अमेरिकाको मध्यावधि निर्वाचनमा एफबीआई र आइसका कर्मचारीले अनुगमन नगर्ने, जस्टिस डिपार्टमेन्टको प्रष्टीकरण
प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार
अमेरिकाको जस्टिस डिपार्टमेन्टले आगामी मध्यावधि निर्वाचनका क्रममा एफबीआई र आइसका एजेन्ट तथा कर्मचारीहरूले निर्वाचन अनुगमनकर्ताको रूपमा काम नगर्ने जनाएको छ।
अफ्रिकी-अमेरिकी समुदायको अधिकार र जातीय न्यायका लागि काम गर्दै आएको नागरिक अधिकार संस्था ‘एनएएसीपी’ले दर्ता गरेको मुद्दाको सुनुवाइका क्रममा जस्टिस डिपार्टमेन्टले अदालतमा यस्तो प्रतिबद्धता जनाएको हो।
अदालतमा पेस गरिएको कागजातअनुसार निर्वाचन अनुगमनकर्ताहरूले अनुगमनका क्रममा कानुन कार्यान्वयन गर्ने अधिकारीका रूपमा काम गर्ने छैनन्।
अनुगमनकर्ताहरूले मुख्य रूपमा मतदान स्थलको निरीक्षण गर्ने, टिपोटहरू लिने र उनीहरूलाई हतियार बोक्न पूर्ण रूपमा प्रतिबन्ध लगाइनेछ।
अनुगमनकर्ताहरूलाई मतदान प्रक्रियामा बाधा नपुर्याउन र विगतका अभ्यासअनुरूप राज्य तथा स्थानीय नियमहरूको पालना गर्न तालिम दिइएको जस्टिस डिपार्टमेन्टले स्पष्ट पारेको छ।
सङ्घीय कारागार ब्यूरो, एटीएफ, र डीइएका कर्मचारीहरूले अनुगमनकर्ताका रूपमा सेवा दिने भए तापनि एफबीआई वा आइसका कुनै पनि कर्मचारी यसमा सहभागी हुने छैनन्।
सरकारी अभियोजक तथा सुरक्षाकर्मीहरूलाई अनुगमनकर्ता बन्नबाट रोक्न माग गर्दै एनएएसीपीले अदालतमा मुद्दा दायर गरेपछि यो फैसला आएको हो। ट्रम्प प्रशासनको योजनाले मतदातालाई तर्साउने र धम्क्याउने काम गर्ने दाबी उक्त संस्थाले गरेको थियो।
ट्रम्प प्रशासनले भने निर्वाचनको निष्पक्षताप्रति सर्वसाधारणको विश्वास बढाउन कडा कदम आवश्यक रहेको तर्क गर्दै राज्यहरूसँग मतदाता नामावलीको विवरण माग गर्ने जस्ता आक्रामक कदम चाल्दै आएको छ।
यसै महिना केही अधिकारीहरूले दिएको जानकारीअनुसार उनीहरू मध्यावधि निर्वाचनमा सम्भावित सङ्घीय हस्तक्षेपको तयारी गरिरहेका छन्।





