७५ बिलियन डलर उठाउने लक्ष्यसहित इतिहासकै ठूलो आईपीओ ल्याउने स्पेसएक्सको तयारी


प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहिबार

अमेरिकी अर्बपति उद्यमी एलन मस्कको स्वामित्वमा रहेको स्पेसएक्सले इतिहासकै सबैभन्दा ठूलो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने तयारी गरेको छ। अन्तरिक्ष, कृत्रिम बुद्धिमत्ता (एआई) र स्याटेलाइट प्रविधिमा ठूलो लगानी विस्तार गर्ने योजनासहित कम्पनीले बुधबार आईपीओका लागि आवेदन दर्ता गरेको हो।

यो कदम कम्पनीले गत महिना अमेरिकी धितोेपत्र तथा विनिमय आयोगमा गोप्य रूपमा आईपीओ आवेदन दर्ता गरेपछि आएको हो। कम्पनीले उठाउन खोजेको रकम सार्वजनिक गरेको छैन। तर विभिन्न पूर्वानुमानअनुसार स्पेसएक्सले ७५ बिलियन डलरसम्म पूँजी संकलन गर्न सक्ने बताइएको छ।

यदि यो अनुमान सही ठहरियो भने स्पेसएक्सको आईपीओ विश्व इतिहासकै सबैभन्दा ठूलो बन्न सक्छ। हालसम्म यो कीर्तिमान साउदी अराम्कोको नाममा छ। साउदी अरेबियाको सरकारी तेल तथा ग्यास कम्पनी अराम्कोले सन् २०१९ मा आईपीओमार्फत २५ दशमलव ६ बिलियन डलर उठाएको थियो।

स्पेसएक्सले धितोपत्र फाइलिङमा आफ्नो शेयर कारोबार नास्डाक कम्पोजिट एक्सचेन्जमा ‘एसपीसीएक्स’ टिकर संकेतअन्तर्गत हुने जनाएको छ।

सन् २००२ मा मस्कले स्थापना गरेको स्पेसएक्स सुरुआतमा अन्तरिक्ष यान विकास र प्रक्षेपणमा केन्द्रित थियो। तर पछिल्ला वर्षहरूमा कम्पनीले आफ्नो व्यवसायिक दायरा तीव्र रूपमा विस्तार गरेको छ। कम्पनीसँग मस्कको एआई कम्पनी एक्सएआई र स्याटेलाइट इन्टरनेट सेवा कम्पनी स्टारलिङ्क पनि आबद्ध छन्।

कम्पनीको फाइलिङअनुसार गत वर्ष १८ दशमलव ७ बिलियन डलर आम्दानी गर्दा सञ्चालनतर्फ २ दशमलव ६ बिलियन डलर घाटा व्यहोरेको थियो। यद्यपि, सन् २०२६ को पहिलो तीन महिनामै कम्पनीले करिब ४ दशमलव ७ बिलियन डलर राजस्व आर्जन गरिसकेको जनाएको छ।

स्पेसएक्सको अन्तरिक्षसम्बन्धी अधिकांश आम्दानी व्यावसायिक तथा सरकारी ग्राहकका लागि सञ्चालन हुने रकेट सेवा र अन्तरिक्ष यान कार्यक्रमबाट आउने गरेको छ। कम्पनीले विशेष गरी फाल्कन ९, फाल्कन हेभी र ड्र्यागन रकेट तथा अन्तरिक्ष यानमार्फत व्यवसाय विस्तार गरिरहेको छ।

कम्पनीले भविष्यमा एआई पूर्वाधार निर्माणमा अन्तरिक्षलाई प्रयोग गर्ने महत्वाकांक्षी योजना पनि सार्वजनिक गरेको छ। पुनः प्रयोग गर्न सकिने रकेट, ठूलो मात्रामा स्याटेलाइट उत्पादन क्षमता र सञ्चालन अनुभवका आधारमा लाखौँ स्याटेलाइट समेट्ने एआई कम्प्युटिङ नेटवर्क निर्माण सम्भव हुने कम्पनीले विश्वास गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्पेसएक्सले आफ्ना सेवा र उत्पादनका लागि विश्व बजारमा २८ ट्रिलियन डलरभन्दा बढी सम्भावना देखेको छ। कम्पनीका अनुसार अन्तरिक्ष परियोजनाबाट ३७० बिलियन डलर, ब्रडब्यान्ड सेवाबाट १.६ ट्रिलियन डलर, एआई सेवाबाट २६.५ ट्रिलियन डलर, उद्यम प्रविधिबाट झन्डै २३ ट्रिलियन डलर तथा डिजिटल विज्ञापनबाट ६०० बिलियन डलरको सम्भावित बजार रहेको छ।

कम्पनीको आईपीओ विवरणपत्रले स्पेसएक्सको अझ ठूलो दीर्घकालीन लक्ष्य पनि उजागर गरेको छ, जुन अन्तरिक्षमा मानव बस्तीको स्थापना हो ।

फाइलिङमा कम्पनीले भनेको छ, “हाम्रो उद्देश्य बहुग्रहीय जीवन सम्भव बनाउने प्रणाली र प्रविधिको विकास गर्नु, ब्रह्माण्डको वास्तविक स्वरूप बुझ्नु र चेतनाको प्रकाश तारासम्म विस्तार गर्नु हो।”

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com