अमेरिकाको मिनेसोटामा ‘अपरेसन मेट्रो सर्ज’ रोक्न अदालतको अस्वीकार, संघीय आप्रवासन कारबाही जारी


प्रकाशित मिति : माघ १८, २०८२ आईतबार

गत जनवरी २४ मा मिनियापोलिसमा संघीय एजेन्टहरूले ३७ वर्षीय एलेक्स प्रेटीको गोली हानी हत्या गरेको स्थल नजिकै प्रदर्शनकारीहरूमाथि हतियार तेर्स्याउँदै संघीय एजेन्टहरू । तस्वीर : एलेन श्मिट/एपी-रासस

अमेरिकाको मिनेसोटा राज्यमा सञ्चालन हुँदै आएको संघीय आप्रवासन कारबाही ‘अपरेसन मेट्रो सर्ज’लाई तत्काल रोक्न संघीय अदालतले अस्वीकार गरेको छ। शनिबार अमेरिकी जिल्ला न्यायाधीश क्याथरिन मेनेन्डेजले मिनेसोटा राज्यले माग गरेको अस्थायी प्रतिबन्ध आदेश (टीआरओ) नदिने निर्णय गरेसँगै उक्त अपरेसन निरन्तर जारी रहने भएको हो।

न्यायाधीश मेनेन्डेजले यो कारबाहीका कारण मिनेसोटाका समुदायहरूमा “गहिरो र हृदयविदारक असर” परेको स्वीकार गरे पनि संघीय सरकारलाई संघीय कानुन कार्यान्वयन गर्नबाट रोक्नुले सरकारलाई ठूलो क्षति पुग्ने उल्लेख गरिन्। आठौँ सर्किट अदालतको पछिल्लो निर्णय उद्धृत गर्दै उनले संघीय कानुन कार्यान्वयनमा रोक लगाउनु गम्भीर विषय हुने बताइन्।

मिनेसोटा राज्यका अधिकारीहरूले उक्त अपरेसनले अमेरिकी संविधानको १०औँ संशोधन उल्लङ्घन गरेको दाबी गर्दै संघीय सरकारले राज्यलाई तथाकथित ‘सान्क्चुअरी नीति’ परित्याग गर्न दबाब दिइरहेको आरोप लगाएका थिए। तर, न्यायाधीश मेनेन्डेजले हालको चरणमा ती तर्कहरू अपरेसन रोक्न पर्याप्त बलिया नरहेको ठहर गरिन्। उनले अपरेसन राज्य र स्थानीय कानुन परिवर्तन गराउन ‘खुलेआम गैरकानुनी तरिकाले’ गरिएको भन्ने दाबी पनि अस्वीकार गरिन्।

मिनेसोटाका महान्यायाधिवक्ता किथ एलिसनले फैसलाप्रति निराशा व्यक्त गर्दै कानुनी लडाइँ जारी रहने बताएका छन्। उनले भने, “इतिहास हाम्रो पक्षमा छ । मिनेसोटावासीहरू यसको पक्षमा उभिएका छन्।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)का अनुसार गत डिसेम्बरदेखि ट्रम्प प्रशासनले ट्विन सिटीज क्षेत्रमा तीन हजार संघीय आप्रवासन एजेन्ट खटाएको छ। यस अवधिमा तीन हजारबढी कागजातविहीन आप्रवासीहरू पक्राउ परिसकेका छन्।

गत महिनामा संघीय आप्रवासन निकायसँग भएका छुट्टाछुट्टै घटनामा ३७ वर्षीया रेनी गुड र ३७ वर्षीय एलेक्स प्रेट्टी नामका दुई अमेरिकी नागरिकको मृत्यु भएपछि अवस्था थप तनावपूर्ण बनेको छ। यी घटनापछि ट्विन सिटीजमा दैनिक रूपमा आइस विरोधी प्रदर्शन भइरहेका छन् भने राष्ट्रिय स्तरमा व्यापक आलोचना भएको छ।

आइस हिरासत केन्द्र रहेको संघीय भवन बाहिर प्रदर्शन गरिरहेकी प्रदर्शनकारी हान्ना लिन्डेनबर्गले अदालतको निर्णय पर्याप्त नभएको प्रतिक्रिया दिइन्। उनले भनिन्, “आइस भन्ने संरचना नै जबसम्म कायम रहन्छ, समस्या अन्त्य हुँदैन।”

ट्रम्प प्रशासनले अपरेसनबारे विरोधाभासी अभिव्यक्ति दिँदै आएको छ। सुरुमा कारबाही थप कडा बनाउने बताएको प्रशासनले पछि घटनाको अनुसन्धान सुरु गरेको थियो। बिहीबार ट्रम्पका सीमा मामिला प्रमुख टम होम्यानले मिनेसोटामा अपरेसन क्रमशः घटाइने संकेत दिएका छन्। यसैबीच राष्ट्रपति डोनाल्ड ट्रम्प र मिनेसोटाका गभर्नर टिम वाल्जबीच फोनवार्ता पनि भएको छ।

तर शुक्रबार संघीय अधिकारीहरूले एक प्रदर्शन कभर गरेको आरोपमा पूर्व सीएनएन एंकर डन लेमनलाई पक्राउ गरेका छन्। लेमनले आफूविरुद्धका आरोप कानुनी रूपमा लड्ने बताएका छन्।

शनिबार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत ट्रम्पले गभर्नर वाल्जलाई ‘भ्रष्ट’ र मिनेसोटाकी सांसद इल्हान ओमरलाई ‘ठग’ भनेपछि राजनीतिक तनाव अझ चर्किएको छ।

न्यायाधीश मेनेन्डेजले आफ्नो फैसलामा संघीय आप्रवासन एजेन्टहरूले जातीय प्रोफाइलिङ, अत्यधिक बल प्रयोग र अन्य हानिकारक गतिविधि गरेको प्रमाण रहेको उल्लेख गर्दै सरकारले ती आरोपहरू खण्डन नगरेको बताइन्। उनले प्रहरीको ओभरटाइम खर्च बढ्नु, विद्यालयमा विद्यार्थी उपस्थिति घट्नु, आपतकालीन सेवामा ढिलाइ र साना व्यवसायहरूमा गम्भीर असर परेको जनाइन्।

उनले निष्कर्षमा भनिन्, “यो अपरेसनले मिनेसोटाका नागरिकहरूमा पारिरहेको प्रभावलाई शब्दमा व्यक्त गर्न कठिन छ।”

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com