‘ट्रम्प प्रभाव’ र बढ्दो भू-राजनीतिक दबाब: सेना बलियो बनाउँदै क्यानडा
प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार
क्यानडाले सेनाको संख्या बढाउन थालेको छ। हाल क्यानडामा नयाँ सैन्य भर्ती विगत ३० वर्षकै उच्च दरमा भइरहेको देखिएको छ।
यस वृद्धिले लामो समयदेखि क्यानडामा कायम रहेको सैनिक जनशक्तिको अभावलाई सम्बोधन गर्ने संकेत दिएको छ। पछिल्ला दुई वर्षमा देखिएको यो वृद्धि विश्वभर बढ्दो युद्ध र भू-राजनीतिक अस्थिरतासँग जोडिएको छ।
साथै, क्यानडाले नेटो प्रतिको आफ्नो दायित्व पूरा गर्न अर्बौँ डलर बराबरको नयाँ रक्षा बजेट घोषणा गरेपछि सेनाप्रति सर्वसाधारणको चासो पनि बढेको छ। दशकौँसम्म क्यानडा रक्षा खर्चका मामिलामा विश्वकै कमजोर देशहरूमध्ये गनिन्थ्यो। क्यानडाका पूर्व रक्षा मन्त्रीले त सेना “मृत्युको चक्र” मा पुगेको चेतावनी समेत दिएका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई “अमेरिकाको ५१ औँ राज्य” भनी टिप्पणी गरेपछि क्यानडामा राष्ट्रवादको भावना असामान्य रूपमा बढेको बताइएको छ। धेरै क्यानडेलीहरूले यसलाई आफ्नो सार्वभौमिकतामाथिको चुनौतीका रूपमा लिएका छन्।
अमेरिकी संसदका सभामुख माइक जोन्सनले सन् २०२४ मा क्यानडालाई “अमेरिकाको भरमा चल्ने देश” भनेका थिए। ट्रम्पले पनि गत वर्ष क्यानडालाई नेटोको “कम खर्च गर्ने सदस्य” भन्दै आलोचना गरेका थिए।
क्यानडियन ग्लोबल अफेयर्स इन्स्टिच्युटका अनुसन्धानकर्ता शार्लोट डुभाल–लान्तोइनका अनुसार सैन्य भर्ती बढ्नुमा केही हदसम्म “ट्रम्प प्रभाव” जिम्मेवार छ।
यद्यपि, सन् २०२२ मा रूसले युक्रेनमाथि आक्रमण गरेपछि नै आवेदन दिनेहरूको संख्या बढ्न थालेको उनको भनाइ छ। जब मानिसहरूले संसार सुरक्षित छैन र आफ्नो देश जोखिममा पर्न सक्छ भन्ने महसुस गर्छन्, तब सेनामा भर्ती हुने चाहना बढ्ने गरेको उनले बताइन्।
क्यानडामा युवा बेरोजगारी दर मार्च महिनामा करिब १४ प्रतिशत पुगेको थियो। प्रधानमन्त्री मार्क कार्नीले सैनिकहरूको तलब दशकौँयताकै उच्च दरमा बढाउने घोषणा गरेपछि रोजगारीको सुरक्षा र आकर्षक आम्दानीले पनि युवाहरूलाई सेनातर्फ आकर्षित गरेको विश्लेषकहरू बताउँछन्।
कार्नी सरकार सत्तामा आएपछि सेनाको आधुनिकीकरण र विस्तारलाई प्राथमिकता दिइएको छ। मार्चमा उनले क्यानडाले सन् १९८० पछिकै पहिलोपटक आफ्नो कुल गार्हस्थ उत्पादनको २ प्रतिशत रक्षा क्षेत्रमा खर्च गर्ने नेटोको लक्ष्य पूरा गरेको घोषणा गरेका थिए। यो रकम एक वर्षमा ६३ बिलियन क्यानडियन डलरभन्दा बढी हुने बताइएको छ।
क्यानडाले सैनिकहरूको तलब वृद्धि गर्नुका साथै नयाँ हतियार खरिद, सैन्य अड्डाको स्तरोन्नति र आर्कटिक क्षेत्रमा नयाँ पूर्वाधार निर्माणमा लगानी गर्ने योजना बनाएको छ। हाल क्यानडाले आफ्नो स्थायी सैन्य जनशक्ति ८५,५०० पुर्याउने तथा ३ लाखसम्म जगेडा सैनिक तयार गर्ने लक्ष्य राखेको छ।





