अमेरिकालाई बेलायतले तस्करीका सूचना दिन रोक्यो, दुई देशको सम्बन्धमा कस्तो असर पर्ला ?


प्रकाशित मिति : कार्तिक २५, २०८२ मंगलबार

बेलायतले अमेरिकालाई मादक पदार्थ तस्करीबारेका सूचना उपलब्ध गराउन रोकेको छ ।  बेलायतले अमेरिकी सैन्य कारबाहीलाई अवैध मानेपछि क्यारेबियनमा मादक पदार्थ तस्करीबारे सूचना साझेदारी गर्न रोकेको हो । 

अमेरिकासँग नजिकको सुरक्षा साझेदार बेलायतले अब क्यारेबियन क्षेत्रमा मादक पदार्थ तस्करीमा संलग्न डुंगाबारेको गोप्य जानकारी साझा नगर्ने भएको हो । 

बेलायती अधिकारीहरूले अमेरिकी सैन्य आक्रमणलाई अवैध ठानेका छन् । अमेरिकाले सञ्चालन गरेका ती कारबाहीमा संलग्न हुन नचाहेका कारण यस्तो निर्णय गरिएको बेलायती अधिकारीले बताएका हुन । 

दुई देशबीचको लामो समयदेखिको घनिष्ठ सुरक्षा सहयोगमा यो कदमले ठूलो दरार उत्पन्न गराएको देखिन्छ ।  अमेरिकाले गत सेप्टेम्बरदेखि क्यारेबियन सागरमा मादक पदार्थ बोक्ने आशंका गरिएका डुंगाहरूमा हवाई आक्रमण गर्दै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ती हमलाहरूमा अहिलेसम्म ७६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकाले बेलायतबाट प्राप्त सूचना प्रयोग गरी लक्ष्य निर्धारण गर्न सक्ने आशंकाले बेलायतले एक महिनादेखि सूचना साझेदारी रोकेको बताएको छ । 

संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख फोल्कर टर्कले गत महिना मै ती हमलाहरू “अन्तर्राष्ट्रिय कानुनविपरीत र गैरन्यायिक हत्या” भएको बताएका थिए । 

ट्रम्प प्रशासनले मादक पदार्थ तस्करहरू “अमेरिकाविरुद्धको सशस्त्र द्वन्द्वका शत्रु लडाकु” हुन् भन्दै तिनीहरूलाई मार्न मिल्ने दाबी गरेको छ । 

तर कानुनी विज्ञहरूले सो व्याख्यालाई अस्वीकार गर्दै यस्तो आक्रमण “नागरिकहरूमाथि अवैध घात” भएको बताएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com