रसायन चुहावटका कारण अमेरिकामा ४० हजार नागरिक सुरक्षित स्थानमा सारियो


प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार

California

फोटो : पल हानाओका / अन्स्प्ल्यास

अमेरिकामा एउटा रासायनिक ट्याङ्कीबाट विषाक्त रसायन चुहिन थालेपछि ४० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

साउथ क्यालिफोर्नियास्थित गार्डेन ग्रोभ क्षेत्रमा रहेको एक उद्योगमा करिब ७ हजार ग्यालन ‘मिथाइल मेथाक्रिलेट’ नामक अत्यन्त ज्वलनशील तथा अस्थिर रसायन रहेको बताइएको छ। यो रसायन प्लास्टिक उत्पादनमा प्रयोग गरिन्छ।

अरेन्ज कन्ट्री फायर अथोरिटी (ओसीएफए) ले ट्याङ्कीको तापक्रम अस्वाभाविक रूपमा बढेको जानकारी पाएपछि उद्योग वरपरको क्षेत्रमा तत्काल उद्धार तथा बस्ती खाली गराउने आदेश जारी गरेको थियो। पछि जोखिम बढ्दै गएपछि खाली गराइएको क्षेत्र थप विस्तार गरिएको छ।

अधिकारीहरूका अनुसार उद्योगमा रहेका तीनवटा ट्याङ्कीमध्ये एउटाको कूलिङ (शितलीकरण) प्रणाली बिग्रिएको छ। जसका कारण रसायन चुहावट भएको हुन सक्ने अनुमान गरिएको छ।

ओसीएफएका प्रमुख क्रेग कोभीले दुईवटा सम्भावित जोखिमबारे चेतावनी दिएका छन्। उनका अनुसार पहिलो जोखिम भनेको ट्याङ्की फुटेर अत्यन्त खतरनाक रसायन आसपासको क्षेत्रमा फैलिनु हो।

दोस्रो जोखिम भनेको ट्याङ्की अत्यधिक तापका कारण विस्फोट हुनु हो, जसले वरपर रहेका इन्धन तथा अन्य रसायनयुक्त ट्याङ्कीमा समेत गम्भीर असर पार्न सक्छ।

उनले भने, “यो केवल सावधानी मात्र होइन। यो ट्याङ्की कुनै पनि बेला पड्किन वा असफल हुन सक्छ, तर कहिले हुन्छ भन्ने निश्चित छैन। हामी त्यसलाई कसरी रोक्न सकिन्छ भन्ने प्रयासमा छौँ।”

हाल विशेषज्ञसहितको खतरनाक पदार्थ नियन्त्रण टोली प्रभावित ट्याङ्कीको दबाब कम गर्ने तथा रसायनको प्रभाव सीमित गर्ने प्रयासमा जुटेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दमकल विभागले जोखिम पूर्ण रूपमा नियन्त्रणमा नआएसम्म उद्धार तथा क्षेत्र खाली गराउने आदेश जारी रहने जनाएको छ। यद्यपि, अधिकारीहरूका अनुसार प्रभावित ट्याङ्कीको तापक्रम थप बढ्न नदिन भने केही सफलता प्राप्त भएको छ।

ओसीएफएले प्रभावित नागरिकका लागि अस्थायी उद्धार केन्द्र स्थापना गर्नुका साथै जानकारी उपलब्ध गराउन हटलाइन सेवासमेत सञ्चालनमा ल्याएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com