अमेरिकाको लुइसियाना र मिसिसिपीमा ठुलो मात्रामा आप्रवासी नियन्त्रण अभियान सुरु गर्ने तयारी


प्रकाशित मिति : मंसिर ३, २०८२ बुधबार

अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)ले डिसेम्बरको सुरुतिर लुइसियाना र मिसिसिपी राज्यमा ठुलो मात्रामा आप्रवासी नियन्त्रण अभियान सुरु गर्ने तयारी गरेको छ। “स्व्याम्प स्वीप” नाम दिइएको यस अभियानअन्तर्गत करिब २५० जना फेडेरल बर्डर एजेन्टहरू दुवै राज्यमा पठाइनेछन् । जसअन्तर्गत करिब ५,००० जनालाई पक्राउ गर्ने लक्ष्य राखिएको एसोसिएटेड प्रेसले कागजात तथा स्रोतहरू उद्धृत गर्दै जनाएको छ।

उक्त अभियानमा संलग्न एजेन्टहरू शुक्रबारदेखि न्यू ओर्लिन्समा भेला भई उपकरण तथा सवारी साधनहरूको तयारी गर्नेछन्। त्यसपछि उनीहरू न्यू ओर्लिन्सदेखि जेफरसन, सेंट बर्नार्ड, सेंट टम्मानी परिसरसम्मका बस्ती र व्यापारिक क्षेत्रहरूमा फैलिनेछन्। कारबाही उत्तरतर्फ ब्याटन रूजसम्म पुग्ने बताइएको छ।

डीएचएसले अभियानबारे कुनै प्रतिक्रिया दिन अस्वीकार गरे पनि होमल्याण्ड सेक्युरिटीकी प्रवक्ता ट्रिशिया म्याकलफलिनले “डीएचएसले हरेक दिन देशभरि कानुन कार्यान्वयन गरिरहेको” बताइन्। त्यस्तै, लुइसियाना र मिसिसिपीका गभर्नरका कार्यालयहरूले प्रतिक्रिया दिएका छैनन् । 

न्यू ओर्लिन्स प्रहरीले भने आफ्नो सुपरिन्टेन्डेन्ट एन्ड कर्कपाट्रिकले यसै हप्ताभित्र अमेरिकी बर्डर पेट्रोलका प्रतिनिधिसँग बैठक गर्ने जनाएको छ । 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लुइसियाना–मिसिसिपीमा हुने यो विस्तार ट्रम्प प्रशासनको आक्रामक आप्रवासन कारबाहीको निरन्तरता भएको विश्लेषण गरिँदै छ। 

राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै लस एन्जलस, शिकागो तथा हालै चार्लोटमा सङ्घीय आप्रवासी अधिकारीहरू तैनाथ गरिसकेका छन्। उनका बर्डर पेट्रोल प्रमुख टम होमनले न्यूयोर्क सिटीमा पनि कारबाही विस्तार गर्ने तयारी भइरहेको फक्स न्यूजसँग बताएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com