अमेरिकी सेनाद्वारा क्यारेबियन सागरमा आक्रमण: ३ जनाको मृत्यु


प्रकाशित मिति : कार्तिक २०, २०८२ बिहीबार

अमेरिकी सेनाले क्यारिबियन सागरमा गरेको आक्रमणमा तीन जनाको मृत्यु भएको छ । युद्धमन्त्री पिट हेगसेथका अनुसार, अमेरिकी सेनाले क्यारिबियन क्षेत्रमा रहेको डुंगामाथि आक्रमण गर्दा तीन जनाको मृत्यु भएको हो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा रक्षा मन्त्रालयले आतङ्ककारी सङ्गठनले सञ्चालन गरेको डुङ्गामाथि घातक आक्रमण गरेको बताएको छ ।

हेगसेथले उक्त डुङ्गा क्यारिबियन सागरमा लागूपदार्थ ओसारपसारमा संलग्न रहेको बताएका छन्। अन्तर्राष्ट्रिय पानीभित्रै लक्षित गरी डुङ्गा नष्ट गरिएको उनको दाबी छ । हेगसेथका अनुसार, उक्त कारबाहीमा अमेरिकी सेनातर्फ कुनै क्षति भएको छैन ।

अमेरिकाले हालसम्म लागूपदार्थ तस्करी रोक्ने अभियानअन्तर्गत १७ वटा हवाई तथा समुद्री आक्रमण गरी १८ वटा डुङ्गा नष्ट गरिसकेको छ । ती आक्रमणहरूमा ७० जनाको मृत्यु भएको बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तीमध्ये तीन जना मात्र बाँचेका थिए । बाँचेकामध्ये दुई जनालाई अमेरिकी नौसेनाले छोटो समयका लागि नियन्त्रणमा लिएर आफ्नै देश पठाएको थियो । अर्का एक व्यक्ति हराएको बताइएको छ ।

ट्रम्प प्रशासनले कङ्ग्रेसलाई जानकारी दिँदै अमेरिकाले अब “लागूपदार्थ तस्करहरूसँग सशस्त्र सङ्घर्ष” सुरु गरेको दाबी गरेको छ । प्रशासनले मारिएकाहरूलाई “अवैध लडाकु” भनेर परिभाषित गरेको छ ।

न्याय मन्त्रालयको गोप्य कानुनी व्याख्याका आधारमा अदालतको अनुमतिबिना प्राणघातक आक्रमण गर्न सक्ने अधिकार रहेको पनि उसले बताएको छ ।

तर केही सांसद र मानवअधिकार समूहहरूले उक्त कानुनी व्याख्यामा प्रश्न उठाएका छन् । उनीहरूले सम्भावित लागूपदार्थ तस्करहरूलाई कानुनी प्रक्रियामार्फत कारबाही गरिनु पर्ने र अघिल्लो प्रशासनहरूले अपनाएको रोकथाम नीति नै उपयुक्त हुने तर्क गरेका छन् ।

ट्रम्प प्रशासनले भने आक्रमणमा संलग्न डुङ्गाहरूमा लागूपदार्थ भेटिएको वा ती समूहहरू कुनै माफियासँग सम्बद्ध भएको प्रमाण भने अहिलेसम्म सार्वजनिक गरेको छैन । अमेरिकी सैनिक अधिकारीहरूले हालसम्म भएका आक्रमणहरूमा कुनै पनि अमेरिकी सैनिक घाइते नभएको पुष्टि गरेका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com