फिलिपिन्समा ३५० भन्दा बढी यात्रु सवार फेरी दुर्घटना, उद्धार कार्य जारी


प्रकाशित मिति : माघ ११, २०८२ आईतबार

a close up of a map of asia

तस्बिर : रोड अहेड / अनस्प्ल्यास

दक्षिणी फिलिपिन्समा ३५० भन्दा बढी यात्रु सवार एउटा फेरी (ढुवानी डुङ्गा) दुर्घटनाग्रस्त भएको छ। अधिकारीहरूका अनुसार उद्धारकर्ताहरूले हालसम्म कम्तीमा २१५ जनाको जीवितै उद्धार गरेका छन् भने सात जनाको शव फेला परेको छ।

जाम्बोआङ्गा बन्दरगाहबाट सुलु प्रान्तको दक्षिणी जोलो टापुतर्फ जाँदै गरेको उक्त ‘अन्तर–द्वीपीय’ मालवाहक तथा यात्रुवाहक फेरी बाटोमै डुबेको हो। फिलिपिन्स कोस्ट गार्डका अनुसार प्राविधिक समस्याका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। फेरीमा ३३२ यात्रु र २७ जना चालक दलका सदस्य गरी कुल ३५९ जना सवार थिए।

बासिलान टापु प्रान्तका गभर्नर मुजिभ हातामानले उद्धार गरिएका यात्रु र दुईवटा शव प्रान्तीय राजधानी इसाबेला ल्याइएको जानकारी दिएका छन्।

फिलिपिन्स कोस्ट गार्ड र नौसेनाले बासिलान प्रान्त नजिकैको समुद्री क्षेत्रमा खोज तथा उद्धार कार्य जारी राखेका छन्। यस कार्यमा स्थानीय माछा मार्ने डुङ्गाहरूले पनि सहयोग गरिरहेका छन्। हाल मौसम अनुकूल रहेकाले उद्धारमा सहजता भएको अधिकारीहरूले बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फिलिपिन्स द्वीपसमूहमा बारम्बार आउने आँधी, जहाजहरूको फितलो मर्मतसम्भार, क्षमताभन्दा बढी यात्रु र सुरक्षा नियमको कमजोर कार्यान्वयनका कारण यस्ता समुद्री दुर्घटना भइरहन्छन्।

यसअघि सन् १९८७ डिसेम्बरमा ‘डोना पाज’ नामक फेरी इन्धन ट्याङ्करसँग ठोक्किँदा ४,३०० भन्दा बढीको मृत्यु भएको थियो । जसलाई शान्तिकालको विश्वकै सबैभन्दा ठूलो समुद्री दुर्घटना मानिन्छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com