खराब मौसमका कारण सोमबार न्युयोर्कका सार्वजनिक विद्यालय बन्द; विद्यार्थीले अनलाइनबाट पढ्नुपर्ने


प्रकाशित मिति : माघ ११, २०८२ आईतबार

न्युयोर्क सिटीको वर्ल्ड ट्रेड सेन्टर क्षेत्रमा हिमपात जारी रहँदाको दृश्य । फोटो: राजन काफ्ले /खसोखास

अत्यधिक खराब मौसमका कारण न्युयोर्क शहरका सार्वजनिक विद्यालयहरू सोमबार बन्द रहने भएका छन्। मेयर जोहरान ममदानीले आइतबार बिहान यसको घोषणा गर्दै विद्यार्थीहरूका लागि ‘रिमोट लर्निङ’ सञ्चालन हुने जानकारी दिनुभएको छ।

न्युयोर्कका सबै सार्वजनिक विद्यालयका भवनहरू बन्द रहे पनि सोमबार विद्यालय जानुपर्ने विद्यार्थीहरूको पढाइ भने अनलाइन माध्यमबाट निरन्तर रहनेछ। मेयर ममदानी र स्कूल चान्सलर कमर सामुएल्सका अनुसार, विद्यार्थी, परिवार र कर्मचारीहरूको सुरक्षालाई प्राथमिकता दिँदै र न्युयोर्क राज्यको १८० दिने शैक्षिक आवश्यकतालाई पूरा गर्न यो निर्णय लिइएको हो।

यसका साथ, स्कूलपछिका सबै कार्यक्रमहरू, वयस्क शिक्षा र विद्यालयमा आधारित अन्य गतिविधिहरू पनि रद्द गरिएका छन्। १,१०० भन्दा बढी विद्यालयका करिब ५ लाख विद्यार्थीहरू यस निर्णयबाट प्रभावित हुनेछन्।

कक्षा ६-१२ सञ्चालन हुने विद्यालयका हाई स्कूल र कक्षा ६-८ का विद्यार्थीहरूको लागि पूर्व-निर्धारित ‘प्रोफेशनल लर्निङ डे’ यथावत रहने हुनाले उनीहरूको लागि सोमबार बिदा नै हुनेछ। यदि विद्यार्थीहरूलाई अनलाइन कक्षाका लागि प्राविधिक समस्या परेमा selfservice.schools.nyc मा जान वा सिधै आफ्नो विद्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चार्टर र निजी विद्यालयहरूले बन्द सम्बन्धी निर्णय आफैँ गर्नेछन्। यद्यपि, सार्वजनिक विद्यालयको भवनभित्रै रहेका चार्टर विद्यालयहरू भने बन्द रहनेछन्।

मेयर ममदानीले भन्नुभयो, “हिउँ पर्न थालेको र अवस्था जोखिमपूर्ण बन्दै गएकाले न्युयोर्कवासीहरूलाई सुरक्षित राख्न विद्यालयका भवनहरू बन्द गर्नु आवश्यक कदम हो। हाम्रो प्रशासनले उपकरणहरूको व्यवस्थापन र परिवारहरूलाई सूचित गर्ने काम गरिसकेको छ। हामी यो आँधीको सामना गर्न तयार छौँ।”

मौसम विभागले ८ देखि ११ इन्चसम्म हिउँ पर्न सक्ने र पछिल्लो ८ वर्ष यताकै सबैभन्दा बढी चिसो हुन सक्ने अनुमान गरेको छ। मेयरले तीव्र हावाहुरी र चिसोका कारण सर्वसाधारणलाई सडकमा ननिस्कन र घरभित्रै सुरक्षित बस्न आग्रह गर्नुभएको छ।

शहरका २,५०० सरसफाइकर्मीहरू १२ घण्टाको शिफ्टमा सडक सफा गर्न खटिएका छन्। दुई इन्च हिउँ जम्ने बित्तिकै ‘स्नो प्लौ’ (हिउँ पन्छाउने मेसिन) हरू परिचालन गरिनेछ। मेयरले शहरको हरेक कुना र जिप कोडमा समान रूपमा सेवा पुग्ने आश्वासन दिनुभएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com