यमनका नागरिकको टीपीएस समाप्त गर्ने ट्रम्प प्रशासनको योजना अदालतद्वारा रोक, २८०० बढीलाई राहत


प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार

अमेरिकामा बसोबास गरिरहेका २८ सय बढी यमनका नागरिकलाई दिइँदै आएको अस्थायी कानुनी सुरक्षा (टेम्पोररी प्रोटेक्टेड स्टाटस–टीपीएस) समाप्त गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको योजना संघीय अदालतले तत्कालका लागि रोकेको छ।

म्यानहट्टनस्थित अमेरिकी जिल्ला अदालतका न्यायाधीश डेल होले शुक्रबार आदेश जारी गर्दै आगामी हप्तादेखि लागू हुने गरी टीपीर्एस समाप्त गर्ने सरकारी निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका हुन्। यो आदेश यमनका नागरिकहरूको एक समूहले अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस)विरुद्ध दायर गरेको मुद्दाको सुनुवाइका क्रममा जारी गरिएको हो। डिएचएसले सोमबारदेखि टीपीएस खारेज गर्ने निर्णय गरेको थियो।

संघीय कानुनअनुसार टीपीएस त्यस्ता देशका नागरिकलाई प्रदान गरिन्छ, जहाँ प्राकृतिक प्रकोप, सशस्त्र द्वन्द्व वा अन्य असाधारण अवस्था विद्यमान हुन्छ। टीपीएस पाएका आप्रवासीहरूले अमेरिकामा अस्थायी रूपमा बस्न, काम गर्न र निर्वासनबाट जोगिन पाउँछन्।

न्यायाधीश होको आदेश अमेरिकी सर्वोच्च अदालतले यस्तै प्रकृतिका अन्य मुद्दामा सुनुवाइ थालेको दुई दिनपछि आएको हो। सर्वोच्च अदालतमा ट्रम्प प्रशासनले हैटीका ३ लाख ५० हजारभन्दा बढी र सिरियाका ६ हजार १ सय नागरिकको टीपीएस समाप्त गर्न पाउनुपर्ने माग गर्दै अपिल गरेको छ, जसलाई तल्लो अदालतहरूले रोकेका थिए।

पूर्व राष्ट्रपति जो बाइडेनद्वारा नियुक्त न्यायाधीश होले सामान्य अवस्थामा सर्वोच्च अदालतको मार्गदर्शन पर्खने भए पनि “हालको परिस्थितिको गम्भीरता” का कारण तत्काल निर्णय लिनु आवश्यक भएको बताएका छन्।

निर्णयमा उनले यमनका टीपीएस धारकहरूलाई कानुन पालना गर्ने नागरिक भएको उल्लेख गर्दै करिब एक दशकदेखि गृहयुद्धले प्रभावित देशमा फर्कनु उनीहरूका लागि जोखिमपूर्ण हुने बताएका छन्। “यमन लामो समयदेखि गृहयुद्धले तहसनहस भएको देश हो,” उनले उल्लेख गरेका छन्।

टीपीएसको अवधि समय–समयमा पुनरावलोकन हुने भए पनि तत्कालीन डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी सेक्रेटरी क्रिस्टी नोएमले यमनका लागि टीपीएस अन्त्य गर्नु अघि आवश्यक सरकारी निकायहरूसँग कानुनी रूपमा परामर्श नगरेको अदालतले ठहर गरेको छ। “कंग्रेसले यस्ता पुनरावलोकनका लागि स्पष्ट प्रक्रिया तोकेको छ, जसको पालना यहाँ गरिएको छैन,” निर्णयमा भनिएको छ।

यता डिएचएसका प्रवक्ताले भने यमनी नागरिकलाई अमेरिकामा बस्न दिनु राष्ट्रिय हितअनुकूल नभएको प्रतिक्रिया दिएका छन्। “अस्थायी सुविधा स्थायी बन्न सक्दैन, अन्तिम निर्णय अदालतले होइन, नीतिगत तहले गर्छ,” उनले बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्प प्रशासनले आफ्नो कडा आप्रवासन नीतिअन्तर्गत १३ देशका लागि टीपीएस समाप्त गर्ने प्रयास गरिरहेको छ। तर, विभिन्न अदालतका आदेशहरूले बारम्बार ती प्रयासहरू अवरुद्ध हुँदै आएका छन्।

हाल करिब २,८१० यमनी नागरिक टीपीएसअन्तर्गत अमेरिकामा बसिरहेका छन् भने थप ४२५ जनाको आवेदन विचाराधीन छ।

यसअघि सन् २०१५ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाको प्रशासनले अमेरिकामा रहेका यमनका नागरिकलाई पहिलोपटक टीपीएस प्रदान गरेको थियो। त्यसयता डिएचएसले पटक–पटक टीपीएसको अवधि थप्दै आएको थियो। तर, यस वर्ष फेब्रुअरीमा डिएचएसले यमनका लागि टीपीएस समाप्त गर्ने निर्णय सार्वजनिक गरेको थियो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com