अमेरिकामा ३ नेपाली सम्पर्कविहीन, दूतावास र परिवारद्वारा सहयोगको अपिल
प्रकाशित मिति : १७ बैशाख २०८३, बिहिबार
अमेरिकास्थित नेपाली दूतावासले अमेरिकामा बेपत्ता भएका दुई नेपाली नागरिकको खोजीका लागि सहयोग गर्न सार्वजनिक अपिल गरेको छ भने छुट्टै रूपमा अर्को एक परिवारले पनि एक व्यक्तिलाई खोज्न आपतकालीन आग्रह गरेको छ।
वाशिङ्टन डी.सी.स्थित नेपाली दूतावासले जारी गरेको सूचनामा बेपत्ता व्यक्तिहरूका आफन्तबाट प्राप्त जानकारीका आधारमा सम्बन्धित क्षेत्रका प्रहरी निकायसँग समन्वय भइरहेको जनाउँदै खोजी कार्यमा सहयोग गर्न अमेरिकामा रहेका नेपाली संघसंस्था तथा समुदायलाई आग्रह गरिएको छ।
दूतावासका अनुसार २९ वर्षीय पवन गैरे मार्च २०२६ देखि नेब्रास्काबाट फ्लोरिडा यात्रा गर्ने क्रममा सम्पर्कविहीन भएका छन्। उनले मे २०२५ मा युनिभर्सिटी अफ नेब्रास्का–लिन्कनबाट इलेक्ट्रिकल इन्जिनियरिङमा पीएचडी पूरा गरेका थिए। उनको गाडी मार्च २७, २०२६ मा फ्लोरिडाको पेन्साकोला बीचमा फेला परेको थियो।
उनको खोजीमा नेब्रास्का प्रहरी सक्रिय रहेको दूतावासले जनाएको छ। सम्बन्धित जानकारी भएमा लिन्कन प्रहरीको फोन नम्बर ४०२-४११-६००० वा नेब्रास्का मिसिङ पर्सन्स क्लियरिङहाउसको १-८७७-४४१-५६७८ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।
यसैगरी २६ वर्षीय विकास न्यौपाने टेक्सासको आर्लिङ्टन क्षेत्रमा अन्तिम पटक देखिएका थिए। उनी अगस्ट ४, २०२१ देखि युनिभर्सिटी अफ टेक्सास एट आर्लिङ्टनमा अध्ययनरत थिए र करिब दुई वर्षदेखि परिवारसँग सम्पर्कविहीन छन्।
उनका परिवारसँग सम्पर्क गर्न ९८२८५५४३३१ (आमा) र ९८४१९६०२९० (दिदी) नम्बरमा वा [email protected] मा इमेल गर्न सकिनेछ।
यसैबीच, केशव कार्कीका परिवारले न्यूयोर्क क्षेत्रमा रहेका उनलाई तत्काल खोज्न अत्यन्तै आपतकालीन अपिल गरेका छन्। परिवारका अनुसार उनकी आमा गम्भीर अवस्थामा आईसीयूमा उपचाररत रहेकाले तुरुन्त सम्पर्क आवश्यक भएको छ।
परिवारले केशव कार्कीसँग सम्पर्क हराएको जनाउँदै उनको अवस्थाबारे जानकारी हुने व्यक्तिलाई +९७७-९८६२६७५२१३ (व्हाट्सएप) मा सम्पर्क गर्न आग्रह गरेको छ।
दूतावासले पनि सम्बन्धित जानकारी भएमा २०२-७७४-४७८० वा २०२-४८०-६८५८ नम्बरमा, वा [email protected] तथा [email protected] मा सम्पर्क गर्न अनुरोध गरेको छ।





