बोण्डाई बीच गोलीकाण्ड : जीवित संदिग्धमाथि हत्या, आतंकवादसहित ५९ अभियोगमा मुद्दा दर्ता


प्रकाशित मिति : पुस १, २०८२ बुधबार

अष्ट्रेलियाको सिड्नीस्थित बोण्डाई बीचमा भएको गोलीकाण्डका एक मात्र जीवित संदिग्धमाथि हत्या, आतंकवाद तथा हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा मुद्दा दर्ता गरिएको छ। गत आइतबार समुद्रकिनारमा आयोजित यहूदी पर्व हानुक्का उत्सवका क्रममा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको ज्यान गएको थियो।

न्यु साउथ वेल्स प्रहरीका अनुसार बाबु–छोरा रहेका दुई बन्दुकधारीलाई प्रहरीले नियन्त्रणमा लिन गोली प्रहार गरेको थियो । जसमा एक जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्का २४ वर्षीय युवक अस्पतालमा उपचाररत छन्।

प्रहरीका अनुसार जीवित संदिग्ध हाल प्रहरीको निगरानीमा अस्पतालमै छन्। अदालतको चार्जसिटअनुसार उनीमाथि आतंकवादी संगठनको प्रतीक प्रदर्शन, विस्फोटक राख्ने प्रयाससहित कुल ५९ अभियोग लगाइएको छ। घटनास्थलमा प्रयोग गरिएको सवारीसाधनबाट इस्लामिक स्टेटका झन्डा र घरेलु रूपमा बनाइएका विस्फोटक उपकरण फेला परेको प्रहरीले जनाएको छ।

अधिकारीहरूका अनुसार आक्रमणकारीहरू इस्लामिक स्टेटबाट प्रेरित यहूदीविरोधी घृणाबाट प्रेरित देखिएका छन्। अर्का संदिग्धलाई ५० वर्षीय साजिद अकरामका रूपमा पहिचान गरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घटनापछि अष्ट्रेलियाली अधिकारीहरूले ती दुई जनाले हालै दक्षिणी फिलिपिन्सको यात्रा गरेको विषयमा अनुसन्धान गरिरहेको बताएका छन्। तर, फिलिपिन्सको राष्ट्रिय सुरक्षा परिषद्ले उनीहरूले त्यहाँ कुनै किसिमको तालिम लिएको पुष्टि नभएको जनाएको छ।

यसैबीच, पछिल्ला तीन दशककै सबैभन्दा घातक सामूहिक हत्याकाण्डका पीडितहरूको अन्त्येष्टि सुरु भएको छ। बोण्डाईको यहूदी समुदायमा शोकको लहर छ। घटनामा दर्जनौँ व्यक्ति घाइते भएका छन् भने २० जना अझै अस्पतालमा उपचाररत छन्। घटनास्थलमा पुगेका दुई प्रहरी अधिकारी पनि घाइते भएका छन्।

घटनापछि प्रधानमन्त्री एन्थोनी अल्बानीजी नेतृत्वको सरकारमाथि यहूदीविरोधी गतिविधि बढ्दै गएको चेतावनीलाई बेवास्ता गरेको आरोपसमेत लागेको छ। सरकारले भने घृणात्मक भाषणविरुद्ध कडा कानुन र सुरक्षाका उपायहरू थप कडा बनाउने प्रतिबद्धता जनाएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com