अक्टोबर १८ देखि अमेरिकाले किन चेक गर्दैछ आप्रवासीका सामाजिक सञ्जाल ?


प्रकाशित मिति : कार्तिक १, २०७४ बुधबार

-किशोर पन्थी

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अमेरिकामा सबै आप्रवासीहरुका सामाजिक सञ्जालहरु जाँचबुझ गरेर त्यसबारेका सुचनाहरु संकलन गरेर राख्ने नयाँ नीति ल्याएको छ । अमेरिकाको ग्रिनकार्ड प्राप्त गरेकाहरु र नागरिकता प्राप्त गरेकाहरु लगायत सबै आप्रवासीका सामाजिक सञ्जालका सुचनाहरु संकलन गर्ने नयाँ नीति फेडरल रजिष्टरमा प्रकाशन गरिएको छ । यो नयाँ नीति आगामी अक्टोबर १८ बाट लागु हुनेछ ।

नयाँ नीति अनुशार सबै आप्रवासीका सामाजिक सञ्जालहरु, उपनामहरु, सम्बन्धित पहिचान योग्य जानकारीहरु र इन्टरनेटमा खोजी गरिएका अन्य खोजी परिणामहरु समेत संकलन गरिने भएको छ । नयाँ नियम अनुशार आप्रवासीहरुसँग सामाजिक सञ्जालको प्रयोग गरेर कुराकानी गर्ने अमेरिकी नागरिकहरु सरकारी निगरानीमा पर्न सक्ने जनाइएको छ ।

संसोधित गोपनियता ऐन रेकर्ड प्रणाली

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फेडेरल रजिष्टरमा प्रकाशित सुचनालाई संसोधित गोपनियता ऐन रेकर्ड प्रणाली नाम दिइएको छ । गोपनियता ऐन १९७४ अनुशार डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले वर्तमान रेकर्ड प्रणालीमा सुधारको प्रस्ताव गरेको हो । अमेरिकी सरकारसँग आप्रवासीको एलियन फाइल अर्थात् ए फाइल हुनेगर्छ । यो फाइल राख्ने प्रणाली सन् १९४४ को अप्रिल १ बाट सुरु गरिएको हो । यसअगाडि अमेरिकी निकायसँग व्यक्तिका एकभन्दा धेरै फाइलहरु हुने गर्थे । अमेरिकी सरकारले अध्यागमन फाइललाई सजिलो र चुस्त दुरुस्त राख्न आप्रवासीलाई एलियन नम्बर समेत दिने गरेको छ । यो फाइलमा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले व्यक्तिका लाभको निर्णय, अध्यागमन उल्लंघनबारेको अनुसन्धान, कारवाही लगायतका विवरणहरु राख्दै आएको छ । अब यो फाइलमा व्यक्तिका सामाजिक सञ्जालहरु, उपनामहरु, सम्बन्धित पहिचान योग्य जानकारीहरु र इन्टरनेटमा खोजी गरिएका अन्य खोजी परिणामहरु समेत संकलन गरेर राख्ने तयारी गरिएको हो ।

एलियन फाइल अनलाइन र कागजी दुबै रुपमा अमेरिकी सरकारले राख्न सक्ने प्रावधान छ । जसमा एलियन फाइलमा भएका रेकर्ड, इलेक्ट्रोनिक इमिग्रेशन सिस्टमबाट प्राप्त व्यक्तिका सबै रेकर्डहरु, व्यक्तिले इमिग्रेशन अदालतहरु लगायतका निकायमा पेश गरेका सबै कागजातहरु, युएससीआईएस, आइस, सीबीपी लगायतसँग सम्बन्धित कागजातहरु राख्दै आएको छ ।

अमेरिकी सरकारले डीएचएस, युएससीआईएस, आइस, सीबीपी ००१ एलियन फाइल अपडेट गर्ने तयारी गरिरहेको छ । यो नयाँ प्रणालीले ग्रिनकार्ड प्राप्त गरेका व्यक्ति, अमेरिकी नागरिकता प्राप्त गरेका व्यक्ति, अध्यागमन सुविधाका लागि आवेदन दिनेहरु, इमिग्रेशन एण्ड नेशनालिटी एक्ट अन्तरगत सुविधा प्राप्त सबै व्यक्ति लगायतलाई समेट्नेछ । त्यो बाहेक राष्ट्रिय सुरक्षामा खतरा रहेका व्यक्ति लगायत अन्य कैयनका विवरणहरु पनि संकलन गरिनेछ ।

पाइलट प्रोग्राम

होमल्याण्ड सेक्युरिटीका इन्सपेक्टर जनरलले यसैबर्षको सुरुवातमा एउटा रिपोर्ट प्रकाशित गरेका थिए जसमा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको पाइलट कार्यक्रम अन्तरगत आप्रवासी आवेदकहरुमाथि निगरानी राख्नका लागि उनीहरुका सामाजिक सञ्जालहरुको परिक्षण भइरहेको उल्लेख थियो । व्यक्तिका तथ्यांकहरु संकलन गर्ने स्वचालित खोज उपकरणको प्रभावकारिता निर्धारण गर्ने लगायतका विषयहरु पनि पाइलट कार्यक्रममा समावेश थिए ।

कार्यक्रम अन्तरगत आप्रवासी हैसियत र सुविधाका लागि आवेदन दिएका व्यक्तिको परिक्षण सामाजिक सञ्जालहरु मार्फत गर्न डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले टास्क फोर्सन निर्माण गरेको थियो । यही कार्यक्रम अन्तरगत युएससीआईएसले आप्रवासी आवेदकको जाँच गर्न सन् २०१५ देखि नै सामाजिक सञ्जालहरु चेक गर्न सुरुवात गरेको थियो ।

यसरी थालियो सामाजिक सञ्जाल परिक्षण

सन् २०१५ को डिसेम्बर २ मा क्यालिफोर्नियाको सान बर्नान्डिनोमा भएको आतंकवादी हमलामा आतंकवादी समुहले सामाजिक सञ्जालको प्रयोग गरेको घटनापछि अमेरिकी सांसदहरुको ध्यानाकर्षण भयो । सन् २०१५ को डिसेम्बर १५ मा सिनेटर जेन साहिन र अन्य २४ जना सांसदहरुले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई पत्र लेखेर पृष्ठभूमी परिक्षण गर्दा सामाजिक संजालसमेत चेक गर्नेगरी नीति ल्याउन सुझाव दिएका थिए । आतंकवादी गतिविधिसँगको सम्भावित सम्बन्धलाई मध्यनजर गर्दै भिसा आवेदक र अन्य आप्रवासीका सामाजिक सञ्जालको परिक्षण हुनुपर्ने आवाज उठाइएको थियो । त्यसपछि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी र डेपुटी सेक्रेटरीले सामाजिक संजालको तत्कालिन परिक्षणबारे पुनरावलोकनका लागि सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।

त्यसपछि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सन् २०१५ को डिसेम्बरमा कैयन आवेदकका सामाजिक सञ्जालको स्वचालित र म्यानुअल परिक्षण सुरु गरेको थियो । सन् २०१६ को अप्रिलमा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले युएससीआईएसले सामाजिक सञ्जालको परिक्षण थप उपकरणहरुमार्फत अझ बृहत बनाएको थियो । त्यसपछि सन् २०१६ को अगस्तमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले फरकखालको स्वचालित उपकरणमार्फत गैरआप्रवासी भिसा वाहकका सामाजिक संजालहरुको परिक्षण सुरु गरेको थियो ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले हरेक अध्यागमन आवेदकका सामाजिक सञ्जाललाई बृहत बनाउदै लग्यो भने आइसले भिसा आवेदकका सामाजिक संजालको परिक्षण आफ्नै ढंगले अगाडि बढाउदै आएको छ । तर अब भने हरेक आप्रवासीको सामाजिक सञ्जाल, इन्टरनेटका खोजी रिपोर्टहरु र अन्य सम्बन्धित सामाग्रीहरु तयार गरेर अलग अलग फाइलहरु निर्माण गर्ने तयारी भइरहेको छ ।

भिसा आवेदकलाई थप प्रश्नावली

यसअगाडि गत मे महिनामा ट्रम्प प्रशासनले भिसा आवेदकका लागि अस्थायी रुपमा नयाँ प्रश्नावली पारित गरेको थियो । जसमा आवेदकका विगत पाँचबर्षदेखिका सामाजिक सञ्जालहरुको विवरण र १५ बर्षदेखिको भौगोलिक इतिहासको विवरण उल्लेख गर्नुपर्नेछ । यो नियम अमेरिकी भिसा आवेदकका लागिमात्र नभई ग्रिनकार्ड प्राप्त गरिसकेका र नागरिकता प्राप्तीको प्रकृयाका सन्दर्भमा समेत लागु हुनेछ ।

यसलाई स्थायी बनाउन फेडरल रजिष्टारमा सुचना प्रकाशित गरिएको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेटका तर्फबाट फेडरल रजिस्टरमा सुचना प्रकाशित गर्दै भिसा आवेदकका सामाजिक सञ्जाल लगायतका विवरण संकलन गर्ने प्रकृयालाई स्थायी बनाउन कदम चालिएको हो ।

ब्यूरो अफ कन्सुलर अफेयर्स, भिसा कार्यालयले जारी गरेको डीएस ५५३५ फर्मलाई स्थायी रुपमा लागु गर्न फेडरल रजिस्टरमा सुचना प्रकाशित गरिएको हो ।

नयाँ फर्ममार्फत भिसा आवेदकले १५ बर्षको यात्रा इतिहास र त्यो यात्रा गर्नका लागि आएको आर्थिक श्रोत, विगत १५ बर्षसम्मका आफ्ना ठेगानाहरु, विगत १५ बर्षदेखिको रोजगारीको इतिहास, आवेदकका अहिलेम्मका पासपोर्ट नम्बर र जारी गरेको देशको विवरण, सबै दाजुभाई दिदीबहिनीका नाम र जन्ममिति, सबै बच्चाबच्चीका नाम र जन्ममिति, सबै पार्टनर र दम्पत्तिका नाम र जन्ममिति, विगत पाँचबर्षमा प्रयोग गरेका सामाजिक सञ्जालका ह्याण्डल र विवरण, विगत पाँचबर्षमा प्रयोग गरेका सबै इमेल र फोन नम्बरहरु बुझाउनुपर्नेछ ।

यात्राको इतिहासको सन्दर्भमा आवेदकले विगतमा आतंककारी नियन्त्रित क्षेत्रको भ्रमण गरेको सन्दर्भमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सबै क्षेत्रको भ्रमणबारे थप विवरण बुझाउनुपर्नेछ । सामाजिक सञ्जालको संकलन आवेदकको भिसा जातीय, धार्मिक , क्षेत्रीय, राजनीतिक आस्था वा लिंगका आधारमा भेदभाव गर्न प्रयोग नगरिने जनाइएको छ । विश्भरका अमेरिकी दूतावास र भिसा कार्यालयहरुले आवेदकबारे थप छानविन र जानकारीका क्रममा यो फर्म प्रयोग गर्ने जनाइएको छ । हरेक बर्ष झण्डै ६५ हजार भिसा आवेदकहरु अमेरिकाको लागि जोखिमपूर्ण महसुस हुने सुचनामा जनाइएको छ । यो नियम पारित भइसकेपछि विश्वभर रहेका अमेरिकी भिसा कन्सुलर अफिसरहरुले आवेदकसमक्ष फर्म डीएस ५५३५ को प्रयोग गरी सबै विवरणहरु माग्नेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com