अमेरिका र इटालीको सम्बन्धमा नयाँ तनाव, विदेशमन्त्रीद्वारा अमेरिका भ्रमण रद्द


प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार

Giorgia Meloni . Photo: AP /Andrew Medichini

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणीपछि अमेरिका–इटाली सम्बन्धमा नयाँ तनाव उत्पन्न भएको छ। ट्रम्पले इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीबारे गरेको टिप्पणीले दुई देशबीच नयाँ कूटनीतिक विवाद सिर्जना गरेको हो।

इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले ट्रम्पको भनाइलाई “अपमानजनक” भन्दै आगामी साताका लागि तय गरिएको आफ्नो अमेरिका भ्रमण रद्द गरेका छन्। उनी अमेरिकामा विदेशमन्त्री मार्को रुबियोसँग भेटवार्ता गर्न तथा इटाली–अमेरिका व्यापार, लगानी, विज्ञान तथा नवप्रवर्तन मञ्चमा सहभागी हुन जाने कार्यक्रम थियो।

ट्रम्पले इटालीको टेलिभिजन च्यानल ‘ला–७’ लाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री मेलोनीले जी–७ शिखर सम्मेलनका क्रममा आफूसँग तस्बिर खिच्न “बिन्ती” गरेको दाबी गरेका थिए। ट्रम्पका अनुसार, “उनले मसँग तस्बिर खिच्न यति धेरै चाहन्थिन् कि म अस्वीकार गर्न सक्थेँ, तर मलाई उनको दया लाग्यो र मैले तस्बिर खिचिदिएँ।”

तर प्रधानमन्त्री मेलोनीले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा भिडियो सन्देश जारी गर्दै ट्रम्पको दाबीलाई पूर्ण रूपमा झुटो र मनगढन्ते बताएकी छन्। मेलोनीले भनिन्, “डोनाल्ड ट्रम्पका भनाइ पूर्ण रूपमा बनावटी छन्। म वास्तवमै स्तब्ध छु।

अमेरिकाका राष्ट्रपतिले आफ्नै सहयोगी राष्ट्रप्रति किन यस्तो व्यवहार गर्छन् भन्ने मलाई थाहा छैन, र यो पहिलो पटक पनि होइन।” उनले स्पष्ट शब्दमा भनिन्, “एउटा कुरा सम्झनुपर्छ  इटाली र म कहिल्यै कसैसँग बिन्ती गर्दैनौँ।”

यस घटनापछि अमेरिका–इटाली सम्बन्धमा थप चिसोपन आएको विश्लेषकहरूले बताएका छन्। फ्रान्समा सम्पन्न जी–७ शिखर सम्मेलनपछि दुई देशबीचको सम्बन्ध सुधारतर्फ उन्मुख देखिए पनि ट्रम्पको पछिल्लो टिप्पणीले फेरि तनाव बढाएको छ।

ट्रम्पले मेलोनीप्रति आफ्नो आलोचना दोहोर्‍याएका छन्। उनले इरानसँगको तनाव/युद्धका क्रममा इटाली तथा नेटो समूहले पर्याप्त समर्थन नगरेको आरोप लगाएका छन्।

यो ट्रम्प र मेलोनीबीचको पहिलो विवाद भने होइन। यसअघि पनि मेलोनीले इरानविरुद्धको युद्धको विरोध गर्ने पोप लियो चौधौँमाथि ट्रम्पले गरेको आलोचनालाई “अस्वीकार्य” भनेकी थिइन्। त्यसपछि ट्रम्पले इटालीले अमेरिकालाई पर्याप्त सहयोग नगरेको भन्दै आलोचना गरेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यद्यपि, मेलोनीलाई लामो समयसम्म पश्चिमी युरोपमा ट्रम्पका सबैभन्दा निकट सहयोगी नेताका रूपमा हेरिँदै आएको थियो। ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछि उनीमाथि ट्रम्प र उनका सल्लाहकारहरूको विशेष ध्यान गएको थियो।

दुवै नेताबीच कडा आप्रवासन नीति, राष्ट्रिय सार्वभौमिकता तथा रूढिवादी राजनीतिक मुद्दाहरूमा समान धारणा देखिँदै आएको छ। विगतमा ट्रम्पले अन्य युरोपेली नेताहरूको आलोचना गर्ने गरे पनि मेलोनीको सार्वजनिक रूपमा प्रशंसा गर्ने गरेका थिए।

तर इरान युद्धमा इटालीले सहभागिता जनाउन अस्वीकार गरेपछि दुई नेताबीचको सम्बन्धमा दरार आउन थालेको विश्लेषण गरिएको छ। मेलोनी ट्रम्पको दोस्रो शपथग्रहण समारोहमा सहभागी हुने एक मात्र युरोपेली नेता हुन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com