बाढी प्रभावित भोटेकोशी र त्रिशूली क्षेत्रबाट २८९ विदेशी पर्यटकको उद्धार, ५९१ अझै सम्पर्कविहीन
प्रकाशित मिति : १४ भदौ २०८३, आइतबार
भोटेकोसीको बाढीले नुवाकोटको त्रिशूली बजारमा ठूलो क्षति पुर्याएपछि सुरक्षाकर्मीले जोखिम मोलेर खोजी, उद्धार तथा राहत कार्य जारी राखेका छन् । प्रभावित क्षेत्रमा हेलिकोप्टरमार्फत उद्धार सामग्री र जनशक्ति परिचालन गरिएको छ । तस्वीर : प्रदीप राज वन्त/नुवाकोट
गत बुधबार भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका २८९ जना विदेशी नागरिक तथा पर्यटकको सफल उद्धार गरिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार आइतबार साँझ ६ बजेसम्म उनीहरूको उद्धार गरिएको हो ।
यसैगरी, सम्पर्कविहीनमध्ये ५ जना विदेशी पर्यटक सम्पर्कमा आएका छन् । सम्पर्कमा आउनेमा तीन जना स्पेनिस, एक जना अमेरिकी र एक जना बेल्जियन नागरिक रहेका छन् । बोर्डका अनुसार ५९१ जना विदेशी नागरिक अझै सम्पर्कविहीन रहेका छन् ।
उद्धार गरिएकामध्ये सबैभन्दा धेरै १८० जना भारतीय नागरिक रहेका छन् । त्यस्तै चीनका ८९, जर्मनीका ४, माल्टाका ४, इटालीका २, रुसका २, टर्कीका २, अमेरिकाका २ तथा बुल्गेरिया, ओमान, पोर्चुगल र स्विट्जरल्यान्डका एक-एक जना रहेका छन् ।
बाढी प्रभावित विदेशी पर्यटकको अवस्था पत्ता लगाउन, उद्धार गर्न र सुरक्षित स्थानमा स्थानान्तरण गर्न तीव्र रूपमा खोज तथा उद्धार अभियान जारी राखिएको बोर्डले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सुरक्षा निकाय र स्थानीय प्रशासनको संयुक्त समन्वयमा उद्धार कार्य भइरहेको छ।
यसैबीच, धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा नदीले सडक कटान गरेपछि पृथ्वी राजमार्ग (काठमाडौँ–मुग्लिन सडक खण्ड) पूर्ण रूपमा अवरुद्ध भएको छ।





