नेपालका परराष्ट्रमन्त्रीको ईयू र पोल्यान्डका नेतासँग भेटवार्ता
प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार
संयुक्त राष्ट्रसंघको महासभाका अवसरमा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघ भवनमा युरोपेली आयोगकी कार्यकारी उपाध्यक्ष तेरेसा रिबेरासँग भेटवार्ता गर्दै नेपालका परराष्ट्रमन्त्री। भेटमा नेपाल–युरोपेली संघ सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल भएको थियो। फोटो: राजन काफ्ले
संयुक्त राष्ट्रसंघको महासभाका अवसरमा न्युयोर्कमा रहेका नेपालका परराष्ट्रमन्त्रीले युरोपेली आयोगकी कार्यकारी उपाध्यक्ष तेरेसा रिबेरा तथा पोल्यान्डका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री राडोस्लाव सिकोरस्कीसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेका छन्।

परराष्ट्रमन्त्रीको कार्यक्रमअनुसार सोमबार अपराह्न २ बजे संयुक्त राष्ट्रसंघ भवनस्थित ग्यालरी १७ र १९ का बुथमा युरोपेली आयोगकी कार्यकारी उपाध्यक्ष रिबेरासँग भेटवार्ता भएको थियो। रिबेरा युरोपेली आयोगमा स्वच्छ, न्यायपूर्ण तथा प्रतिस्पर्धी संक्रमणसम्बन्धी कार्यकारी उपाध्यक्षको जिम्मेवारीमा छन्।
त्यसपछि परराष्ट्रमन्त्रीले पोल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सिकोरस्कीसँग भेट गरेका हुन्। उनीहरूबीचको भेट संयुक्त राष्ट्रसंघ भवनस्थित ग्यालरी १५ को बुथमा भएको हो।

भेटवार्तामा नेपाल–युरोपेली संघ तथा नेपाल–पोल्यान्ड सम्बन्ध, आपसी सहकार्यका क्षेत्र र बहुपक्षीय मञ्चमा सहकार्यका विषयमा छलफल भएको थियो।

परराष्ट्रमन्त्रीको सोमबारको कार्यसूचीमा भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, पोर्चुगलका विदेशमन्त्री पाउलो रान्गेल तथा जापानका विदेशमन्त्री मोतेगी तोशिमित्सुसँग पनि द्विपक्षीय भेटवार्ता तय गरिएको छ।





