के अमेरिकी नागरिक र ग्रिनकार्डवाहकले नेपालका राजनीतिक दललाई चुनावमा चन्दा दिन पाउँछन्? कानुनी प्रावधान
प्रकाशित मिति : माघ ६, २०८२ मंगलबार
यदि कुनै अमेरिकी नागरिक वा अमेरिकामा रहेका व्यक्तिले कोष संकलन वा राजनीतिक सहयोगमा संलग्न हुने लगायत कुनै विदेशी राजनीतिक दलको “एजेन्ट” को रूपमा काम गरेमा उनीहरूले अमेरिकी कानून मन्त्रालयमा दर्ता गर्नु आवश्यक हुन्छ। यदि उनीहरूले दर्ता नगरेमा गम्भीर कानुनी परिणामको सामना गर्नुपर्ने हुन सक्छ।
यो व्यवस्था विदेशी एजेन्ट दर्ता ऐन अन्तर्गत स्थापित गरिएको हो, जसले विदेशी प्रभावबारे पारदर्शिता सुनिश्चित गर्न विदेशी राजनीतिक दल वा संस्थाको तर्फबाट काम गर्ने एजेन्टहरूलाई अनिवार्य रूपमा दर्ता गर्न माग गर्छ। कानुनअनुसार यस्तो गतिविधिमा संलग्न भएको १० दिनभित्र एजेन्टले दर्ता गर्नुपर्छ र आफ्नो आर्थिक कारोबार तथा गतिविधिको विवरण नियमित रूपमा बुझाउनुपर्छ।
ऐनको धारा ६१८ ए अनुसार जानाजानी उल्लंघन गर्नेहरूलाई ५ वर्षसम्म संघीय जेल सजाय, २ लाख ५० हजार डलरसम्म जरिवाना, वा दुवै सजाय हुन सक्ने प्रावधान छ।
साना प्रशासनिक उल्लंघनका लागि ६ महिनासम्म कैद वा ५ हजार डलरसम्म जरिवाना तोकिएको छ। नियमको पालना नगरी निरन्तर काम गर्ने अवस्थालाई निरन्तर अपराध मानिने भएकाले यसको हदम्याद दर्ता नभएसम्म समाप्त हुँदैन।
त्यसका साथै कानून मन्त्रीले देवानी कारबाहीमार्फत दर्ता गर्न बाध्य पार्न वा गैरकानुनी गतिविधि रोक्न अदालतबाट निषेधाज्ञा लिन सक्छन्। उल्लंघनबाट आर्जित सम्पत्ति जफत हुन सक्ने, गैर–अमेरिकी एजेन्टको हकमा देशनिकाला हुन सक्ने, र झूटो बयान वा मुद्रा निर्मलीकरणजस्ता थप आरोप पनि लाग्न सक्ने प्रावधान छ।
ट्रम्पले हालसालै विदेशी एजेन्ट दर्ता ऐनको अनुगमन प्रक्रियामा कडाइ ल्याइएको बताउनुभएको छ। ट्रम्प प्रशासनद्वारा जारी दिशानिर्देशअनुसार विदेशी जासुसीजस्ता गम्भीर मुद्दामा फौजदारी अभियोगलाई प्राथमिकता दिइने भए पनि सामान्य मामिलामा स्वैच्छिक सुधार र देवानी प्रवर्तनलाई प्राथमिकता दिने नीति लिइएको छ।
यदि कुनै अमेरिकी नागरिकले विदेशी राजनीतिक दल वा संस्थालाई चन्दा दिएमा त्यसले अमेरिकी कर कानुनको समेत पालना गर्नुपर्छ। यदि विदेशी खातामा १० हजार डलरभन्दा बढी रकम पुगेको छ भने फिनसेन फर्म ११४ बुझाउनुपर्ने प्रावधान छ। त्यसो नगरेमा उल्लंघनको प्रकृतिअनुसार १६ हजार डलरदेखि १ लाख ६५ हजार डलरसम्म जरिवाना र ५ वर्षसम्मको जेल सजाय हुन सक्छ।
विदेशी राजनीतिक दललाई सहयोग गर्दा अमेरिकी प्रतिबन्ध वा आतंकवादविरोधी कानुन उल्लंघन भए फौजदारी मुद्दा लाग्न सक्छ। विदेशी देशले विदेशी चन्दा लिन प्रतिबन्ध लगाएको भए त्यो देशको कानुन उल्लंघन पनि हुन सक्छ। अपराध वा गैर–पालनका कारण व्यावसायिक प्रतिष्ठामा असर पर्न सक्ने, लाइसेन्स खारेज हुन सक्ने, वा अन्य देवानी मुद्दा आउन सक्ने जोखिम रहन्छ। यदि सो दल वा देश अमेरिकाको प्रतिबन्ध सूचीमा परेमा त्यससँग वित्तीय वा राजनीतिक सम्पर्क राख्नु अपराध मानिन सक्छ।
न्युयोर्कका कानून व्यवसायी केशवराज सेडाईले अमेरिकामा रहेका नेपाली नागरिक वा अमेरिकी नेपालीहरूले नेपालका उम्मेदवारका लागि चन्दा संकलन गर्नु कानुनी रूपमा निकै संवेदनशील र जोखिमपूर्ण विषय रहेको बताउनुभएको छ। यसले अमेरिका र नेपाल दुवै देशको कानुन आकर्षित गर्ने उहाँको भनाइ छ।
सेडाईले भन्नुभयो, “अमेरिकाको विदेशी एजेन्ट दर्ता ऐनअनुसार यदि कुनै व्यक्तिले विदेशी राजनीतिक दल वा उम्मेदवारको तर्फबाट अमेरिकामा गतिविधि गर्छ भने उसले सरकारमा दर्ता हुनुपर्छ। यदि तपाईंले नेपालको कुनै राजनीतिक दल वा उम्मेदवारको ‘निर्देशन, अनुरोध वा नियन्त्रणमा’ रहेर चन्दा संकलन गर्नुहुन्छ भने, तपाईंले आफूलाई ‘विदेशी एजेन्ट’ को रूपमा कानून मन्त्रालयमा दर्ता गर्नुपर्छ।”
“यदि दर्ता नगरी यस्तो काम गरेमा यो संघीय अपराध मानिन्छ। यसमा ५ वर्षसम्मको जेल सजाय र २ लाख ५० हजार डलरसम्म जरिवाना हुन सक्छ। तपाईंले सित्तैमा (स्वयंसेवक भएर) काम गरे पनि यदि त्यो काम विदेशी राजनीतिक शक्तिसँगको समन्वयमा छ भने तपाईं विदेशी एजेन्ट दर्ता ऐन ‘फारा’ को दायरामा पर्नुहुन्छ,” सेडाईले भन्नुभयो।
नेपालको राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र निर्वाचन आचारसंहिताले विदेशी सहयोगमा कडा प्रतिबन्ध लगाएको सेडाईले स्मरण गराउनुभएको छ। ऐनको दफा ३८ अनुसार कुनै पनि राजनीतिक दलले विदेशी सरकार, संस्था वा विदेशी नागरिकबाट सहयोग लिन पाउँदैन। यदि तपाईंले अमेरिकी नागरिकता लिइसक्नुभएको छ भने नेपालको कानुनअनुसार तपाईं ‘विदेशी नागरिक’ हुनुहुन्छ। तपाईंको खाताबाट पठाइएको रकमका कारण नेपालको उम्मेदवारको पद नै खारेज हुन सक्ने वा जेल सजायसमेत हुन सक्ने सेडाईको तर्क छ। साथै, नेपालको निर्वाचन आयोगले विदेशबाट डलर खर्च गरेर सामाजिक सञ्जालमा राजनीतिक विज्ञापन वा बुस्टिङ गर्नसमेत रोक लगाएको छ।
नेपालका राजनीतिक व्यक्तिहरूलाई ठूलो रकम पठाउँदा अमेरिकी बैंकहरूले ‘शंकास्पद गतिविधि’ का रूपमा रिपोर्ट गर्ने, तथा विदेशी राजनीतिक कार्यका लागि उठाइएको पैसामा कर छुट नहुने भएकाले व्यक्तिगत खातामा पैसा जम्मा गरेमा आईआरएसले त्यसलाई व्यक्तिगत आम्दानी मानेर ठूलो कर लगाउन सक्ने सेडाईले सचेत गराउनुभएको छ। सामाजिक सेवा भनेर पैसा उठाएर राजनीतिक काममा प्रयोग गरेमा अमेरिकामा ‘वायर फ्रड’ को मुद्दा चल्न सक्ने उहाँको चेतावनी छ।
अरूबाट पैसा उठाएर नेपालको पार्टी कार्यालयमा पठाउने, नेपालका उम्मेदवारसँग ह्वाट्सएपमा सल्लाह गरेर अमेरिकामा कार्यक्रम आयोजना गर्ने, अमेरिकी क्रेडिट कार्ड प्रयोग गरेर उम्मेदवारको प्रचारका लागि विज्ञापन चलाउनेजस्ता गतिविधि गर्दा समस्या हुन सक्छ। तर रकम खर्च नगरी सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत विचार मात्र राख्दा, वा नेपालमा रहेका परिवारलाई व्यक्तिगत आवश्यकता पूरा गर्न पैसा पठाउँदा भने कुनै समस्या नहुने सेडाईले प्रष्ट पार्नुभयो।
त्यस्तै, यदि कुनै अमेरिकी नागरिकले विदेशी राजनीतिक दल वा संस्थालाई चन्दा दिएमा थप रूपमा अमेरिकी कर कानुनको समेत पालना गर्नुपर्छ। यदि विदेशी खातामा १० हजार डलरभन्दा बढी रकम पुगेको छ भने फिनसेन फर्म ११४ बुझाउनुपर्ने प्रावधान छ। त्यसो नगरेमा उल्लंघनको प्रकृतिअनुसार १६ हजार डलरदेखि १ लाख ६५ हजार डलरसम्म जरिवाना र ५ वर्षसम्मको जेल सजाय हुन सक्छ।
अमेरिकी कर कानुनहरू जटिल भएकाले यदि कुनै व्यक्तिलाई आफू “एजेन्ट” को दायरामा परिरहेको शंका भएमा तुरुन्तै योग्य वकिल वा विशेषज्ञ कर सल्लाहकारसँग परामर्श गर्नु आवश्यक हुन्छ। आधिकारिक जानकारीका लागि अमेरिकी सरकारको कानून मन्त्रालयको वेबसाइट र आईआरएसको वेबसाइट हेर्न सकिन्छ।





