न्युयोर्कको डेमोक्रेटिक प्राइमरीमा ट्रम्पका आलोचक ब्राड ल्यान्डरको जित


प्रकाशित मिति : ९ असार २०८३, मंगलबार

(टेसा ब्युरी, CC BY 4.0)

अमेरिकाको न्युयोर्कको डेमोक्रेटिक प्राइमरीमा मेयर जोहारन माम्दानीका सहयोगीले जित हासिल गरेका छन्।

न्युयोर्कमा अमेरिकी संसद सदस्य ड्यान गोल्डम्यान ट्रम्पका आलोचक ब्राड ल्यान्डरसँग डेमोक्रेटिक प्राइमरीमा पराजित भएका हुन्। विजयी बनेका ल्यान्डर इजरायल–गाजा युद्धका सन्दर्भमा राष्ट्रपति डोनाल्ड ट्रम्पका कडा आलोचक हुन्। साथै उनी मेयर जोहरान माम्दानीका निकट मानिन्छन्।

न्युयोर्कको १०औँ कंग्रेसनल डिस्ट्रिक्टमा भएको डेमोक्रेटिक पार्टीको प्राथमिक निर्वाचनमा ब्राड ल्यान्डरले दुई कार्यकालदेखि निर्वाचित हुँदै आएका ड्यान गोल्डम्यानलाई पराजित गरेका छन्। यस निर्वाचनले इजरायल–गाजा युद्धका विषयमा न्युयोर्कभित्र रहेको गहिरो राजनीतिक विभाजनलाई पनि उजागर गरेको छ।

माम्दानीको समर्थन प्राप्त ल्यान्डरले गाजामा इजरायलले “नरसंहार” गरिरहेको आरोप लगाउँदै आएका छन्। अर्कोतर्फ, गोल्डम्यानलाई इजरायल समर्थक विभिन्न समूहहरूको समर्थन प्राप्त थियो।

निर्वाचनमा माम्दानीले समर्थन गरेका कम्तीमा एक जना अन्य उम्मेदवारले पनि प्राइमरी निर्वाचन जितेका छन्। यसले डेमोक्रेटिक पार्टीभित्रको समाजवादी र मध्यमार्गी धारबीचको राजनीतिक प्रतिस्पर्धा थप तीव्र बन्दै गएको सङ्केत गरेको छ।

न्युयोर्क राज्य सभाकी सदस्य क्लेयर भाल्डेजले ७औँ डिस्ट्रिक्टको प्राइमरी निर्वाचनमा ब्रुकलिन बरो अध्यक्ष एन्टोनियो रेनोसोलाई पराजित गरिन्। भाल्डेज पनि माम्दानी समर्थित उम्मेदवार हुन्। माम्दानीकी अर्की सहयोगी डारियालिजा एभिला चेभालियर १३औँ जिल्लाको निर्वाचनमा कडा प्रतिस्पर्धामा रहेकी छन्।

विश्लेषकहरूका अनुसार यी नतिजाहरूले डेमोक्रेटिक पार्टीभित्र समाजवादी विचारधाराको प्रभाव बढ्दै गएको सङ्केत गरेका छन्। हालसालै प्राप्त भइरहेका निर्वाचन परिणामहरूले यसको नेतृत्व माम्दानीजस्ता प्रगतिशील नेताहरूले गरिरहेको देखाएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com