इरानमाथि एकै दिन ७०१ आक्रमण, स्थल सैनिक पठाउने अमेरिकी तयारी


प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार

अमेरिका र इजरायलले एकै दिन इरानमा ७०१ पटक हमला गरेका छन्। मानव अधिकारवादी समाचार संस्थाले मार्च २८ तारिख बेलुका ५ बजेसम्म इरानभर कम्तीमा ७०१ वटा आक्रमणको अभिलेख राखिएको बताएको छ।

एक महिनाअघि युद्ध सुरु भएयता एकै दिनमा भएको यो आक्रमणको सङ्ख्या हालसम्मकै उच्चमध्ये एक हो। ती आक्रमणमध्ये करिब ७४ प्रतिशत इरानको राजधानी तेहरानमा भएका बताइएको छ। संस्थाले अहिलेसम्मको द्वन्द्वमा १,५५१ जना इरानी सर्वसाधारणको मृत्यु भएको जनाएको छ, जसमा कम्तीमा २३६ जना बालबालिका रहेका छन्।

यसैबीच, अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानमा केही हप्ताभित्र स्थलगत सैन्य कारबाही गर्ने तयारी गरिरहेको छ। रक्षा मन्त्रालयको प्रतिवेदनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थलगत सेना पठाउने योजना स्वीकृत गर्ने वा नगर्ने विषय अझै अनिश्चित रहेको जनाइएको छ।

हाल तयार गरिएका योजनाअनुसार यस्तो कारबाही पूर्ण आक्रमण नभई विशेष सैनिक दस्तासहित सामान्य पैदल सेनाको संयुक्त सानो स्तरको कारबाही हुने उल्लेख गरिएको छ।

अमेरिकासँग हाल करिब ४,००० भन्दा बढी समुद्री सैनिकहरू खाडी क्षेत्रतर्फ जाने जहाजहरूमा रहेको बताइएको छ।

साथै, हवाईमार्गबाट खटिने सैनिकहरू तयारी अवस्थामा रहेको र थप सैनिक पठाउने विषयमा छलफल भइरहेको बताइएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com