अमेरिकामा विमान दुर्घटना, सबै ६ जनाको मृत्यु
प्रकाशित मिति : माघ १२, २०८२ सोमबार
फोटो : एपी/रासस
अमेरिकामा भएको विमान दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। भारी हिमपातका क्रममा अमेरिकाको मेन राज्यस्थित बाङ्गोर विमानस्थलबाट उडान भर्ने प्रयास गर्दा विमान दुर्घटनाग्रस्त भएको हो।
बाङ्गोर अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीहरूका अनुसार दुर्घटनाग्रस्त निजी जेटमा सवार सबै छ जनाको मृत्यु भएको छ। संघीय उड्डयन प्रशासन को प्रारम्भिक प्रतिवेदनमा भने सात जनाको मृत्यु र एक जना गम्भीर घाइते भएको उल्लेख गरिएको थियो।
दुर्घटनाग्रस्त विमान बम्बार्डियर च्यालेन्जर ६५० मोडलको व्यावसायिक जेट हो। संघीय अभिलेखअनुसार यो विमान ह्युस्टनस्थित एक ‘लिमिटेड लायबिलिटी कम्पनी’को नाममा दर्ता रहेको देखिन्छ।
उडान ट्र्याकिङ तथ्याङ्कअनुसार, उक्त निजी जेट ह्युस्टनको हबी विमानस्थलबाट उडेर साँझ बाङ्गोर अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। एयर ट्राफिक कन्ट्रोलको रेकर्डिङअनुसार, बाङ्गोरका कन्ट्रोलरहरूले उक्त जेटलाई फ्रान्सको पेरिस–भाट्री विमानस्थलतर्फको ट्रान्स-एटलान्टिक उडानका लागि अनुमति दिएका थिए।
उडान भर्नुअघि विमानलाई ‘डि-आइसिङ’ (हिउँ पखाल्ने प्रक्रिया) का लागि विमानस्थलको तोकिएको क्षेत्रमा लगिएको थियो। दुर्घटना अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा शक्तिशाली हिमआँधी चलिरहेको समयमा भएको हो।
मेन राज्यमा हाल तापक्रम शून्यभन्दा निकै तल छ भने हल्का हिमपातका कारण दृश्यता अत्यन्तै कम थियो। दुर्घटनाअघि एयर ट्राफिक कन्ट्रोलको अडियोमा अन्य दुई उडानका पाइलटहरूले पनि बाङ्गोर विमानस्थलको खराब मौसमप्रति चिन्ता व्यक्त गरेको सुनिन्छ।






