विश्वकप फुटबल: उत्कृष्ट पुनरागमन जित निकाल्दै जर्मनी नकआउट चरणमा


प्रकाशित मिति : ६ असार २०८३, शनिबार

फोटो: सिन्ह्वा/रासस

फिफा विश्वकप २०२६ अन्तर्गत भएको खेलमा पुनरागमन जित निकाल्दै जर्मनी नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘ई’ को खेलमा आइभोरी कोस्टलाई २-१ गोल अन्तरले पराजित गर्दै जर्मनी नकआउट चरणमा पुगेको हो।

एक गोलले पछाडि परेको स्थितिलाई उल्ट्याउँदै क्यानडाको टोरन्टोमा जर्मनीले उत्कृष्ट पुनरागमन गर्‍यो। दोस्रो हाफमा मैदान प्रवेश गरेका डेनिस उन्डाभले दुई गोल गरेपछि जर्मनीले आइभोरी कोस्टविरुद्ध २-१ को पुनरागमन जित हात पारेको हो।

खेलको ३० औँ मिनेटमा फ्रान्क केसिईले गोल गर्दै आइभोरी कोस्टलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, दोस्रो हाफमा मैदान छिरेका उन्डाभले उत्कृष्ट प्रदर्शन गरे। समूह ‘ई’ अन्तर्गत भएको खेलको इन्जुरी समयमा उनले निर्णायक गोल गरेका थिए।

यसअघि आइभोरी कोस्टले पहिलो खेलमा इक्वेडरमाथि १–० को जित निकालेको थियो भने जर्मनीले कुरासाओलाई ७–१ ले पराजित गरेको थियो। लगातार दोस्रो जितपछि जर्मनी एक खेल अगावै नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ। जर्मनीले दुई खेलबाट ६ अंक जोड्दै समूह ‘ई’ को शीर्ष स्थान ओगटेको छ।

सन् २०१४ मा ब्राजिलमा विश्वकप उपाधि जितेपछि जर्मनी पहिलो पटक विश्वकपको नकआउट चरणमा पुगेको हो। पहिलो हार बेहोरेको आइभोरी कोस्ट ३ अंकसहित दोस्रो स्थानमा छ। अब जर्मनीले आफ्नो अन्तिम खेल इक्वेडरसँग खेल्नेछ भने आइभोरी कोस्टले कुरासाओको सामना गर्नेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com