बाल्टिमोर नजिकै ‘आइस’ अधिकारीद्वारा गोली प्रहार, दुई आप्रवासी घाइते


प्रकाशित मिति : पुस ८, २०८२ बुधबार

अमेरिकामा आप्रवासन अधिकारीहरूले गोली चलाउँदा दुई जना घाइते भएका छन्। बाल्टिमोर नजिकै भएको जाँचका क्रममा कागजातविहीन आप्रवासीमाथि गोली चलाउनुपरेको ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ (डीएचएस) ले जनाएको छ। घटनामा घाइते भएका दुवैको अवस्था सामान्य रहेको डीएचएसले बताएको छ।

घाइते हुने कागजातविहीन आप्रवासीहरूमा पोर्चुगलका नागरिक टियागो अलेक्जान्द्रे सुसा–मार्टिन्स (भ्यान चालक) र एल साल्भाडोरका नागरिक सोलोमन एन्टोनियो सेरानो–एसकिभेल (यात्रु) रहेका छन्।

अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन निकाय (आइस) का एजेन्टहरूका अनुसार भ्यान चालकले उनीहरूमाथि नै गाडी कुदाउने प्रयास गरेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको हो।

यो घटना यसै हप्ता सार्वजनिक भएको यस्तै प्रकृतिको दोस्रो घटना हो। यसअघि पनि ‘आइस’ एजेन्टहरूले अपरेशनका क्रममा कागजातविहीन व्यक्तिले आफूहरूलाई चोट पुर्‍याउने प्रयास गरेको भन्दै गोली चलाएका थिए, तर उक्त घटनामा कसैलाई गोली लागेको थिएन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पछिल्लो एक वर्षयता ‘आइस’ र सर्वसाधारणबीच भएका हिंसात्मक भिडन्तहरूको सन्दर्भमा यो घटनालाई संघीय एजेन्टहरूसँगको मुठभेडमा गाडीले ठक्कर दिने वा किच्ने (र्यामिङ) प्रवृत्ति बढ्दै गएको उदाहरणका रूपमा हेरिएको छ। देशभर आप्रवासन कार्यान्वयन कडा बन्दै जाँदा यस्ता घटनाहरू बढ्न थालेका छन्।

डीएचएसकी सहायक मन्त्री ट्रिसिया म्याकलफलिनका अनुसार, मेरिल्याण्डको ग्लेन बर्नी क्षेत्रमा “लक्षित आप्रवासन कार्यान्वयन अपरेशन” सञ्चालन गरिरहेका बेला ती दुई जनालाई रोक्ने प्रयास गरिएको थियो।

अधिकारीहरूले भ्यान नजिकै पुगेर सुसा–मार्टिन्सलाई इन्जिन बन्द गर्न भनेका थिए, तर उनले अस्वीकार गर्दै घटनास्थलबाट भाग्न खोजेको म्याकलफलिनले बताइन्। उनका अनुसार सुसा–मार्टिन्सले ‘आइस’ का सवारी साधनहरूलाई ठक्कर दिन थालेका थिए र अधिकारीहरूलाई नै किच्ने उद्देश्यले भ्यान उनीहरूतिरै सोझ्याएका थिए।

“आफ्नो ज्यान र सार्वजनिक सुरक्षामा खतरा महसुस गरेपछि अधिकारीहरूले आत्मरक्षाका लागि गोली चलाएका हुन्, जसमध्ये एक गोली चालकलाई लाग्यो,” म्याकलफलिनले भनिन्।

डीएचएसका अनुसार सुसा–मार्टिन्स सन् २००८ को डिसेम्बरमा पोर्चुगलबाट अमेरिका आएका थिए। तर सन् २००९ को फेब्रुअरीमा भिसाको म्याद सकिएपछि पनि उनले देश नछोडेको पाइएको छ। अर्का घाइते सेरानो–एसकिभेलको आप्रवासन इतिहासबारे भने थप जानकारी दिइएको छैन।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com