सामाजिक सञ्जालमा घुसपैठको हल्ला फैलिएपछि सेउटा सीमामा स्पेन र मोरक्कोद्वारा सुरक्षा व्यवस्था कडा


प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार

Photo: Sheila C/ Unsplash

सामाजिक सञ्जालमार्फत शनिबार पुनः ठूलो संख्यामा आप्रवासीहरूले सीमा मिच्ने प्रयास गर्न सक्ने खबरहरू फैलिएपछि स्पेनले उत्तर अफ्रिकी महाद्वीपमा रहेको आफ्नो भूभाग सेउटामा प्रहरी र सेनाको उपस्थिति व्यापक बनाएको छ। दुई साताअघि मात्रै हजारौँ आप्रवासीहरू जबरजस्ती यो सहरमा प्रवेश गरेका थिए।

शुक्रबार साँझ सुपरमार्केट र सरकारी भवन बाहिर लडाकु पोशाकमा सजिएका सैनिकहरू तैनाथ थिए भने मुख्य सडकहरूमा प्रहरीका गाडीहरूले निरन्तर गस्ती गरिरहेका थिए। गत जुलाई ३० को दर्दनाक घटनापछिका तनावग्रस्त दिनहरूको तुलनामा अहिले मुख्य सहरको अवस्था सामान्य र शान्त देखिएको छ।

सीमाको अर्कोतर्फ, मोरक्कन सुरक्षाकर्मीहरूले फ्निदेकको किनारबाट कडा निगरानी गरिरहेका छन्, जहाँबाट धेरै आप्रवासीहरू सेउटाको ताराजाल ब्रेकवाटर पौरेर प्रवेश गर्ने गर्दछन्। स्पेन सरकारको अनुमान अनुसार, जुलाई ३० को प्रयासमा कम्तीमा ९६ जनाको मृत्यु भएको थियो भने ७२,००० भन्दा बढी मानिसहरू सेउटा प्रवेश गर्न सफल भएका थिए।

प्रवेश गरेका अधिकांश मानिसहरू पछि स्वेच्छाले मोरक्को फर्किएका भए तापनि यस सङ्कटले युरोपेली सङ्घ भित्र मतभेद सिर्जना गरेको छ भने विश्वभर दक्षिणपन्थी दलहरूबीच आप्रवासनविरोधी बहसलाई बढावा दिएको छ।

स्पेनले हाल समुद्री क्षेत्रमा अवरोध निर्माण गरेको छ भने मुख्य भूमिबाट थप ५०० भन्दा बढी प्रहरी अधिकारीहरू खटाएको छ। स्पेनको गृह मन्त्रालयका अनुसार स्थिति पूर्ण रूपमा नियन्त्रणमा नआएसम्म उनीहरू त्यहीँ रहनेछन्।

स्पेनका गृह मन्त्री फर्नान्डो ग्रान्डे-मार्लास्काले सेउटामा पत्रकारहरूसँग कुरा गर्दै भने, “सामान्य स्थिति बहाल गर्न र जुलाई ३० जस्ता घटनाहरू दोहोरिन नदिनका लागि आवश्यक सबै सुरक्षाकर्मी परिचालन गरिरहनेछौँ।”

गृह मन्त्रीका अनुसार हाल करिब ५,००० आप्रवासीहरू सेउटामा बाँकी छन्। अधिकारीहरूले वयस्कहरूको छानबिन सुरु गरिसकेका छन् र ५०० भन्दा बढी शरणार्थी आवेदनहरूमध्ये धेरैजसो अस्वीकृत भइसकेका छन्। गैरकानुनी रूपमा प्रवेश गर्नेहरूलाई सेउटामा बस्न, स्पेनको मुख्य भूमिमा जान वा कानुनी मान्यता पाउन नदिइने र अधिकार नभएकाहरूलाई मोरक्को नै फिर्ता पठाइने मन्त्रीले स्पष्ट पारे।

मोरक्को सरकारले अगस्ट १५ मा सामूहिक रूपमा सीमा पार गर्न प्रोत्साहन गर्ने अज्ञात सामाजिक सञ्जालका गतिविधिहरूमाथि निगरानी भइरहेको र यस्ता कार्यमा संलग्न आयोजक तथा सहभागीहरूलाई कारबाही गरिने चेतावनी दिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सेउटा र अर्को क्षेत्र मेलिलाको सीमा नजिकै नयाँ काँडेतार लगाइनुका साथै सुरक्षा व्यवस्था कडा पारिएको छ। क्यासाब्लान्का, फेज र केनित्रा जस्ता सहरहरूबाट उत्तरतर्फ जाने ट्रेन र बसहरूमा आप्रवासीहरूलाई चढ्न रोक लगाइएको छ। यद्यपि, केही समूहहरू पहाडी बाटो हुँदै सुरक्षा जाँच पन्छाएर अघि बढिरहेको बताइएको छ।

जुलाई ३० मा प्रवेश गरेका केही युवाहरूले अरूलाई यस्तो जोखिम नलिन आग्रह गरेका छन्। ५ घण्टा पौरेर सेउटा पुगेका २२ वर्षीय ड्रिस सादिक भन्छन्, “मेरो सल्लाह छ-अहिले सीमा पार गर्ने गल्ती नगर्नूस्। यहाँ आएर दुःख मात्र पाइन्छ।

१७ वर्षीय आदिल जमलिले पनि उस्तै अनुभव सुनाए, भित्र आउनेहरूले केही पाउनेवाला छैनन्। संख्या मात्रै बढ्नेछ, कसैको समाधान हुनेछैन। तर पनि आफ्नो भविष्यका लागि जोखिम लिनुपरेको बाध्यता उनले व्यक्त गरे।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com