आकाशमै ठोक्किए दुई हेलिकप्टर: बेलायती शिक्षार्थी पाइलट र अमेरिकी प्रशिक्षकसहित ३ जनाको मृत्यु
प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार
Photo: Isaac Benhesed/ Unsplash
उत्तर-पश्चिम अमेरिकाको ओरेगन राज्यस्थित म्याकमिनभिल विमानस्थल नजिकै बिहीबार दिउँसो दुईवटा हेलिकप्टर आपसमा जुध्दा तीन जनाको मृत्यु भएको छ।
यामहिल काउन्टीका सेरिफ साम एलियटका अनुसार, दुर्घटनाग्रस्त हेलिकप्टरहरू म्याकमिनभिल नगर विमानस्थल नजिकैको एक निजी खेतमा फेला परेका थिए। म्याकमिनभिल क्षेत्र पोर्टल्याण्ड शहरबाट करिब ६४ किलोमिटर दक्षिण-पश्चिममा पर्छ।
दुर्घटनामा परेका दुई हेलिकप्टरमध्ये एउटामा दुई जना सवार थिए। जसमा टेक्सासकी २२ वर्षीया उडान प्रशिक्षक म्याडी आसबो र बेलायतका एक शिक्षार्थी पाइलट रहेका थिए। परिवारलाई खबर गर्न बाँकी रहेकाले शिक्षार्थी पाइलटको नाम भने सार्वजनिक गरिएको छैन।
अर्को हेलिकप्टरमा भने चालक मात्र सवार थिए। उनको पहिचान ओरेगनको न्युबर्ग निवासी ३८ वर्षीय टाइलर स्टर्डेभेन्टको रूपमा भएको छ।
सेरिफको कार्यालयले यो संवेदनशील दुर्घटनाको अनुसन्धान भइरहेकाले सर्वसाधारणलाई उक्त क्षेत्रमा नजान र धैर्य धारण गर्न अनुरोध गरेको छ।
स्थानीय समय अनुसार दिउँसो करिब २:१५ बजे भएको उक्त दुर्घटनाको अनुसन्धान ‘नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड’ र ‘फेडेरल एभिएसन एडमिनिस्ट्रेशन’ ले संयुक्त रूपमा गरिरहेका छन्। दुर्घटनामा रोबिन्सन आर-२२ र एयरबस एइस३५० मोडलका हेलिकप्टरहरू संलग्न रहेको एनटीएसबीले जनाएको छ।
दुर्घटनाग्रस्त हेलिकप्टरमध्ये एउटा ‘जेरी ट्रिमबल हेलिकप्टर्स’ नामको उडान प्रशिक्षण तथा भाडा सेवा प्रदान गर्ने कम्पनीको थियो। कम्पनीले बिहीबार साँझ एक वक्तव्य जारी गर्दै दुख व्यक्त गरेको छ।
“हाम्रो एउटा हेलिकप्टर दुर्घटनामा परेको पुष्टि गर्दा हामी स्तब्ध र दुःखी भएका छौँ,” कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हाम्रो सहानुभूति र प्रार्थना पीडित व्यक्तिहरू, उहाँहरूका परिवार र यस घटनाबाट प्रभावित सबैसँग छ।”
कम्पनीले घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन अधिकारीहरूलाई पूर्ण सहयोग गरिरहेको जनाएको छ।





