अमेरिकाको मिनेसोटामा जारी ‘अपरेसन मेट्रो सर्ज’ कहिले रोकिन्छ ? बोर्डर प्रमुखले दिए जवाफ
प्रकाशित मिति : माघ २९, २०८२ बिहीबार
तस्वीर : चार्ली ट्रिबालेउ/एएफपी-रासस
अमेरिकी बोर्डर प्रमुख टम होमनले मिनेसोटामा सञ्चालन भइरहेको “अपरेसन मेट्रो सर्ज” अब समाप्त हुँदै गएको घोषणा गरेका छन्। बिहीबार मिनियापोलिसको फोर्ट स्नेलिङस्थित बिशप हेनरी व्हिपल संघीय भवनमा पत्रकार सम्मेलन गर्दै होनमले आगामी साताभर संघीय आप्रवासन अधिकृतहरूको संख्या क्रमशः घटाइने बताएका हुन् ।
पत्रकार सम्मेलनमा होनमले भने, “मैले प्रस्ताव राखेको छु, राष्ट्रपति ट्रम्पले पनि सहमति जनाउनुभएको छ । अब यो सर्ज अपरेसन समाप्त गरिनुपर्छ।” उनले अपरेसनले सार्वजनिक सुरक्षामा खतरा हुने व्यक्तिहरूको गिरफ्तारीमा ठूलो सफलता पाएको दाबी गरेका छन् ।
होनमले थपे, “यो सबैका लागि जित हो, केवल कानुन कार्यान्वयन गर्ने अधिकृतहरूको सुरक्षाका लागि मात्र होइन, यो समुदायका लागि पनि जीत हो। म अब कुनै थप रक्तपात देख्न चाहन्न।”
गभर्नर टिम वाल्जले भने, “पुनःस्थापनाको लामो यात्रा अब सुरु हुन्छ। हाम्रो अर्थतन्त्र, विद्यालयहरू र मानिसहरूको जीवनमा परेको प्रभाव रातारात सुधारिँदैन। त्यो काम आजबाट सुरु हुन्छ।”
मिनियापोलिसका मेयर जेकब फ्रेले पनि वक्तव्य जारी गर्दै भने, “उनीहरूले हामीलाई तोड्न सक्छन् भन्ने सोचे, तर छिमेकीप्रतिको प्रेम र सहनशक्तिले कुनै पनि कब्जालाई जित्न सक्छ। यो अपरेसनले हाम्रा छिमेकी र व्यवसायहरूका लागि विनाशकारी प्रभाव पारेको छ र अब ठूलो पुनरागमनको समय आएको छ। हामी हाम्रो आप्रवासी बासिन्दाप्रति समान प्रतिबद्धता देखाउनेछौं।”
यो घोषणा त्यही बिहान गरिएको हो, जब मिनेसोटाका केही उच्च अधिकारीहरू अमेरिकी सिनेटको आप्रवासन कार्यान्वयनसम्बन्धी सुनुवाइमा साक्षी दिइरहेका थिए। सुनुवाइमा एलिसनले अपरेसनले मिनेसोटामा वास्तविक क्षति पुर्याएको बताएका थिए भने एमरले यसलाई राज्य र सहरको कट्टर नीतिहरूको प्रत्यक्ष परिणाम भनेका थिए।
होनम जनवरीको अन्त्यतिर मिनेसोटा आएका थिए। यसअघि संघीय अधिकारीहरूले बोर्डर पेट्रोल कमाण्डर ग्रेगरी बोभिनो र उनका केही एजेन्टहरू क्षेत्र छाड्ने घोषणा गरेका थिए। फेब्रुअरी ४ मा होमनले ७०० संघीय कर्मचारी तुरुन्तै हटाइने र करिब २,००० एजेन्ट राज्यमा रहने बताएका थिए।
ह्वाइट हाउसका अधिकारीहरूका अनुसार मिनेसोटामा संघीय अपरेसनसँग सम्बन्धित कम्तीमा ४,००० गिरफ्तारी भएका छन्।






