रसुवा बाढी : हालसम्म १,२०४ जनाको शव फेला, ४,२९६ बेपत्ता र ११ हजारभन्दा बढीको उद्धार


प्रकाशित मिति : १७ भदौ २०८३, बुधबार

भोटेकोशीको बाढीले नुवाकोटको त्रिशूली बजारमा ठूलो क्षति पुर्‍याएपछि सुरक्षाकर्मीले जोखिम मोलेर खोजी, उद्धार तथा राहत कार्य जारी राखेका छन् । प्रभावित क्षेत्रमा हेलिकोप्टरमार्फत उद्धार सामग्री र जनशक्ति परिचालन गरिएको छ । तस्वीर : प्रदीप राज वन्त/नुवाकोट

रसुवामा आएको विनाशकारी बाढीका कारण ठूलो मानवीय क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार साँझसम्म विपद्मा परी ज्यान गुमाएका १ हजार २०४ जनाको शव फेला परेको छ ।

फेला परेका शव तथा मानव अंगहरूमध्ये चितवनमा ३४८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा २०२, नुवाकोटमा १५५, रसुवामा ११५, गोरखामा ६९, धादिङमा ६० र तनहुँमा ३८ वटा रहेका छन् । फेला परेकामध्ये हालसम्म १५ वटा शवको मात्र सनाखत गरी परिवारलाई बुझाइएको छ ।

प्राधिकरणका अनुसार अझै ४ हजार २९६ जना बेपत्ता छन् । बेपत्ता हुनेमा नुवाकोटका १,५५८ र रसुवाका ८६५ जना स्थानीय तथा अन्य व्यक्ति रहेका छन् । यस्तै जलविद्युत् आयोजनाका करिब ९०० जना, ५८३ विदेशी नागरिक र उनीहरूसँग गएका १६४ नेपाली पनि सम्पर्कविहीन छन् । सुरक्षा निकायतातर्फ नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरीका १३ जना बेपत्ता छन्।

यस्तै, भन्सारका १४, अध्यागमनका ३, क्वारेन्टाइनका ३, लाङटाङ राष्ट्रिय निकुञ्जका ३, जनप्रतिनिधि ७, स्थानीय तहका कर्मचारी ३२ र निजी विद्यालयका १ शिक्षकको स्थिति अझै अज्ञात छ ।

बाढीमा परी घाइते भएका ३०९ जनामध्ये १९५ जना उपचारपछि घर फर्किसकेका छन् । स्वास्थ्य उपचारका क्रममा नेपाली सेनाले ३ हजार १११ र सशस्त्र प्रहरीले १ हजार ६२८ जनालाई परामर्श तथा उपचार सेवा दिएका छन् ।

उद्धार कार्यतर्फ हालसम्म ११ हजार १९३ जनाको सफल उद्धार गरिएको छ । खोजी तथा राहत कार्यका लागि नेपाल प्रहरीका ७,९१२, सशस्त्र प्रहरीका ४,२०३ र नेपाली सेनाका ९,१९९ गरी कुल २१ हजार ३१४ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

उद्धारका क्रममा नेपाली सेनाले ६९० पटक र निजी क्षेत्रका हेलिकप्टरले २९ उडान गरी ४ हजार ९१ नेपाली र २७३ विदेशी नागरिकको उद्धार गरेका छन् । यस्तै, बाढीबाट विस्थापित ३ हजार ४५३ जनालाई नुवाकोट, धादिङ, रसुवा र काठमाडौंका विभिन्न होल्डिङ सेन्टरहरूमा राखिएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com