जेफ्री एपस्टिनको फाइलबाट हटाइएको अमेरिकी राष्ट्रपति ट्रम्पको तस्वीर पुनः सार्वजनिक


प्रकाशित मिति : पुस ६, २०८२ सोमबार

अमेरिकी डिपार्टमेन्ट अफ जस्टिशले जेफ्री एपस्टिनसम्बन्धी सार्वजनिक गरिएका फाइलहरूबाट अस्थायी रूपमा हटाइएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा फोटो पुनः वेबसाइटमा राखेको छ। डिपार्टमेन्टका अनुसार समीक्षा पश्चात् उक्त तस्बिरमा एपस्टिनका कुनै पनि पीडित देखिएका छैनन् भन्ने निष्कर्षमा पुगेपछि फोटो पुनः सार्वजनिक गरिएको हो।

उक्त तस्बिरमा खुला दराजसहितको एउटा डेस्क देखिन्छ, जसमा ट्रम्प विभिन्न महिलाहरूसँग देखिएको फोटो राखिएको छ। सम्भावित पीडितहरूको गोपनीयता र सुरक्षाका लागि न्यूयोर्कको दक्षिणी जिल्लाले उक्त तस्बिर समीक्षा गर्नका लागि चिन्ह लगाएको थियो।

डिपार्टमेन्ट अफ जस्टिशले आइतबार सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत जारी गरेको विज्ञप्तिमा भनेको छ, “समीक्षापछि उक्त फोटोमा एपस्टिनका कुनै पनि पीडित समावेश भएको प्रमाण नपाइएकाले कुनै पनि परिवर्तन वा सेन्सर नगरी पुनः पोस्ट गरिएको हो।”

यसअघि आइतबार बिहान एनबीसीको एक कार्यक्रममा उपमहान्यायाधिवक्ता टोड ब्लान्चले महिलाहरूको विषयमा उठेका चिन्ताका कारण आफ्नो कार्यालयले सावधानीस्वरूप फोटो हटाएको बताएका थिए । उनले भने, “यसको राष्ट्रपति ट्रम्पसँग कुनै सम्बन्ध छैन।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डिपार्टमेन्ट अफ जस्टिशले शुक्रबार यौन अपराधी जेफ्री एपस्टिनसम्बन्धी हजारौँ कागजात सार्वजनिक गरेको थियो। तर, ती कागजातमा व्यापक रूपमा सेन्सर गरिएको र एपस्टिनसँगको चर्चित मित्रताका बाबजुद ट्रम्पको नाम उल्लेख गर्ने सामग्री निकै कम भएको भन्दै आलोचना सुरु भएको छ। यसमा केही रिपब्लिकन नेताहरूको समेत असन्तुष्टि देखिएको छ।

आइतबार एबीसी न्युजसँगको अन्तर्वार्तामा डेमोक्र्याटिक हाउस माइनोरिटी लिडर हकीम जेफ्रीजले कानुनले माग गरेअनुसार कागजात सार्वजनिक नभएको आरोप लगाउँदै पूर्ण र विस्तृत छानबिनको माग गरेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com