न्यूयोर्क सिटीमा घर अगाडिको हिउँ सफा नगर्ने झण्डै ३ हजारलाई जरिवाना


प्रकाशित मिति : माघ २३, २०८२ शुक्रबार

जनवरी २५ को हिमपातपछि न्यूयोर्क सिटीको डिपार्टमेन्ट अफ सेनिटाइजेशनले घर अगाडि र आसपासको फुटपाथमा हिउँ सफा नगर्ने २ हजार भन्दा बढीलाई जरिवाना टिकट जारी गरेको छ। हिउँपछिको समयमा फुटपाथ सफा नगर्ने घरमालिक तथा व्यवसायीहरुले जरिवाना तिर्नुपर्नेछ।

बिहीबारसम्म २,७३८ टिकट जारी गरिएको छ, जसमा हिउँ र बरफ नहटाउने घर तथा व्यापारिक सम्पत्तिहरु सामेल छन्। पहिलो उल्लङ्घनमा १५० डलर जरिवाना तोकिएको छ भने पुनः उल्लङ्घनमा सो रकम ३५० डलरसम्म पुग्न सक्छ। सम्पत्ति मालिकहरुले आफ्ना भवन वरिपरिको फुटपाथ र सडककिनारदेखि १८ इन्च भित्रको भागसम्म सफा गर्नुपर्छ।

न्युयोर्क सिटीका नियमअनुसार घर वा सम्पत्तिका मालिकहरू, भवनको जिम्मा लिएका व्यक्तिहरू, भाडामा लिनेहरू, सुपरिटेन्डेन्टहरू वा भवन म्यानेजरहरू घर तथा व्यवसायको छेउमा रहेको फुटपाथ सुरक्षित अवस्थामा राख्न जिम्मेवार हुन्छन्। नियमअनुसार घर, सम्पत्ति वा व्यवसायको अगाडिको फुटपाथ तथा आसपासका क्षेत्रबाट हिउँ, बरफ, फोहोर वा अन्य सामग्री हटाउनुपर्ने व्यवस्था छ।

यदि हिमपात बिहान ७ बजेदेखि दिउँसो ४ बजेर ४९ मिनेटको बीचमा रोकिएमा चार घण्टाभित्र फुटपाथ सफा गरिसक्नुपर्छ। हिउँ बेलुका ५ बजेदेखि ९ बजेर ५९ मिनेटको बीचमा रोकिएमा १४ घण्टाभित्र सफा गर्नुपर्छ। बेलुका ९ बजेपछि र बिहान ७ बजेअघि हिउँ पर्न रोकिएको खण्डमा भने बिहान ११ बजेसम्म सफा गरिसक्नुपर्ने व्यवस्था छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घर वा व्यवसायको छेउमा रहेको फुटपाथबाट हिउँ हटाउँदा फुटपाथबाट सडकतर्फ हिउँ धकेल्न पाइँदैन। घरअगाडि फायर हाइड्रन्ट भएमा त्यसको वरिपरि रहेको हिउँ हटाउनुपर्छ। क्रसवाकहरू हिउँले ढाकिनु हुँदैन। हटाइएको हिउँ आफ्नै अगाडिको यार्ड, स्टप लाइनको पछाडि वा घाँसे कर्ब स्ट्रिपमा सार्नुपर्छ।

सम्भव भएसम्म फुटपाथको छेउमा कम्तीमा चार फिट चौडा पैदल बाटो खुला राख्नुपर्छ। कुनामा पर्ने घरका मालिकहरूले पैदल यात्रीका र्‍याम्पसहित क्रसवाकतर्फ जाने बाटो पनि सफा गर्नुपर्छ। हिउँ पग्लिएर क्रसवाकमा जम्मा भएका पानीका कुण्डहरू हटाउनुपर्छ। ह्वीलचेयर र स्ट्रोलर प्रयोग गर्ने व्यक्तिहरूको आवश्यकतालाई विशेष ध्यान दिनुपर्ने नियममा उल्लेख छ।

सन् २०१८ देखि सवारी साधनबाट हिउँ नहटाउने चालकहरूविरुद्ध पनि कानुनी कारबाहीको व्यवस्था गरिएको छ। सार्वजनिक सडकमा सवारी चलाउने कुनै पनि चालकले आफ्नो सवारी साधनको छत, कार्गो बेड र डिक्कीहरू सहित सबै सतहमा तीन इन्चभन्दा बढी हिउँ जमेको भए सफा गर्नैपर्छ।

सवारी साधनबाट हिउँ, बरफ वा असिना सफा नगरेमा १५० देखि ८५० डलरसम्म जरिवाना हुन सक्छ। पार्क गरिएका सवारी साधनहरू तथा आपतकालीन वा सार्वजनिक सुरक्षा प्रयोजनका सवारी साधनहरूलाई भने यस नियममा केही अपवाद दिइएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com