अमेरिका तयार भए आणविक सम्झौताका लागि नयाँ वार्ता गर्न रुस सहमत


प्रकाशित मिति : माघ २२, २०८२ बिहीबार

अमेरिका र रुसबीच सैन्य संवाद पुनः सुरु गर्ने सहमति भएको छ। आफ्ना सशस्त्र सेनाबीच उच्चस्तरीय संवाद फेरि सञ्चालन गर्ने विषयमा दुवै देशले सहमति जनाएका हुन्।

युक्रेन युद्धसम्बन्धी छलफलका क्रममा संयुक्त अरब इमिरेट्सको अबुधाबीमा सम्पन्न वरिष्ठ अमेरिकी र रुसी सैन्य अधिकारीहरूको बैठकपछि यो घोषणा गरिएको हो।

अमेरिकी युरोपेली कमाण्डद्वारा जारी वक्तव्य अनुसार, यो संवादले दुवै पक्षबीच नियमित सैन्य सम्पर्क सुनिश्चित गर्नेछ। यसले गलत बुझाइ कम गर्दै दीर्घकालीन शान्तितर्फ केन्द्रित हुन मद्दत पुर्‍याउने विश्वास गरिएको छ।

यो कदमलाई विश्वका दुई ठूला आणविक शक्ति राष्ट्रबीचको सम्बन्धमा आएको महत्वपूर्ण सुधारका रूपमा हेरिएको छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँगको सम्बन्ध सामान्य बनाउने इच्छा पटक-पटक व्यक्त गर्दै आएका छन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘न्यू स्टार्ट’ सम्झौता र वर्तमान चुनौती अमेरिका र रुसबीच बिहीबार समाप्त हुन लागेको ‘न्यू स्टार्ट’ नामक आणविक हतियार न्यूनीकरण सम्झौता विस्तार गर्नेबारे वार्ता भइरहेका बेला यो घोषणा सार्वजनिक भएको हो।

दशकौँको तनाव र टकरावका बाबजुद अमेरिका र रुसले सैन्य सञ्चारका माध्यम खुला राख्ने प्रयास सधैं गर्दै आएका थिए, जसको उद्देश्य सम्भावित गलत बुझाइ र अनावश्यक सैन्य मुठभेड रोक्नु थियो। तर, सन् २०२१ मा रुसले युक्रेनमाथि पूर्ण सैन्य आक्रमण सुरु गर्नुअघि नै ती सम्पर्कहरू निलम्बित भएका थिए।

त्यसयता रुसी ड्रोन र लडाकु विमानहरू नेटोको हवाई क्षेत्रमा प्रवेश गर्ने तथा सिरिया र ब्ल्याक सी क्षेत्रमा अमेरिकी ड्रोनहरू उड्ने जस्ता घटनाले तनाव उत्कर्षमा पुगेको थियो।

उच्चस्तरीय सहभागिता नयाँ सहमति संयुक्त अरब इमिरेट्समा भएको वार्ताका क्रममा तय भएको हो। उक्त वार्तामा युरोप र नेटोका लागि अमेरिकाका शीर्ष सैन्य कमाण्डर जनरल एलेक्सस ग्रिन्केविच र रुसी तथा युक्रेनी वरिष्ठ सैन्य अधिकारीहरू सहभागी थिए। पछिल्ला वर्षहरूमा सीमित सम्पर्क मात्र हुँदै आएकोमा अब वरिष्ठ कमाण्डरहरूबीच नियमित संवाद हुनेछ।

रुसले ‘न्यू स्टार्ट’ सम्झौताको म्याद सकिन लागेकोमा चिन्ता व्यक्त गर्दै अझै पनि वार्ताका लागि तयार रहेको जनाएको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले अमेरिका सकारात्मक भए रुस संवादमा संलग्न हुन तयार रहेको बताए ।

सन् २०१० मा गरिएको ‘न्यू स्टार्ट’ सम्झौताअनुसार अमेरिका र रुसले अधिकतम १,५५० रणनीतिक आणविक वारहेड र ७०० भन्दा बढी बमवर्षक वा क्षेप्यास्त्र तैनाथ नगर्ने सहमति गरेका थिए।

यो सम्झौता समाप्त भएमा, पछिल्लो करिब ५० वर्षमा पहिलोपटक अमेरिका र रुस कुनै पनि कानुनी आणविक नियन्त्रण संरचनाभन्दा बाहिर हुनेछन्। यदि सम्झौता नवीकरण भएन भने विश्वव्यापी सुरक्षा चिन्ता थप गहिरो बन्न सक्ने आँकलन विज्ञहरूले गर्दै आएका छन्।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com