विश्वभरका ६९% वेबसाइटमा सुरक्षा खतरा: अहिलेसम्म सफल आक्रमण नभएको दाबी


प्रकाशित मिति : ६ कार्तिक २०८३, शुक्रबार

Photo: Towfiqu barbhuiya /Unsplash

विश्वभरका सरकारहरूले सफ्टवेयरमा देखिएको गम्भीर सुरक्षा त्रुटिका कारण वेबसाइटहरू बन्द गर्न चेतावनी दिएको भोलिपल्ट, विशेषज्ञहरूले भने यसबाट अहिलेसम्म कुनै ठूलो क्षति नभएको बताएका छन्।

यद्यपि यो खतरा अझै टरिसकेको छैन र यसको जोखिम केही हप्ता वा सोभन्दा बढी समयसम्म रहनसक्ने चेतावनी साइबर सुरक्षा विज्ञहरूले दिएका छन्। तर, ह्याकरहरूका लागि यस त्रुटिको फाइदा उठाउन कठिन भइरहेको प्रारम्भिक सङ्केतहरू देखिएका छन्।

बेलायती सफ्टवेयर सुरक्षा कम्पनी ‘सोफोस’का थ्रेट रिसर्च उपाध्यक्ष डन स्मिथका अनुसार, टोलीले निरन्तर निगरानी गर्दा पनि केही सीमित स्थानमा मात्रै ह्याकिङको प्रयास भएको पाइएको छ। विज्ञहरूका अनुसार विश्वभरका अनुसन्धानकर्ताहरूले पर्दापछाडि गुप्त रूपमा काम गर्दै यस समस्याको पहिचान गरी समाधान तयार पारिसकेकाले क्षति कम भएको हो।

यो त्रुटि वेबसाइट निर्माणमा व्यापक प्रयोग हुने भाषा पिएचपीमा पाइएको थियो, जसको प्रयोग विश्वका करिब ६९% वेबसाइटहरूमा हुन्छ। गत अगस्ट महिनामा अनुसन्धानकर्ताहरूले यो गम्भीर त्रुटि पत्ता लगाएपछि विश्वभरका विज्ञहरू मिलेर यसको समाधान तयार पारेका थिए, जुन बुधबार बिहान सार्वजनिक गरियो।

यसलगत्तै अमेरिकाको एफबीआइ, एनएसए तथा युरोप र अस्ट्रेलियाका गुप्तचर निकायहरूले सुरक्षा प्याच लागू नगरेसम्म वेबसाइटहरू बन्द राख्न सुझाव दिएका थिए। सोही निर्देशनका आधारमा विश्वका दर्जनौँ प्रमुख वेबसाइटहरू केही समयका लागि बन्द गरिएका थिए।

पालो अल्टो नेटवर्क, गुगल थ्रेट इन्टेलिजेन्स, क्लाउडफ्लेयर, र क्राउडस्ट्राइक जस्ता अग्रणी सुरक्षा कम्पनीहरूका अनुसार बिहीबार साँझसम्म कुनै पनि सफल आक्रमण दर्ता भएको छैन।

विज्ञहरूका अनुसार यो त्रुटि सिद्धान्ततः निकै खतरनाक भए पनि व्यावहारिक रूपमा ह्याक गर्न प्राविधिक रूपमा अत्यन्तै जटिल छ। यसबाहेक, हाल उपलब्ध एआइ मोडलहरूले पनि यस्ता जटिल त्रुटिहरूको फाइदा उठाउन ह्याकरहरूलाई खासै मद्दत गर्न सकेका छैनन्।

विज्ञहरूले चेतावनी दिँदै भनेका छन् कि ह्याकरहरूले शान्तपूर्वक प्रणालीमा घुसपैठ गरेर बसिरहेको हुनसक्ने सम्भावना अझै बाँकी छ, त्यसैले सबै वेबसाइट सञ्चालकहरूलाई तुरुन्तै आफ्नो पीएचपी सिस्टम अपडेट गर्न आग्रह गरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com