भोटेकोशी बाढीको ४५ दिनपछि गोरखामा आएको बाढीबारे अहिलेसम्म हामीलाई के थाहा छ?
प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार
फोटो: साइराम उपरकोटी
नेपालमा विनाशकारी बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको करिब ४५ दिनपछि गोरखाको उत्तरी क्षेत्रमा अर्को विनाशकारी बाढी आएको छ। चुमनुब्री गाउँपालिकामा बुढीगण्डकी नदीमा आएको बाढीले कम्तीमा ३५ घर पूर्ण रूपमा बगाएको छ भने एउटा बेलिब्रिज र विद्यालयसमेत नष्ट भएका छन्। प्रभावित क्षेत्रमा उद्धार तथा क्षतिको विवरण संकलनका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ।

चुमनुब्री गाउँपालिका–६, लोक्पा नजिकै पहिरो खसेर बुढीगण्डकी नदीको बहाव थुनिएपछि अचानक खुलेको र लेदोसहितको बाढी आएको प्रारम्भिक विवरण छ। बिहान करिब ४:३० बजे सुरु भएको बाढीले नदी तटीय बस्तीमा क्षति पुर्याउँदै तल्लो क्षेत्रमा समेत जोखिम बढाएको छ।
पैयू र बगरमा ३५ घर पूर्ण रूपमा नष्ट
चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार पैयू र बगर गाउँमा मात्रै ३५ घर पूर्ण रूपमा बगेका छन्। दोभान क्षेत्रमा रहेको बेलिब्रिज र विकास प्राथमिक विद्यालय पनि बाढीले बगाएको छ।

बाढीले जगत्, सल्लेरी र घट्टेखोलालगायतका क्षेत्रमा नदी किनारका बस्ती तथा जलविद्युत् आयोजनाका संरचनामा समेत क्षति पुर्याएको विवरण प्राप्त भएको छ। क्षतिको पूर्ण विवरण भने संकलन हुन बाँकी छ।
बाढी आउनुअघि नदीको बहावमा अस्वाभाविक परिवर्तन देखिएपछि स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ भागेका थिए। त्यसैले प्रारम्भिक विवरणअनुसार हालसम्म मानवीय क्षति भएको पुष्टि भएको छैन। यद्यपि, क्षतिको पूर्ण विवरण संकलन हुन बाँकी छ।

दुई झोलुङ्गे पुल र अर्को फलामे पुल पनि बगायो
नेपाल प्रहरीले सार्वजनिक गरेको थप विवरणअनुसार बुढीगण्डकीमा आएको बाढीले चुमनुब्री र धार्चे गाउँपालिकाका विभिन्न स्थानमा थप क्षति पुर्याएको छ। चुमनुब्री गाउँपालिका–३, न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बाढीले बगाएको छ। सोही वडाको सिर्दिबास निवासी रामबहादुर गुरुङको एउटा कच्ची घर बगेको छ भने अर्को घरमा बाढी पसेको छ।
धार्चे गाउँपालिका–५, माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको प्रहरीले जनाएको छ। माछिखोलाको तल्लो बस्तीमा बाढी पस्दा पाँचदेखि सातवटा घर र पाँचदेखि सातवटा टहरामा पानी पसेको छ। धार्चे गाउँपालिका–३, सल्लेरीमा रहेका २० देखि २२ वटा घर जोखिममा रहेको प्रहरीको विवरणमा उल्लेख छ।
बाढीले आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुलसमेत बगाएको नेपाल प्रहरीले जनाएको छ। यससँगै बाढीले क्षति पुर्याएका पुलहरूको संख्या थपिएको छ र विभिन्न बस्तीबीचको आवागमन प्रभावित भएको छ।
सोती बजारसम्म प्रभाव, आरुघाटमा जोखिम
बिहान सबेरै सुरु भएको बाढीको बहाव तल्लो तटीय क्षेत्रमा फैलिँदै दिउँसोसम्म सोती बजारसम्म पुगेको थियो। सोती क्षेत्रमा केही टहरा तथा पुलमा क्षति पुगेको विवरण छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गोरखाको आरुघाट स्टेशनमा नदीको सतह खतराको तहभन्दा माथि पुगेको जनाएको छ। प्राधिकरणले गोरखासहित धादिङ, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

प्राधिकरणले सार्वजनिक गरेको सूचनामा भनिएको छ, “गोरखाको आरुघाट स्टेशनमा नदीको सतह खतराको तहभन्दा अधिक बढी भएको छ। गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमसम्मका नदी तल्लो तटीय क्षेत्रका सबलाई सतर्क हुन अनुरोध छ।”
आरुघाटमा नदीको सतह खतराको तहभन्दा माथि पुगेको सूचनाले बुढीगण्डकीको तल्लो तटीय क्षेत्रमा जोखिम बढेको देखाउँछ। नदीको बहाव निरन्तर परिवर्तन हुन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न र नदी किनारमा नजान आग्रह गरिएको छ।
हेलिकप्टरबाट उद्धार र क्षतिको निरीक्षण
घटनाको गम्भीरतालाई ध्यानमा राख्दै गोरखाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको निर्देशनमा प्रभावित क्षेत्रमा उद्धार तथा निरीक्षणको काम अघि बढाइएको छ। नेपाली सेनाको हेलिकप्टर परिचालन गरी प्रभावित क्षेत्रको अवस्था बुझ्ने र आवश्यक उद्धारमा सहयोग गर्ने काम भइरहेको छ।

नेपाली सेनाका अनुसार बुढीगण्डकी नदीमा आएको बाढीपछि खोज तथा उद्धारका लागि सेनाको टोली हवाई र स्थल मार्गबाट परिचालन गरिएको छ। सेनाले पहिरोको जोखिममा रहेको जगत् क्षेत्रबाट छ जनाको हवाई उद्धार गरेको जनाएको छ।
नेपाली सेनाले सार्वजनिक गरेको विवरणमा भनिएको छ, “बुढीगण्डकी नदीमा आएको बाढीपश्चात् खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको फौज हवाई तथा स्थल मार्गबाट खटिई पहिरोको जोखिममा रहेको जगत इलाकाबाट ६ जनाको हवाई उद्धार गरेको (छ)। काठमाडौँमा रहेको संयुक्त द्रुत प्रतिक्रिया टोली समेत हवाई साधनबाट उक्त इलाकामा तैनाथ भएको (छ)।”
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी पनि प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा परिचालित छन्। उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण र क्षतिको विवरण संकलनलाई प्राथमिकता दिइएको छ।

प्रशासनले बुढीगण्डकी तथा त्रिशूली नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन र नदीको बहाव बढेको अवस्थामा तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
बाढीको कारणबारे अध्ययन हुँदै, भारी वर्षा र पहिरोको प्रारम्भिक संकेत
जल तथा मौसम विज्ञान विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठले बुढीगण्डकीको बाढीको उद्गम क्षेत्रमा भएको वर्षाको अवस्थाबारे जानकारी दिँदै घटनाको कारणबारे थप अध्ययन गर्नुपर्ने बताइन्। उनका अनुसार गोरखाका विभिन्न वर्षा मापन केन्द्रको विवरण हेर्दा अक्टोबर १० मा भएको वर्षा पहाडी क्षेत्रको भौगोलिक अवस्थाका आधारमा पहिरो जान पर्याप्त हुन सक्ने देखिएको छ।
विभागले प्रस्तुत गरेको प्रारम्भिक विवरणमा गोरखाको घरेढुंगामा अक्टोबर १० मा करिब २० मिलिमिटर प्रतिघण्टाको दरमा १० मिनेटजति वर्षा भएको देखिएको उल्लेख छ। त्यसैगरी, अक्टोबर ८ र ९ मा बारपाक क्षेत्रमा पनि करिब पाँच मिलिमिटर प्रतिघण्टाको दरमा १० मिनेटजति वर्षा भएको विवरण प्रस्तुत गरिएको थियो।
श्रेष्ठका अनुसार हिमाली क्षेत्रमा पर्याप्त हिमपात भएको हुन सक्ने विषय पनि अध्ययनको क्रममा छ। वर्षाको तीव्रता, पहिरो र हिमाली क्षेत्रका सम्भावित अन्य कारणमध्ये कुन कारणले बाढी निम्त्यायो भन्ने निष्कर्षमा पुग्न थप विश्लेषण आवश्यक रहेको उनले बताइन्।
बाढीका भिडियो फुटेजमा पानीसँगै ढुंगा, गेग्रान र लेदो बगेको देखिएको बाढीविद् पराजुलीले बताए। पानीको मात्रा र बहाव दुवै उच्च देखिएकाले घटनाको वास्तविक कारण पत्ता लगाउन अध्ययन भइरहेको छ। प्रारम्भिक रूपमा चुमनुब्री गाउँपालिकाको चुनचेतभन्दा माथिल्लो भागको हिमाली क्षेत्रमा पहिरो गएको देखिए पनि अन्य कारणको सम्भावनालाई नकार्न नसकिने अधिकारीहरूले बताएका छन्।
बाढी पहिरोले नदी थुनिएर अचानक खुलेका कारण आएको हो वा त्यसमा हिमाली क्षेत्रमा भएको हिमपात अथवा हिमनदीसम्बन्धी प्रक्रियाको पनि भूमिका छ भन्ने विषयमा अहिलेसम्म अन्तिम निष्कर्ष सार्वजनिक भएको छैन।
बेनीघाटसम्म अति उच्च जोखिम
बाढी पूर्वानुमान महाशाखाका बाढीविद् विनोद पराजुलीले बुढीगण्डकी नदीको बहाव अत्यधिक बढेकाले तल्लो तटीय क्षेत्रमा जोखिम रहेको बताएका छन्। उनका अनुसार बिहान करिब ८:४५ बजेसम्म प्राप्त विवरणमा नदीको सतह करिब ८.५ मिटरसम्म पुगेको थियो। त्यसपछि बाढीले मापन केन्द्रसहित पुल बगाएकाले थप तथ्यांक प्राप्त हुन सकेको छैन।
पराजुलीका अनुसार गेज रिडरबाट प्राप्त विवरणले नदीको पानी पुलभन्दा करिब एकदेखि दुई मिटर माथिसम्म पुगेको देखाएको थियो। मापन केन्द्र र पुल बगाएपछि नदीको बहावको वास्तविक अवस्था निरन्तर मापन गर्न कठिन भएको उनले बताए।
महाशाखाले गरेको प्रारम्भिक जोखिम आकलनअनुसार बुढीगण्डकी र त्रिशूली नदीको संगमस्थल बेनीघाटसम्म अति उच्च जोखिम रहेको छ। मुग्लिनसम्म उच्च जोखिम र मुग्लिनभन्दा तल मध्यम जोखिम आकलन गरिएको छ।
बुढीगण्डकीको बाढी त्रिशूली नदीमा मिसिएपछि त्यहाँको बहाव पनि बढ्न सक्ने महाशाखाको आकलन छ। पराजुलीका अनुसार त्रिशूलीमा बहाव करिब तीन मिटरले बढ्न सक्ने अनुमान गरिएको छ। हाल त्रिशूलीको जलसतह सतर्कता तहभन्दा निकै तल रहेकाले तत्काल खतराको तह पार गर्ने अवस्था नदेखिए पनि नदीको बहाव बढ्दा कटानको जोखिम रहन सक्ने उनले बताए।
देवघाटमा पनि नदीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने आकलन गरिएको छ। प्रेस मिटमा प्रस्तुत विवरणअनुसार त्यहाँको जलसतह बढेर करिब ६.५ देखि सात मिटरसम्म पुग्न सक्ने अनुमान गरिएको छ। उक्त स्तर सतर्कता तहभन्दा तल रहने आकलन भए पनि बहाव बढ्ने क्रम जारी रहेकाले चितवन र नवलपरासीका नदी तटीय क्षेत्रमा विशेष सतर्कता आवश्यक रहेको पराजुलीले बताए।
उनले बाढीको बहाव बढ्ने र घट्ने क्रम जारी रहेकाले आइतबार साँझसम्म नदीको अवस्था सामान्य नहुँदासम्म नारायणी, त्रिशूली र बुढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउनुपर्ने बताए।
पराजुलीका अनुसार बाढीका भिडियो फुटेजमा पानीसँगै ढुंगा, गेग्रान र लेदो बगेको देखिएको छ। पानीको मात्रा र बहाव दुवै उच्च देखिएकाले घटनाको वास्तविक कारण पत्ता लगाउन अध्ययन भइरहेको छ। प्रारम्भिक रूपमा चुमनुब्री गाउँपालिकाको चुनचेतभन्दा माथिल्लो भागको हिमाली क्षेत्रमा पहिरो गएको देखिए पनि अन्य कारणको सम्भावनालाई नकार्न नसकिने उनले बताए।





