परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्र महासभामा सहभागी हुन न्यूयोर्कमा
प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन सोमबार न्यूयोर्क आइपुगेका परराष्ट्रमन्त्री शिशिर खनाललाई जोन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, महावाणिज्यदूत दधिराम भण्डारीलगायतले स्वागत गर्दै। फोटो: शिशिर खनालको फेसबुक
न्यूयोर्क — नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार न्यूयोर्क आइपुगेका छन्।
न्यूयोर्कस्थित जोन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, न्युयोर्कस्थित नेपालका महावाणिज्यदूत दधिराम भण्डारी र स्थायी नियोगका अधिकारीहरूले स्वागत गरेका थिए।
खनालले सामाजिक सञ्जालमार्फत आफू संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क आएको बताएका छन्। न्यूयोर्क बसाइका क्रममा नेपालका प्राथमिकता र चासोका विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउन विभिन्न द्विपक्षीय भेटवार्ता गर्ने उनले बताएका छन्।
“आज दिउँसोदेखि द्विपक्षीय बैठकहरूको श्रृंखलासहित कूटनीतिक संलग्नता सुरु गर्ने अपेक्षा गरेको छु,” खनालले लेखेका छन्। “यसले विश्व मञ्चमा नेपालको प्राथमिकतालाई अघि बढाउन सहयोग गर्नेछ।”
संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि थापाले पनि खनाललाई न्यूयोर्कमा स्वागत गर्दै उनको भ्रमण फलदायी रहोस् भन्ने शुभकामना दिएका छन्।





