साउथ क्यारोलिना दादुराको प्रकोपमुक्त घोषणा, खोपको कमीले अमेरिकाभर जोखिम बढ्दो
प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार
तस्बिर: बर्मिक्स स्टुडियो / अनस्प्ल्यास
अमेरिकाको साउथ क्यारोलिना राज्यलाई दादुराको प्रकोप मुक्त घोषणा गरिएको छ। सार्वजनिक स्वास्थ्य अधिकारीहरूले सन् १९९१ पछिको अमेरिकाकै सबैभन्दा ठूलो दादुरा प्रकोप समाप्त भएको घोषणा गरेका हुन्।
गत अक्टोबरबाट सुरु भएर करिब छ महिनासम्म चलेको यस प्रकोपमा दक्षिण क्यारोलिनामा ९९७ जना दादुराबाट संक्रमित भएका थिए। संक्रमितमध्ये अधिकांश खोप नलगाएका बालबालिका थिए। कम्तीमा २१ जनालाई जटिलताका कारण अस्पताल भर्ना गर्नुपरेको थियो।
यो प्रकोप मुख्य रूपमा राज्यको उत्तर–पश्चिम क्षेत्रमै सीमित रह्यो। साउथ क्यारोलिना सार्वजनिक स्वास्थ्य विभागका कार्यवाहक निर्देशक डा. एडवर्ड सिमरका अनुसार समयमै अनुसन्धान, सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान र मानिसहरूले घरमै बसेर गरेको सहकार्यका कारण यसलाई फैलिनबाट रोक्न सकिएको हो। उनले यसलाई प्रकोप नियन्त्रणको पाठ्यपुस्तकजस्तै उदाहरण भनेका छन्।
दादुराले निमोनिया र मस्तिष्क सुन्निने जस्ता गम्भीर जटिलता निम्त्याउन सक्छ। विभागकी डा. ब्रानन ट्राक्सलरका अनुसार धेरैजसो संक्रमण हल्का भए पनि केही अवस्थामा यो ज्यानै जान सक्ने वा दीर्घकालीन असर पार्ने खालको थियो।
दादुरा कहिलेकाहीँ प्राणघातक पनि हुन सक्छ। गत वर्ष टेक्सासमा विद्यालय उमेरका दुई बालबालिकासहित तीन जनाको यसै रोगका कारण मृत्यु भएको थियो। दादुराले “इम्युन एम्नेसिया” भन्ने अवस्था पनि ल्याउन सक्छ, जसले शरीरको रोगसँग लड्ने क्षमता कमजोर बनाइदिन्छ। यसले बालबालिकालाई केही वर्षसम्म अन्य संक्रमणको जोखिममा राख्छ। २ वर्षभन्दा कम उमेरमा संक्रमित भएका बालबालिकामा ७ देखि १० वर्षपछि देखा पर्ने घातक स्नायु सम्बन्धी रोगको जोखिम पनि बढी हुन्छ।
साउथ क्यारोलिनामा प्रकोप अन्त्य भए पनि अमेरिकाका अन्य भागहरूमा यस वर्ष २० भन्दा बढी नयाँ प्रकोपहरु देखिएका छन्। टेक्सास, फ्लोरिडा र युटा जस्ता राज्यहरूमा १०० भन्दा बढी केस पुष्टि भएका छन्।
अमेरिकामा दादुराको पुनरागमन हुनुमा खोप दर घट्दै जानु मुख्य कारण मानिएको छ। २०२४–२०२५ शैक्षिक वर्षमा देशभरका ९२.५% किन्डरगार्टनका बालबालिकाले मात्र दादुराको खोप लगाएका छन्, जुन आवश्यक स्तरभन्दा कम हो।
गत वर्ष अमेरिकामा २,२८८ दादुराका केसहरू रिपोर्ट गरिएका थिए, जुन सन् २००० पछिको सबैभन्दा बढी हो। सन् २००० मा अमेरिकाले “दादुरा उन्मूलन” को स्थिति हासिल गरेको थियो। उन्मूलनको अर्थ एक वर्षसम्म लगातार संक्रमण नदेखिनु हो, तर अहिले यो स्थिति जोखिममा परेको छ।





