आफूलाई अन्यायपूर्ण रूपमा निकालिएको अधिकारकर्मी नर्बदा क्षेत्रीको दाबी, के भन्छ ‘अधिकार’?


प्रकाशित मिति : मंसिर ६, २०८२ शनिबार

अधिकारमा कार्यरत रहँदा नर्बदा क्षेत्री । तस्वीरः सामाजिक सञ्जालमार्फत नर्बदा क्षेत्रीद्वारा उपलब्ध

अमेरिकामा नेपाली भाषी समुदायको सामाजिक न्याय र मानव अधिकार प्रवर्द्धनका क्षेत्रमा काम गर्दै आएको न्युयोर्कको क्वीन्समा रहेको गैरनाफामूलक संस्था ‘अधिकार’मा झन्डै १८ वर्ष काम गरेकी अधिकारकर्मी नर्बदा क्षेत्रीले आफूलाई हालै उक्त संस्थाबाट अन्यायपूर्ण रूपमा निकालिएको दाबी गरेकी छिन् । सन् २००७ देखि संस्थामा काम गर्दै आएकी क्षेत्रीलाई हालै अधिकारले सह-कार्यकारी निर्देशक पदबाट हटाएको थियो । क्षेत्रीसँगै अधिकारले सोही पदमा कार्यरत सिन्थिया सक्सेनालाई पनि हटाएको थियो ।

क्षेत्रीले आफूलाई अपमानजनक तरिकाले निष्कासन गरिएको खसोखासलाई बताइन् । क्षेत्रीले भनिन्, “अगस्ट १४ को दिन म घरमै बसेर काम गरिरहेको थिएँ, एक्कासि बोर्डले आजबाट काम नगर्नु भन्यो । यदि उनीहरूलाई मलाई राख्नै मन थिएन भने पनि यतिका वर्ष मैले गरेको योगदानबारे सोच्नु पर्थ्यो ।”

आफूले यसबारे बोर्डसमक्ष कुरा राखेको तर बोर्डमा रिपोर्ट गरेको तीन महिना हुँदा पनि केही निष्कर्ष आउन नसकेको क्षेत्रीले बताइन् । यो विवाद मिलाउन दुवै पक्षका कानुन व्यवसायीबीच कुराकानी भइरहेको उनले जानकारी दिइन् । उनीहरूले आफूलाई अन्यायपूर्ण रूपमा निष्कासन गरिएकोमा क्षमा माग्नुपर्ने र क्षतिपूर्ति दिनुपर्ने समेत माग गरेकी छिन् ।

संस्थाले आफूलाई कुनै सूचना नै नदिई एक्कासि निष्कासन गर्ने कार्य गरेको भन्दै उनले दुःख व्यक्त गरिन् । संस्था आर्थिक रूपमा कमजोर हुँदै जान थालेपछि आफूले प्रशासनिक खर्च घटाउन आग्रह गरेको र उनीहरुले केही कामदारको समय घटाउनुपर्ने र केहीलाई कामबाट निकाल्नुपर्ने बताएपछि विवाद सुरु भएको क्षेत्रीको दाबी छ । आफूले भने कसैलाई पनि कामबाट ननिकाली खर्च घटाउन सबैको समय घटाउन आग्रह गरेको उनले बताइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफूले संस्थालाई समुदायमा आधारित रहेर चलाउन खोज्दा विवाद भएको दाबी गर्दै उनले नयाँ आएका व्यक्तिहरूले संस्थालाई कर्पोरेट रूपमा चलाउन खोजेको आरोप लगाइन् । “नेपाली समुदायको आधारमा काम गर्ने संस्था हो, नेपालीको हित पहिलो प्राथमिकता हो । त्यसका आधारमा चलाउनुपर्छ भन्दा समस्या आएको हो,” क्षेत्रीले भनिन् ।

के भन्छ ‘अधिकार’?

यसबारे खसोखासले अधिकारलाई पनि सम्पर्क गरेर बर्खास्तिका लागि बोर्डद्वारा स्वीकृत आधिकारिक र प्रमाणित कारणबारे सोधेको थियो । साथै क्षेत्रीले बर्खास्तलाई प्रतिशोध र भेदभावको परिणाम भनी सार्वजनिक रूपमा लगाएका आरोपहरूबारे पनि आधिकारिक प्रतिक्रिया मागेको थियो । साथै १८ वर्षसम्म संस्थामा सेवा गरेकी सह-कार्यकारी निर्देशकलाई बर्खास्त गर्ने निर्णयमा पुग्नका लागि अपनाइएको पारदर्शी, निष्पक्ष, र दस्तावेजीकृत प्रक्रियाबारे पनि खसोखासले सोधेको थियो ।

तर अधिकारले यसबारे सार्वजनिक टिप्पणी गर्न चाहेन । अधिकार बोर्डका तर्फबाट आस्था शर्मा पोखरेलले प्रतिक्रिया दिइन्: “नियम अनुसार हामी सार्वजनिक रूपमा कर्मचारी मामिलाहरूको बारेमा छलफल गर्दैनौँ र गर्न सक्दैनौँ । हामीहरू हामीले चालेका कदमहरूमा अडिग छौँ । समुदायमा गरेका कामहरूको लागि हामीलाई गर्व छ, र हामी क्षेत्रीलाई उहाँको भविष्यका प्रयासहरूका लागि शुभकामना दिन चाहन्छौँ । यो महत्त्वपूर्ण क्षणमा हाम्रो जिम्मेवारी भनेको हाम्रो काममा केन्द्रित रहनु हो । अधिकार आफ्नो उद्देश्यमा अटल रहन्छ । आप्रवासी र श्रमजीवी वर्गका समुदायहरूले बढ्दो दमन, डर र अस्थिरताको सामना गरिरहेका समयमा हामी ती समुदायहरूको लागि हरेक दिन उपस्थित भइरहनेछौँ जो हामीमा निर्भर छन् ।”

अगस्ट २१ मा निकालेको वक्तव्यमा अधिकारले सह-कार्यकारी निर्देशकहरू नर्बदा क्षेत्री र सिन्थिया सक्सेनालाई बिदाइ गरेकोबारे सार्वजनिक रूपमा जानकारी दिएको थियो । वक्तव्यमा भनिएको थियो: “हामी विशेष गरी नर्बदा क्षेत्रीलाई उहाँको सेवा र अधिकारप्रति समर्पणका लागि सम्मान गर्दछौँ । हाम्रो समुदायका धेरै सदस्यहरूका लागि दोस्रो घरको रूपमा सेवा गर्ने एक श्रमिक केन्द्र भएकोले अधिकारले विगत अठार वर्षमा नेपाली भाषी समुदायको आधार निर्माण गर्न नर्बदाको प्रयासलाई नै आफ्ना धेरै सङ्गठन र वकालतका विजयहरूका लागि श्रेय दिन्छ ।”

नर्बदा न्यूयोर्क र राष्ट्रिय स्तरमा नेपाली भाषी समुदायबीच श्रमिक अधिकार, अध्यागमन, स्वास्थ्य न्याय, र भाषा न्यायका लागि महत्त्वपूर्ण अभियानहरूमा एक महत्त्वपूर्ण व्यक्तित्व रहेको पनि अधिकारले वक्तव्यमा उल्लेख गरेको थियो । वक्तव्यमा भनिएको थियो: “नर्बदाको घनिष्ट कौशल र क्षेत्रको ज्ञानले सयौँ सदस्यहरूलाई राम्रो जागिर सुनिश्चित गर्न र अमेरिकामा सम्मान र इज्जतका साथ जीवनयापन गर्न मद्दत गर्‍यो । उहाँले सन् २०१० र २०१५ मा न्यूयोर्क राज्य घरेलु श्रमिक अधिकार विधेयकका लागि सफल अभियानमा अधिकारको नेतृत्व गर्नुभयो, र न्यूयोर्क राज्य नेल सलोन श्रमिक अधिकार विधेयकको नेतृत्व पनि गर्नुभयो । उहाँको नजिकको मार्गदर्शनमा मानव तस्करीका नौ जना पीडितहरूले जित हासिल गरे भने लाखौँ डलर ज्याला फिर्ता पाए । यसका अतिरिक्त नर्बदाले सन् २०१४ देखि २०१९ सम्म राष्ट्रिय घरेलु श्रमिक गठबन्धनको निर्देशक बोर्डमा अधिकारको प्रतिनिधित्व गर्नुभयो ।”

सह-कार्यकारी निर्देशकहरूले कार्यक्रमहरू र प्रणालीहरू निर्माण गर्न मद्दत गरेको र हाम्रो समुदायका लागि निरन्तर खम्बा भन्दै वक्तव्यमा प्रशंसा गरिएको थियो । त्यस्तै, २१ अगस्टमा अधिकारबाट खसोखासलाई प्राप्त इमेलमा एक वर्षसम्म दुई जना सह-कार्यकारी निर्देशकको नेतृत्व मोडलमा काम गरेपछि अधिकार पुनः एकजना मात्र कार्यकारी निर्देशकको नेतृत्वमा फर्कने निर्णयमा पुगेको उल्लेख गरिएको थियो । अधिकारले अहिले सामना गरिरहेका समयको जटिल परिस्थितिहरूलाई मध्यनजर गर्दै यो परिवर्तन गरिएको उल्लेख गरिएको थियो ।

उक्त इमेलमा नर्बदा क्षेत्री र सिन्थिया सक्सेना सह-कार्यकारी निर्देशकको पदबाट हट्दै गरेको र अगस्टको अन्त्यमा संस्थाबाट बिदा लिने उल्लेख गरिएको थियो । साथै अगाडि भनिएको थियो: “गत वर्ष उहाँहरूले दिनुभएको नेतृत्वको लागि हामी उहाँहरू दुवैलाई हृदयदेखि धन्यवाद दिन्छौँ । उहाँहरूको आगामी यात्राको लागि सफलताको शुभकामना दिन्छौँ । यस अवसरमा हामी विशेष गरी नर्बदा दिदीको सेवा र अधिकारप्रतिको समर्पणको कदर गर्न चाहन्छौँ । अधिकार एउटा श्रमिक केन्द्र हो जुन हाम्रो समुदायका धेरै सदस्यहरूका लागि दोस्रो घर जस्तै छ, र नर्बदा दिदी हाम्रो संस्थाको १८ वर्षदेखि एउटा महत्त्वपूर्ण हिस्सा रहनुभएको छ ।”

उक्त इमेलमा अगाडि भनिएको थियो: “हामीलाई थाहा छ कि यो परिवर्तन केही कठिन हुन सक्छ, तर सह-कार्यकारी निर्देशकहरूले यस्तो बलियो संस्था निर्माण गर्न मद्दत गर्नुभएको छ जसले आउँदो वर्षहरूमा पनि हाम्रो समुदायको लागि एउटा भरपर्दो खम्बा बनिरहनेछ भन्ने हामी आशा गर्दछौँ । अधिकारका सदस्यहरूको दूरदर्शिता र नेतृत्वले हामीले गर्ने सबै कामलाई निरन्तर मार्गदर्शन दिइरहनेछ । हामी तपाईंहरूसँग हाम्रो निरन्तर सहकार्यको लागि तत्पर छौँ ।”

न्यूयोर्क शहरमा जागिरबाट निकाल्ने कानुन के हो?

सामान्यतया न्यूयोर्क शहरमा नाफामूलक वा गैरनाफामूलक कुनै पनि कम्पनीले आफ्ना कर्मचारीलाई अचानक र कुनै पनि समयमा निकाल्न सक्छ । न्यूयोर्कमा रोजगारीको मूल सिद्धान्त स्वेच्छाचारी (एट वील) रोजगारी हो । न्यूयोर्क स्वेच्छाचारी (एट वील) रोजगारी भएको राज्य हुनुको अर्थ एक रोजगारदाताले कुनै पनि कर्मचारीलाई कुनै पनि कारणले, वा कारण बिना नै, र सामान्यतया कुनै सूचना बिना नै कुनै पनि समयमा निकाल्न सक्छ ।

साथै कर्मचारीले पनि कुनै पनि समयमा कुनै पनि कारणले सूचना बिना नै जागिर छोड्न सक्छ । रोजगारदाताले मन नपराएमा वा एकपटक ढिलो भएमा जस्ता अनुचित, खराब वा अव्यवहारिक कारणले समेत निकालेको खण्डमा पनि त्यो सामान्यतया गैरकानुनी हुँदैन । तर त्यसका केही अपवादहरू भने छन् जसले अचानक कामबाट निकाल्नुलाई गैरकानुनी बनाउँछ ।

यदि अचानक जागिरबाट निकाल्ने निर्णय भेदभाव अन्तर्गत पर्छ भने यो गैरकानुनी गलत बर्खास्ती मानिन्छ । न्यूयोर्क राज्य र न्यूयोर्क शहरको मानव अधिकार कानुन अनुसार, रोजगारदाताले तपाईंको संरक्षित विशेषताहरूको आधारमा तपाईंलाई निकाल्न सक्दैनन् । यसमा वंश, रङ्ग, राष्ट्रिय मूल, वा जातीयता, लिङ्ग, यौन, यौन झुकाव, लैङ्गिक पहिचान, वा गर्भावस्था, ४० वर्ष वा सोभन्दा माथि भएको अवस्थामा उमेर, धर्म, शारीरिक वा मानसिक अपाङ्गता, वैवाहिक स्थिति, मातृत्व बिदा, सैन्य स्थिति लगायतका आधारमा कामबाट निकालिएमा त्यो भेदभावपूर्ण र गैरकानुनी मानिन्छ ।

कानुनी रूपमा संरक्षित गतिविधिमा संलग्न भएको कारणले रोजगारदाताले प्रतिशोधका आधारमा निकाल्न मिल्दैन । गैरकानुनी भेदभाव वा उत्पीडनको रिपोर्ट वा गुनासो गरेको आधारमा, ओभरटाइम नदिएको जस्ता पारिश्रमिक र घण्टाको उल्लङ्घनबारे गुनासो दर्ता गरेको आधारमा, संरक्षित चिकित्सा वा पारिवारिक बिदा लिएको अवस्थामा, श्रमिक क्षतिपूर्ति दाबी दर्ता गरेको अवस्थामा, साथै रोजगारदाताद्वारा गरिएको गैरकानुनी वा जालसाजीपूर्ण गतिविधिहरूको रिपोर्ट गरेमा प्रतिशोधका आधारमा कामबाट निकाल्न नमिल्ने प्रावधान छ ।

त्यस्तै कामका लागि निश्चित अवधिसम्मको सम्झौता छ भने पनि निकाल्न मिल्दैन । यदि तपाईंको रोजगार सम्झौताले एट वील सम्बन्धलाई परिवर्तन गर्छ भने रोजगारदाताले त्यो पालना गर्नुपर्छ । कुनै निश्चित अवधिको रोजगारी तोक्ने वा तपाईंलाई उचित कारणको लागि मात्र निकाल्न सकिने उल्लेख भएको सम्झौता भएमा रोजगारदाताले सहजै निकाल्न सक्दैन ।

नागरिक कर्तव्य पूरा गरेको वा कानुन तोड्न अस्वीकार गरेको कारणले पनि रोजगारदाताले तपाईंलाई निकाल्न सक्दैन । अर्थात् जूरी ड्यूटीमा गएको अवस्थामा, चुनावमा मतदान गर्न गएको अवस्थामा वा रोजगारदाताको अनुरोधमा गैरकानुनी कार्य गर्न अस्वीकार गरेमा पनि कामबाट निकाल्न मिल्दैन ।

रोजगारदाताले पूर्वसूचना बिना नै अचानक कसैलाई निकाल्दा केही प्रशासनिक आवश्यकताहरू भने पूरा गर्नुपर्छ । न्यूयोर्क श्रम कानून अनुसार, रोजगारदाताले सेवा समाप्तिको पाँच कार्य दिन भित्र कर्मचारीलाई सेवा समाप्तिको प्रभावकारी मिति र सुविधा समाप्त हुने ठ्याक्कै मिति उल्लेख गरिएको लिखित सूचना प्रदान गर्नुपर्छ।

अन्तिम भुक्तानी पनि कर्मचारीको अर्को नियमित भुक्तानी दिनभन्दा ढिलो नगरी भुक्तानी गरिसक्नुपर्छ। कम्पनीसँग स्पष्ट रूपमा सेवा समाप्तिमा बिदा भुक्तानी जफत हुने उल्लेख भएको अवस्थामा बाहेक आर्जन गरिएको, प्रयोग नगरिएको कुनै पनि सशुल्क बिदा सेवा समाप्तिमा भुक्तानी गरिनुपर्छ, जबसम्म कम्पनीसँग लिखित नीति छैन जसले स्पष्ट रूपमा सेवा समाप्तिमा बिदा भुक्तानी जफत हुने उल्लेख गर्दछ।

यदि तपाईंलाई अचानक जागिरबाट निकालिएको छ र यो कुनै गैरकानुनी कारणले भएको हो भन्ने लाग्छ भने रोजगार कानुनका वकिलसँग तत्काल परामर्श लिनु महत्त्वपूर्ण हुन्छ । दाबीहरू दर्ता गर्न प्रायः छोटो समय सीमा हुन्छन् ।

भेदभावसम्बन्धी दाबीहरू सम्हाल्ने निकाय न्यूयोर्क शहर मानव अधिकार आयोग हो । जागिरबाट निकाल्नु भेदभाव वा प्रतिशोधमा आधारित छ भन्ने लाग्छ भने आफ्नो केसको बारेमा छलफल गर्न तत्काल ३११ मा सम्पर्क गर्नुपर्छ । उनीहरूले तपाईंको अवस्था न्यूयोर्क सिटीको मानव अधिकार कानुन अन्तर्गत पर्छ कि पर्दैन भनेर निर्धारण गर्न मद्दत गर्नेछन् र आवश्यक भएमा थप प्रक्रियाका लागि भेटघाट तय गर्नेछन् । आयोगको आधिकारिक वेबसाइटमा गएर अनलाइन फारम मार्फत पनि भेदभावको रिपोर्ट गर्न सक्नुहुन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com