अमेरिकाको विस्कन्सिनमा लाइम रोगको उच्च जोखिम,स्वास्थ्य विज्ञहरूद्वारा सतर्क रहन चेतावनी
प्रकाशित मिति : १७ बैशाख २०८३, बिहिबार
अमेरिकाको विस्कन्सिन राज्यमा यस वर्ष लाइम रोगको जोखिम बढ्ने भन्दै स्वास्थ्य विज्ञहरूले चेतावनी दिएका छन्। टिक (एक प्रकारको सानो किरा) को गतिविधि अप्रिल महिनामै गत वर्षभन्दा बढी देखिएपछि स्वास्थ्य अधिकारीहरूले यो चेतावनी जारी गरेका हुन्।
लाइम रोग ‘टिक’ बाट सर्ने एक प्रकारको संक्रमण हो, जसले मानिसको शरीरमा ब्याक्टेरिया प्रवेश गराई रोग निम्त्याउँछ। यो रोग प्रायः जङ्गल, घाँसे मैदान वा झाडी भएको ठाउँमा टिकले टोकेपछि सर्ने गर्दछ।
लाइम रोग समयमै पहिचान र उपचार गरेमा निको हुन्छ, तर बेवास्ता गरेमा यसले गम्भीर समस्या निम्त्याउन सक्छ। यदि समयमै उपचार भएन भने जोर्नी सुन्निने, दीर्घकालीन दुखाइ हुने, मुटु र स्नायु प्रणालीमा समस्या आउने तथा अनुहारको पक्षाघात हुने सम्भावना रहने चिकित्सकहरू बताउँछन्।
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार, यस वर्ष देशभरका आपतकालीन कक्षमा टिकको टोकाइका कारण उपचारका लागि आउने बिरामीहरूको संख्या सन् २०१७ यताकै उच्च साप्ताहिक दरमा पुगेको छ।
विस्कन्सिन राज्यको तथ्याङ्कअनुसार अप्रिल १९ सम्म प्रत्येक १०,००० आपतकालीन उपचारमध्ये ४४ वटा टिक टोकाइसँग सम्बन्धित छन्, जुन गत वर्षको तुलनामा करिब दोब्बर हो।
राज्यका सार्वजनिक स्वास्थ्य कीट विज्ञ सिया लीका अनुसार तातो मौसमका कारण विशेषगरी ‘वुड टिक’ सामान्यभन्दा करिब दुई हप्ता अगाडि नै देखिन थालेका छन्। यससँगै पहिलेदेखि सक्रिय ‘डियर टिक’ को संख्या पनि तीव्र रूपमा बढेको छ।
बाल संक्रामक रोग विशेषज्ञ डा. ग्रेग डेमुरीका अनुसार वसन्त ऋतु टिकजन्य रोगका लागि सबैभन्दा जोखिमपूर्ण समय हो। त्यस्तै, बालरोग विशेषज्ञ एन्ड्र्यु लेवान्डोस्कीका अनुसार जलवायु परिवर्तनका कारण चिसो दिन कम हुँदै जाँदा टिक सक्रिय रहने अवधि लम्बिँदै गएको छ।
सन् २०२४ मा विस्कन्सिनमा लाइम रोगका ६,४६९ केस दर्ता भएका थिए, जुन अहिलेसम्मकै उच्च संख्या हो। कीट विज्ञ पीजे लिसका अनुसार करिब २० प्रतिशत किशोर र ४० प्रतिशत वयस्क डियर टिकहरूले लाइम रोगका जीवाणु बोकेका हुन्छन्। यी टिकहरू अहिले जङ्गलबाट बाहिर निस्केर घरआँगनसम्म फैलिन थालेका छन्, जसले मानिस र जनावर दुवैका लागि जोखिम बढाएको छ।
कीट भगाउने औषधि प्रयोग गर्ने,बाहिरबाट फर्किएपछि शरीर, कपडा र घरपालुवा जनावरहरू राम्ररी जाँच गर्ने, टिकले टोकेको शङ्का लागेमा २४ देखि ७२ घण्टाभित्र स्वास्थ्यकर्मीको सल्लाहअनुसार औषधि प्रयोग गर्ने उपायहरू अपनाउन स्वास्थ्य विज्ञहरूले सल्लाह दिएका छन्:
शरीरमा गोलो डाबर देखिनु, जोर्नी दुख्नु वा अनुहार बाङ्गिनु जस्ता लक्षण देखिएमा विशेष सावधानी अपनाउन चिकित्सकहरूले आग्रह गरेका छन्।





