ट्रम्पद्वारा रुस र युक्रेनबीच ‘ऊर्जा युद्धविराम’को घोषणा, विस्तृत विवरण पर्खिँदै जेलेन्स्की
प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार
अमेरिकी राष्ट्रपति ट्रम्प । तस्वीर : एलेक्स ब्रान्डन/एपी-रासस
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार रुस र युक्रेनबीच तात्कालिक प्रभावबाट लागू हुने गरी “ऊर्जा युद्धविराम”को आकस्मिक घोषणा गरेका छन्। यद्यपि, युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले भने यस सम्झौताको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको बताएका छन्।
रुसी तेल प्रशोधन केन्द्रहरूमा आक्रमण रोक्न ट्रम्पले युक्रेनमाथि निरन्तर दबाब दिइरहेका बेला यो घोषणा आएको हो। मस्कोका तर्फबाट भने यस युद्धविरामबारे हालसम्म कुनै आधिकारिक धारणा सार्वजनिक भएको छैन। अमेरिकी मध्यावधि निर्वाचन नजिकिँदै गर्दा डिजेलको मूल्यवृद्धिले ट्रम्पको रिपब्लिकन पार्टीलाई असर पारिरहेकाले उनले युक्रेनी आक्रमणलाई यसको कारक ठहऱ्याउँदै आएका छन्।
आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा पोस्ट गर्दै ट्रम्पले लेखेएका छन्, “तात्कालिक प्रभावबाट लागू हुने गरी रुस र युक्रेन युद्धमा ऊर्जा युद्धविराम भएको छ। दुवै पक्ष सहमत भएका छन्। यसलाई कसैले नतोड्नुहोस्!”
यसअघि शनिबार ट्रम्पले जेलेन्स्कीलाई रुसी रिफाइनरीहरूमाथिको आक्रमण रोक्न कडा चेतावनी दिँदै नयाँ निर्वाचनमार्फत नेतृत्व परिवर्तन गर्न युक्रेनी जनतालाई आग्रह गरेका थिए।
यसको जवाफमा जेलेन्स्कीले राष्ट्रपति चयन गर्ने अधिकार युक्रेनी जनताको मात्र भएको स्पष्ट पारे। उनले यदि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ६० दिनको पूर्ण युद्धविरामका लागि सहमत हुन्छन् भने आफू चुनाव गराउन तयार रहेको बताए।
राष्ट्रपति जेलेन्स्कीले टेलिग्राममार्फत नेटोका महासचिव मार्क रुटे, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी र फिनल्यान्डका राष्ट्रपति अलेक्ज्यान्डर स्टबसँग यसबारे छलफल भएको जानकारी दिदै उनले भनेका छन्, “युक्रेन युद्धविरामको पक्षमा छ, तर रुसले पनि यसलाई समर्थन गर्नु आवश्यक छ। हामी अमेरिकी पक्षबाट विस्तृत विवरणको पर्खाइमा छौँ।”
ट्रम्पको घोषणालगत्तै पनि रुसी फौजले खार्किभस्थित संयुक्त ताप तथा विद्युत् संयन्त्र लगायतका ऊर्जा पूर्वाधारमा हवाई आक्रमण जारी राखेको युक्रेनी अधिकारीहरूले पुष्टि गरेका छन्। जेलेन्स्कीले रुसले युक्रेनी ऊर्जा पूर्वाधारमाथिका आक्रमण नरोकेसम्म युक्रेनले मात्र एकतर्फी रूपमा आक्रमण नरोक्ने स्पष्ट अडान दोहोऱ्याएका छन्।
स्रोतका अनुसार, युक्रेनलाई रुसी रिफाइनरीमा आक्रमण रोक्न दबाब दिन अमेरिकाले गुप्तचर जानकारी आदानप्रदान र हतियार आपूर्ति रोक्ने चेतावनी दिएको बुझिएको छ।
यसैबिच, ट्रम्पले रुससँग गरेको डिजेल आपूर्ति सम्झौताको युक्रेन र अमेरिकी सांसदहरूले कडा आलोचना गरेका छन्। सम्झौताअनुसार रुसले अमेरिकी तथा विश्व बजारमा ३ लाख मेट्रिक टनभन्दा बढी डिजेल आपूर्ति गर्नेछ।
अमेरिकी सिनेटर थम तिलिस लगायतका जनप्रतिनिधिहरूले रुससँगको यो सम्झौता गैरकानुनी हुन सक्ने र यसले रुसी आक्रमणलाई थप प्रोत्साहन दिने बताएका छन्। राजधानी किभका बासिन्दाहरूले पनि ट्रम्पको अभिव्यक्तिलाई साझेदार राष्ट्रको “विश्वासघात” को रूपमा टिप्पणी गरेका छन्।





