अमेरिकालाई बेलायतले तस्करीका सूचना दिन रोक्यो, दुई देशको सम्बन्धमा कस्तो असर पर्ला ?
प्रकाशित मिति : कार्तिक २५, २०८२ मंगलबार
बेलायतले अमेरिकालाई मादक पदार्थ तस्करीबारेका सूचना उपलब्ध गराउन रोकेको छ । बेलायतले अमेरिकी सैन्य कारबाहीलाई अवैध मानेपछि क्यारेबियनमा मादक पदार्थ तस्करीबारे सूचना साझेदारी गर्न रोकेको हो ।
अमेरिकासँग नजिकको सुरक्षा साझेदार बेलायतले अब क्यारेबियन क्षेत्रमा मादक पदार्थ तस्करीमा संलग्न डुंगाबारेको गोप्य जानकारी साझा नगर्ने भएको हो ।
बेलायती अधिकारीहरूले अमेरिकी सैन्य आक्रमणलाई अवैध ठानेका छन् । अमेरिकाले सञ्चालन गरेका ती कारबाहीमा संलग्न हुन नचाहेका कारण यस्तो निर्णय गरिएको बेलायती अधिकारीले बताएका हुन ।
दुई देशबीचको लामो समयदेखिको घनिष्ठ सुरक्षा सहयोगमा यो कदमले ठूलो दरार उत्पन्न गराएको देखिन्छ । अमेरिकाले गत सेप्टेम्बरदेखि क्यारेबियन सागरमा मादक पदार्थ बोक्ने आशंका गरिएका डुंगाहरूमा हवाई आक्रमण गर्दै आएको छ ।
ती हमलाहरूमा अहिलेसम्म ७६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकाले बेलायतबाट प्राप्त सूचना प्रयोग गरी लक्ष्य निर्धारण गर्न सक्ने आशंकाले बेलायतले एक महिनादेखि सूचना साझेदारी रोकेको बताएको छ ।
संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख फोल्कर टर्कले गत महिना मै ती हमलाहरू “अन्तर्राष्ट्रिय कानुनविपरीत र गैरन्यायिक हत्या” भएको बताएका थिए ।
ट्रम्प प्रशासनले मादक पदार्थ तस्करहरू “अमेरिकाविरुद्धको सशस्त्र द्वन्द्वका शत्रु लडाकु” हुन् भन्दै तिनीहरूलाई मार्न मिल्ने दाबी गरेको छ ।
तर कानुनी विज्ञहरूले सो व्याख्यालाई अस्वीकार गर्दै यस्तो आक्रमण “नागरिकहरूमाथि अवैध घात” भएको बताएका छन्।








