बोण्डाई बीच आक्रमण : महिनौँको योजना रहेको खुलासा, बाबुछोराले सँगै लिएका थिए बन्दुक चलाउने तालिम


प्रकाशित मिति : पुस ६, २०८२ सोमबार

अष्ट्रेलियाको सिड्नीस्थित बोण्डाई बीचमा १५ जनाको ज्यान जाने गरी भएको आतङ्कवादी आक्रमणका अभियुक्त नवीद अक्रमले आफ्ना बुवासँगै न्यु साउथ वेल्स राज्यमा हतियार चलाउने तालिम लिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । सोमबार सार्वजनिक गरिएका अष्ट्रेलियन प्रहरीका दस्तावेजहरूले उक्त आक्रमण लामो समयदेखि योजनाबद्ध रूपमा गरिएको पुष्टि गरेको छ ।

प्रहरीका अनुसार २४ वर्षीय नवीद अक्रम र उनका ५० वर्षीय बुवा साजिद अक्रमले आक्रमणअघि योजनालाई औचित्य ठहराउने भिडियोसमेत रेकर्ड गरेका थिए। डिसेम्बर १४ मा भएको गोलीकाण्डका क्रममा प्रहरीको कारबाहीमा नवीद अक्रम घाइते भएका थिए भने उनका बुवा साजिद अक्रम मारिएका थिए।

सरकारले नवीद अक्रमलाई सोमबार अस्पतालबाट कारागारमा सारिएको पुष्टि गरेको छ । यद्यपि कुन अस्पताल र कुन कारागार भन्ने खुलाइएको छैन।

प्रहरीको दस्तावेजअनुसार बुवा–छोराले वार्षिक यहूदी धार्मिक कार्यक्रम मनाइरहेको भीडमाथि चारवटा अस्थायी विस्फोटक उपकरण (आइईडी) प्रहार गर्दै आक्रमण सुरु गरेका थिए। ती उपकरण विस्फोट नभए पनि प्रहरीले तिनलाई “प्रयोगयोग्य” विस्फोटक भएको जनाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ती दुई जना आक्रमणअघि सिड्नीको क्याम्प्सी उपनगरमा तीन हप्ता बसोबास गरेको सीसीटीभी फुटेजबाट देखिएको छ। आक्रमणको दिन बिहान उनीहरू दुईवटा सटगन, एउटा राइफल, पाँचवटा आइईडी र घरमै बनाइएका आइएसआईएस झण्डा बोकेर निस्किएको प्रहरीले जनाएको छ।

प्रहरीले सार्वजनिक गरेको तस्बिरमा उनीहरू पैदल पुलबाट गोली चलाइरहेको देखिन्छ, जहाँबाट उनीहरूलाई उचाइको फाइदा र कङ्क्रिट पर्खालको सुरक्षा प्राप्त भएको थियो। गोली हानाहानपछि छोराको कारको डिकीमा सबैभन्दा ठूलो आइईडी फेला परेको थियो।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले उक्त आक्रमण आइएसआईएसबाट प्रेरित भएको बताएका छन्। यसैबीच, अधिकारीहरूले बुवा–छोराको फिलिपिन्स यात्रासम्बन्धी विषयमा पनि अनुसन्धान गरेका थिए।

प्रहरीले नवीद अक्रममाथि १५ वटा हत्या, ४० वटा हत्या गर्ने उद्देश्यले क्षति पुर्‍याएको र एकवटा आतङ्कवादी गतिविधिसहित जम्मा ५९ अभियोग दायर गरेको छ।

यो आक्रमण आठ दिने हनुक्का पर्वको सुरुआतमा भएको यहूदीविरोधी हमला हो, जसलाई सन् १९९६ पछि अष्ट्रेलियामा भएको सबैभन्दा घातक सामूहिक गोलीकाण्डका रूपमा लिइएको छ।

घटनापछि न्यु साउथ वेल्स सरकारले हतियारसम्बन्धी कानुन कडा बनाउने तयारी गरेको छ। प्रस्तावित कानुनअनुसार हतियार लाइसेन्स लिन अष्ट्रेलियन नागरिकता अनिवार्य हुनेछ भने व्यक्तिगत रूपमा राख्न पाउने हतियारको संख्या चारवटामा सीमित गरिनेछ।

यसैबीच, बोण्डाई बीचमा बनाइएको अस्थायी स्मारक सोमबार हटाइएको छ भने पीडितहरूको अन्त्येष्टि प्रक्रिया जारी छ। स्वास्थ्य अधिकारीहरूका अनुसार आक्रमणमा घाइते भएका १२ जना अझै अस्पतालमा उपचाररत छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com