अमेरिकाको मिनेसोटामा ‘आइस’का प्रमुख कानुनी सल्लाहकार हटाइए


प्रकाशित मिति : माघ २४, २०८२ शनिबार

अमेरिकाको मिनेसोटामा इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) का प्रमुख कानुनी सल्लाहकार जिम स्टोली पदबाट हटाइएका छन्। आप्रवासन मुद्दाहरूको चाप चुलिँदै गएको बेला उनले संस्थाबाट अवकाश लिएको बताएका हुन्।

एकजना आइस वकिलले “यो काम निकै खराब छ” भन्दै ट्रम्प प्रशासनको आप्रवासन नीतिले “अत्यधिक दबाब सिर्जना गरेको” टिप्पणी गरेपछि स्टोली यसै साता पदबाट बाहिरिएका हुन्।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी की प्रवक्ता ट्रिसिया म्याकलफ्लिनले जिम स्टोलीले ३१ वर्षको सेवापछि अवकाश लिएको बताइन्। उनका अनुसार स्टोलीको अवकाश पहिले नै तय भइसकेको थियो। यद्यपि, उनले स्टोलीलाई पदबाट हटाइएको हो वा होइन भन्नेबारे थप केही खुलाएकी छैनन्।

स्टोलीले इमेलमार्फत “मैले सार्वजनिक सेवाबाट अवकाश लिएको छु” भन्दै सबै जिज्ञासाहरू ड्युटी वकिलतर्फ पठाएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत डिसेम्बरदेखि ट्रम्प प्रशासनले मिनेसोटामा आप्रवासन कानुन कार्यान्वयनमा कडाइ गरेपछि त्यहाँका अदालतहरू मुद्दाले भरिएका छन्। यसै हप्ता मिनेसोटामा आप्रवासन कारबाही सम्हाल्न खटाइएकी आइसकी वकिल जुली ले लाई पनि पदबाट हटाइएको थियो।

उनले एक जिल्ला न्यायाधीशसँग कुरा गर्दै अत्यधिक कार्यभार र अदालतका आदेश पालना गर्न सरकार असफल देखिएकाले “यो काम साह्रै खराब छ” भन्ने अभिव्यक्ति दिएकी थिइन्। स्टोलीको अवकाश र जुलीको अभिव्यक्तिले मिनेसोटामा भइरहेको आप्रवासन कारबाहीको चुनौतीपूर्ण अवस्थालाई उजागर गरेको छ।

ट्रम्प प्रशासनले बुधबार मिनेसोटामा भइरहेको आप्रवासन कारबाहीलाई केही खुकुलो बनाउने घोषणा गरेको छ। यसअन्तर्गत “तत्काल प्रभाव” लागू हुने गरी ७०० संघीय कानुन कार्यान्वयन अधिकारीहरूलाई फिर्ता बोलाइने जनाइएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आप्रवासन कारबाहीमा केही नरम रणनीति अपनाउने सङ्केत दिएका छन्।

गत महिना मिनेसोटामा संघीय अधिकारीले चलाएको गोली लागेर दुई अमेरिकी नागरिकको मृत्यु भएपछि त्यहाँ व्यापक विरोध प्रदर्शनहरू भइरहेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com