डेनमार्कसहित ८ युरोपेली देशमाथि १० प्रतिशत नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा


प्रकाशित मिति : ४ माघ २०८२, आइतबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । तस्वीर : जुलिया डेमारी निखिन्सन/एपी-रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कसहित ८ युरोपेली देशमाथि १० प्रतिशत नयाँ भन्सार शुल्क लगाउने घोषणा गरेका छन्। ग्रिनल्याण्ड खरिदसम्बन्धी सम्झौता नहुन्जेलसम्म उक्त शुल्क लागू रहने ट्रम्पले बताएका छन् । यो भन्सार शुल्क आगामी फेब्रुअरी १ ​​देखि लागू हुनेछ ।

अ‍ेमेरिकी राष्ट्रपति ट्रम्पले जुन १ भित्र सम्झौता नभएमा शुल्क २५ प्रतिशतसम्म बढाइने चेतावनी पनि दिएका छन् । नयाँ शुल्कको प्रभाव डेनमार्कसहित नर्वे, स्विडेन, फ्रान्स, जर्मनी, बेलायत, नेदरल्याण्ड्स र फिनल्याण्डमा पर्नेछ। ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत चीन र रुसले ग्रिनल्याण्डमा चासो देखाइरहेको दाबी गर्दै यस विषयमा अमेरिका मात्र निर्णायक भूमिका खेल्न सक्ने बताएका छन्।

ट्रम्पले डेनमार्क र अन्य युरोपेली सहयोगीहरूबीच ग्रिनल्याण्ड वरपर भएका संयुक्त सुरक्षा अभ्यासलाई विश्वको सुरक्षा र स्थिरताका लागि खतरनाक अवस्था भन्दै कडा कदम आवश्यक भएको उल्लेख गरेका छन्।

यस घोषणापछि अमेरिका र युरोपेली मुलुकहरूबीचको तनाव थप बढ्ने संकेत देखिएको छ। युरोपेली संघले डेनमार्क र ग्रिनल्याण्डप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै नयाँ भन्सार शुल्कले ट्रान्स–अटलान्टिक सम्बन्ध कमजोर पार्ने चेतावनी दिएको छ। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेन र युरोपेली परिषद्का अध्यक्ष अन्तोनियो कोस्टाले संयुक्त विज्ञप्ति जारी गर्दै युरोप एकताबद्ध रहने बताएका छन्।

बेलायतका प्रधानमन्त्री केयर स्टार्मरले नाटो सहयोगीहरूमाथि शुल्क लगाउनु गलत भएको प्रतिक्रिया दिएका छन् भने फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंले कुनै पनि धम्की स्वीकार्य नहुने स्पष्ट पारेका छन्। स्विडेन र जर्मनीले पनि समन्वित युरोपेली प्रतिक्रिया तयारीमा रहेको बताएका छन्।

डेनमार्कले भने आर्कटिक क्षेत्र अब कम तनावको क्षेत्र नरहेकाले नाटो साझेदारहरूसँग पारदर्शी रूपमा सुरक्षा सहकार्य बढाइएको जनाएको छ। यसैबीच, युरोपेली सैनिकहरू समर्थनका लागि ग्रिनल्याण्ड पुग्न थालेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com