ब्याजदर वृद्धिको मारमा अमेरिकी आवास बजार: खरिद र रिफाइनान्स आवेदन दुवैमा गिरावट
३० वर्षे स्थिर घरकर्जाको औसत ब्याजदर बढेर ७.३५ प्रतिशत पुगेसँगै अमेरिकामा कुल घरकर्जा आवेदन २.३ प्रतिशतले घटेको छ। निरन्तरको मुद्रास्फीति र फेडरल रिजर्भले थप ब्याजदर बढाउन सक्ने संकेत गरेपछि नयाँ घर खरिद तथा पुनर्वित्त दुवैतर्फको माग खुम्चिएको हो
Photo: Kurt Hänel/ Unsplash
ब्याजदर करिब एक महिनासम्म घट्दा सुधारोन्मुख देखिएको घरकर्जाको मागमा गत साता अचानक ब्रेक लागेको छ। घरकर्जा ब्याजदरमा तीव्र वृद्धि भएसँगै अघिल्लो साताको तुलनामा कुल घरकर्जा आवेदनको संख्या २.३ प्रतिशतले घटेको मोर्गेज बैंकर्स एसोसिएसनको मौसमी समायोजित सूचकांकले देखाएको छ।
२० प्रतिशत डाउन पेमेन्ट र ८ लाख ३२ हजार ७५० डलर वा सोभन्दा कमको कन्फर्मिङ ऋण सीमा भएको ३० वर्षे स्थिर ब्याजदरको घरकर्जामा औसत सम्झौता ब्याजदर गत साता ७.२१ प्रतिशतबाट बढेर ७.३५ प्रतिशत पुगेको छ। यो पछिल्लो तीन सातायताकै उच्च दर हो।
एमबीएका उपाध्यक्ष तथा उप-प्रमुख अर्थशास्त्री जोएल कानका अनुसार अक्टोबरमा मुद्रास्फीति बढेको तथ्यांक सार्वजनिक हुनु र फेडरल रिजर्भका अधिकारीहरूले आगामी महिनाहरूमा थप ब्याजदर वृद्धि आवश्यक पर्न सक्ने संकेत गर्नुले ट्रेजरी प्रतिफल बढाएको हो।
घरकर्जा रिफाइनान्सका लागि पर्ने आवेदन सातामा २ प्रतिशतले घटेको छ, जुन एक वर्षअघिको सोही साताको तुलनामा ५४ प्रतिशतले कम हो। समग्र रिफाइनान्स गतिविधि घटे पनि संघीय आवास प्रशासन अन्तर्गतका रिफाइनान्स आवेदन भने करिब ७ प्रतिशतले बढेका छन्। एफएचएले कम डाउन पेमेन्ट र तुलनात्मक रूपमा कम ब्याजदरमा सरकारी ऋण उपलब्ध गराउने गर्छ, यद्यपि यसमा ऋणीले घरकर्जा बीमा शुल्क तिर्नुपर्ने हुन्छ।
कन्फर्मिङ दरभन्दा एफएचए दर करिब ३० आधार विन्दुले कम रहेकाले केही घरधनीहरूलाई रिफाइनान्सको अवसर मिलेको कानले उल्लेख गरेका छन्।
यसैगरी, नयाँ घर खरिदका लागि घरकर्जा माग गर्दै परेका आवेदन सातामा ३ प्रतिशतले घटेका छन् भने अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले कम छन्। निरन्तरको मुद्रास्फीतिका कारण समग्र अर्थतन्त्रप्रतिको कमजोर विश्वास र खरिद क्षमताको चुनौतीले सम्भावित घर खरिदकर्ताहरू प्रभावित भएका छन्।
मोर्गेज न्युज डेलीको छुट्टै सर्वेक्षणअनुसार यो साताको सुरुवातमा घरकर्जा ब्याजदरमा खासै परिवर्तन देखिएको छैन र दर स्थिर जस्तै रहेको छ। यस साता अमेरिकी जनगणना ब्युरोको मासिक आवास निर्माण सुरुवात तथा भवन अनुमति प्रतिवेदन र नेसनल एसोसिएसन अफ रियाल्टर्सको मासिक पेन्डिङ होम सेल्स सूचकांक लगायतका थप आवास तथ्यांकहरू सार्वजनिक हुँदैछन्।





