अमेरिकी सेनाद्वारा क्यारेबियन सागरमा आक्रमण: ३ जनाको मृत्यु


प्रकाशित मिति : २० कार्तिक २०८२, बिहिबार

अमेरिकी सेनाले क्यारिबियन सागरमा गरेको आक्रमणमा तीन जनाको मृत्यु भएको छ । युद्धमन्त्री पिट हेगसेथका अनुसार, अमेरिकी सेनाले क्यारिबियन क्षेत्रमा रहेको डुंगामाथि आक्रमण गर्दा तीन जनाको मृत्यु भएको हो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा रक्षा मन्त्रालयले आतङ्ककारी सङ्गठनले सञ्चालन गरेको डुङ्गामाथि घातक आक्रमण गरेको बताएको छ ।

हेगसेथले उक्त डुङ्गा क्यारिबियन सागरमा लागूपदार्थ ओसारपसारमा संलग्न रहेको बताएका छन्। अन्तर्राष्ट्रिय पानीभित्रै लक्षित गरी डुङ्गा नष्ट गरिएको उनको दाबी छ । हेगसेथका अनुसार, उक्त कारबाहीमा अमेरिकी सेनातर्फ कुनै क्षति भएको छैन ।

अमेरिकाले हालसम्म लागूपदार्थ तस्करी रोक्ने अभियानअन्तर्गत १७ वटा हवाई तथा समुद्री आक्रमण गरी १८ वटा डुङ्गा नष्ट गरिसकेको छ । ती आक्रमणहरूमा ७० जनाको मृत्यु भएको बताइएको छ ।

तीमध्ये तीन जना मात्र बाँचेका थिए । बाँचेकामध्ये दुई जनालाई अमेरिकी नौसेनाले छोटो समयका लागि नियन्त्रणमा लिएर आफ्नै देश पठाएको थियो । अर्का एक व्यक्ति हराएको बताइएको छ ।

ट्रम्प प्रशासनले कङ्ग्रेसलाई जानकारी दिँदै अमेरिकाले अब “लागूपदार्थ तस्करहरूसँग सशस्त्र सङ्घर्ष” सुरु गरेको दाबी गरेको छ । प्रशासनले मारिएकाहरूलाई “अवैध लडाकु” भनेर परिभाषित गरेको छ ।

न्याय मन्त्रालयको गोप्य कानुनी व्याख्याका आधारमा अदालतको अनुमतिबिना प्राणघातक आक्रमण गर्न सक्ने अधिकार रहेको पनि उसले बताएको छ ।

तर केही सांसद र मानवअधिकार समूहहरूले उक्त कानुनी व्याख्यामा प्रश्न उठाएका छन् । उनीहरूले सम्भावित लागूपदार्थ तस्करहरूलाई कानुनी प्रक्रियामार्फत कारबाही गरिनु पर्ने र अघिल्लो प्रशासनहरूले अपनाएको रोकथाम नीति नै उपयुक्त हुने तर्क गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्प प्रशासनले भने आक्रमणमा संलग्न डुङ्गाहरूमा लागूपदार्थ भेटिएको वा ती समूहहरू कुनै माफियासँग सम्बद्ध भएको प्रमाण भने अहिलेसम्म सार्वजनिक गरेको छैन । अमेरिकी सैनिक अधिकारीहरूले हालसम्म भएका आक्रमणहरूमा कुनै पनि अमेरिकी सैनिक घाइते नभएको पुष्टि गरेका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com