अमेरिकामा १ हजार डलरभन्दा बढी नगद कारोबारमा सरकारको निगरानी कहाँ कसरी लागु हुन्छ?


प्रकाशित मिति : पुस १२, २०८२ आईतबार

अमेरिकामा नगद कारोबार सधैँ कडा निगरानीमा रहँदै आएकोमा अब ट्रेजरी डिपार्टमेन्टले फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्कमार्फत देशका केही उच्च जोखिमयुक्त क्षेत्रहरूमा नगद कारोबारमा थप कडाइ गर्ने भएको छ। अपराधीहरूले अवैध कामका लागि प्राय नगद नै प्रयोग गर्ने भन्दै अबदेखि जोखिमयुक्त क्षेत्रहरूमा रिपोर्टिङको सीमा घटाएर मात्र १ हजार डलर कायम गरिएको छ।

नगद कारोबारमा १ हजार डलरको यो नयाँ रिपोर्टिङ नियम फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्कले जारी गरेको जियोग्राफिक टार्गेटिङ अर्डर अन्तर्गत पर्दछ। यो नियम देशभरका सबै बैंक वा क्रेडिट युनियनहरूमा लागू हुने छैन। यदि तपाईं आपराधिक गतिविधिहरू कम भएका शान्त क्षेत्रमा बस्नुहुन्छ भने स्थानीय एटीएमबाट १ हजार डलरभन्दा बढी निकाल्दा चिन्ता लिनुपर्दैन।

वास्तवमा यो नियम विशेष गरी मनी सर्भिस बिजनेस अर्थात् चेक साट्ने ठाउँ, मुद्रा सटही केन्द्र र पैसा पठाउने वा रेमिट्यान्स कम्पनीहरूका लागि मात्र हो। यो नियम विशेष गरी अमेरिकाको दक्षिण पश्चिमी सिमाना नजिकका केही निश्चित काउन्टी र जिप कोडहरूमा मात्र सीमित छ, जहाँ लागू औषध ओसारपसार र सम्पत्ति शुद्धीकरणको जोखिम बढी छ।

यी क्षेत्रका मनी सर्भिस बिजनेसहरूले १ हजारडलरदेखि १० हजार डलरसम्मको नगद कारोबारको करेन्सी ट्रान्ज्याक्सन रिपोर्ट बुझाउनुपर्नेछ। यो नियम हालका लागि मार्च ६, २०२६ सम्म लागू रहनेछ। यो अस्थायी नियम र राष्ट्रिय बैंकिङ नियम फरक हुन्। देशभरका सबै बैंकहरूको हकमा १० हजारडलरको सीमा अझै पनि यथावत छ, जुन १९७० को बैंक सेक्रेसी एक्टअनुसार चल्छ। यदि कुनै पनि बैंकमा एकै दिनमा १० हजार डलरभन्दा बढीको नगद कारोबार अर्थात् जम्मा वा निकासीभएमा बैंकले अनिवार्य रूपमा फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्कलाई जानकारी गराउनुपर्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि बैंकलाई ५ हजार डलर वा सोभन्दा बढीको कुनै कारोबार शंकास्पद लाग्यो भने, उनीहरूले सस्पिसियस एक्टिभिटी रिपोर्ट दर्ता गर्नुपर्ने हुन्छ। यो नियमको मुख्य उद्देश्य स्ट्रक्चरिङरोक्नु हो। अपराधीहरूले १० हजार डलरको रिपोर्टिङ सीमाबाट बच्नका लागि ठूलो रकमलाई सानासाना टुक्रामा बाँडेर कारोबार गर्ने गर्छन्, जसलाई स्ट्रक्चरिङ भनिन्छ। यो एक संघीय अपराध हो।

रिपोर्टिङको सीमा १ हजार डलरमा झारेपछि, धेरै तथ्याङ्क संकलन हुनेछ र अपराधीहरूका लागि ठूलो मात्रामा अवैध पैसा ओसारपसार गर्न कठिन हुनेछ। यसबाट प्राप्त तथ्याङ्कलाई सुरक्षा निकायहरूले कर छली र अन्य वित्तीय अपराधहरूको अनुसन्धानमा प्रयोग गर्नेछन्।

यो १ हजार डलरको नियम अस्थायी हो । यो दक्षिण पश्चिमी सिमानाका केही निश्चित क्षेत्रका मनी सर्भिस बिजनेसहरूलाई मात्र लागू हुन्छ, देशभरका व्यावसायिक बैंकहरूलाई होइन। देशभरका सबै बैंकहरूका लागि एक दिनमा गरिने नगद कारोबारको सीमा १० हजार डलर नै छ। यदि तपाईं ठूलो परिमाणमा नगद लिएर बैंक जानुभयो भने केही प्रश्नहरूको जवाफ र आवश्यक कागजातहरू देखाउन तयार रहनुपर्छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com