हुने गरेको बताएका छन्। यसरी एजेन्टहरू भेला भएका पार्किङ स्थलहरूमध्ये एउटा शिशु पाठशालाको नजिकै रहेको र यो कार्य मेयरको कार्यकारी आदेशको ठाडो उल्लङ्घन भएको पत्रमा उल्लेख छ।
सङ्घीय अध्यागमन कारबाहीलाई बढावा दिन नगरको सम्पत्ति यसरी प्रयोग गर्नु अनधिकृत र गैरकानुनी हो। यसले शहरका बासिन्दाहरूलाई खतरामा पार्छ र नगरको सुविधा लिन चाहनेहरूमा डर सृजना गर्छ, पत्रमा भनिएको छ। मेयरले अगाडि लेखेका छन्, यदि तपाईंका एजेन्टहरूले यी पार्किङ स्थलहरूको अनधिकृत प्रयोग जारी राखेमा न्यूयोर्क शहरले यो गैरकानुनी कब्जा रोक्न कानुनी कदम चाल्नेछ।
यो पत्र होमल्यान्ड सेक्युरिटी सेक्रेटरी मार्कवेन मुलिनका साथै वासिङ्टन र न्यूयोर्कका शीर्ष आइस अधिकारीहरूलाई सम्बोधन गरेर पठाइएको छ।
गत अक्टोबरमा आइसको कारबाहीका क्रममा एक सङ्घीय अधिकारीले डोमिनिकन मूलका पुरुषलाई गोली हानी घाइते बनाएपछि मेयर मामदानी र ट्रम्प प्रशासनबीच तनाव बढेको थियो। उक्त घटनापछि मेयरले आइस एजेन्सीलाई नै खारेज गर्नुपर्ने माग गरेका थिए भने ट्रम्प प्रशासनका अधिकारीहरूले न्यूयोर्कको स्याङ्क्चुअरी सम्बन्धी कानूनले अपराधीक पृष्ठभूमि भएका आप्रवासीहरूलाई डिपोर्टेशनबाट जोगाएको आरोप लगाएका थिए।
यसैबीच,डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले एक विज्ञप्ति जारी गर्दै आइसको सार्वजनिक पार्किङ स्थलहरूमा उपस्थिति सङ्घीय कानून अनुसार पूर्ण रूपमा अधिकारप्राप्त रहेको र यो देशभरका कानून प्रवर्द्धन एजेन्सीहरूको सामान्य अभ्यास भएको बताएको छ।
बढ्दो तनावका बीच न्यूयोर्क शहरले सोमबार ‘पार्क्स डिपार्टमेन्ट’का कर्मचारीहरूका लागि नयाँ निर्देशिका जारी गरेको छ। चार पृष्ठको उक्त ज्ञापनपत्रमा न्यायिक वारेन्ट नभएसम्म आइस अधिकारीहरूलाई गैर-सार्वजनिक क्षेत्र र पार्किङमा प्रवेश गर्न नदिन, शहरका वकीलहरूलाई खबर गर्न र एजेन्टहरूसँग कुनै पनि किसिमको शारीरिक वा मौखिक झगडा नगर्न कर्मचारीहरूलाई निर्देशन दिइएको छ।





